सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै गन्तव्य बनाउँछौं

भरत काेइराला
पौष २२, २०७७
interview with chandra dhakal (1)

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालसँग अन्तर्वार्ता लिँदै आदर्श समाजका सम्पादक भरत काेइराला

नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन हालै सम्पन्न भएको छ । चेम्बर आन्दोलनमा क्रियाशील चन्द्र ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघको विधानले व्यवस्था गरेको छ । आइएमई ग्रुपसहित ८ भन्दा बढी सेक्टरका व्यवसायमा सफल रुपमा लगानी गरिरहेका ढकालले समग्र मुलुक र गण्डकी प्रदेशको आर्थिक विकासका लागि अलग्गै योजना बनाइरहेका छन् । हालै पोखरामा सम्पन्न आइएमई नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन आएका ढकालसँग आदर्श समाज दैनिकका लागि सम्पादक भरत कोइरालाले सराङकोटमा लिएको अन्तर्वार्ता :

पोखराको मौसम कस्तो लागिरहेको छ ?
अहिले त गज्जब लागिरहेको छ, रमणीय छ । पूरै हिमाल देखिरहेको छ । चिसो–चिसो चाहिँ छ । कोभिड नभइदिएको भए यतिबेला धेरै विदेशीहरू यो रमणीय वातावरणमा इन्जोय गरिरहेका हुन्थे होलान् । कोभिडका कारण विदेशीहरू धेरै कम छन् अहिले । तथापि, आन्तरिक पर्यटनलाई प्रमोट गर्ने हिसाबले यहाँ नेपालीहरू आएका छन् । म त भन्छु– सबै नेपाली एकपल्ट पोखरा चाहिँ आउनैपर्छ र पोखराको यो रमणीय वातावरण हेर्नुपर्छ । अहिले त नयाँ वर्षको सन्दर्भ पनि छ । यसले गर्दा पनि पोखरामा थप मनमोहक वातवरण छ अहिले ।

तपाईं बागलुङको अमलाचौर जन्मनुभयो । त्यहाँबाट काठमाडौं छिर्नुभयो, राष्ट्रिय वाणिज्य बैंकको जागिर, त्यसपछि जापान यात्रा र त्यहाँबाट फर्किएर आएपछि यहीँ व्यवसायमा लाग्नुभयो । र, अहिले ८ वटाभन्दा बढी प्रतिष्ठान हाँकिरहनुभएको छ । धेरै संघर्ष गर्नुभयो । जीवन संघर्ष के रहेछ ?
म कुनै व्यावसायिक पृष्ठभूमिबाटभन्दा पनि एउटा सामान्य कृषकको छोरोको हिसाबले र शून्यबाट व्यावसायिक यात्रा सुरु गरेको मान्छे हुँ । पक्कै पनि यसरी व्यवसाय गर्दाखेरि हरेक हिसाबले धेरै कठिनाइहरू आइपर्ने हुन्छ, जुन मैले भोगें । त्यसलाई पार लगाउँदै जानको लागि एउटा सामान्य व्यक्तिलाई धेरै गाह्रो हुन्छ । छोटोमा भन्दाखेरि, मैले व्यवसाय सुरु गर्दा कुनै एउटा उद्योग दर्ता गर्नको लागि त्यसलाई प्रमाणित गर्न सरकारी निकायमा चिनेको मान्छे हुनुपर्ने अवस्था थियो । त्यो प्रमाणित गराउन सक्ने हैसियतको मान्छेसमेत थिएनन् मेरो सम्पर्कमा । त्यो अवस्थाबाट यात्रा सुरु गर्नु पक्कै पनि धेरै गाह्रो कुरा हो । तर, सँगसँगै के पनि हो भने, मान्छेले मेहेनत गर्‍यो भने इमानदार हिसाबले अगाडि बढ्यो भने र आफ्नो कर्तव्य पूरा ग¥यो भने एउटा लेभलको सफलता चाहिँ हात पर्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ ।

भुँइबाटै उठेर आइयो, व्यावसायिक यात्रा जारी नै छ । मान्छेलाई यति सफलतामै पुग्यो भन्ने त नहोला । तलका मान्छेलाई उठाउनका लागि, भुँइमान्छेलाई माथि ल्याउनका लागि तपाईंले के सोच्नु भएको छ ?
म अहिले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ५४ औं वार्षिक साधारणसभाबाट भर्खर–भर्खर निर्वाचित भएको छु । हाम्रो नारा नै के रहेको थियो भने, साना व्यवसायीलाई माथि उठाउनुपर्छ, उनीहरूका मुद्दा सरकार वा नियमनकारी निकाय वा सरोकारवाला निकायसम्म पुर्‍याउनुपर्छ । त्यसको लागि हामी काम गर्दैछौं । हामी आफैं सानो लेभलबाट सुरु गरेको यहाँसम्म आएको हुनाले साना व्यवसायी वा व्यवसाय नै नभएकालाई कसरी व्यावसायिक बनाएर माथि लग्न सकिन्छ भन्नेबारे म यसमा गम्भीर भएर लागिरहेको छु । र, मलाई के विश्वास छ भने अहिले पहिलाजस्तो (अवस्था) छैन । यदि कोही मान्छेले इमानदार हिसाबले काम गर्छु, मेहेनत गर्छु, इन्नोभेसन अर्थात् आइडिया निकाल्छु भन्यो भने लगानी गर्नका लागि वा त्यसलाई सर्पोट गर्नको लागि निजी क्षेत्रका धेरै संघसस्था छन् ।

व्यक्तिमा जुनुन चाहियो ?
यसमा बैंक तथा वित्तीय संस्थाहरू पनि उत्तिकै लाग्ने गरेका छन् । अन्य निजी संस्थाहरू पनि त्यस्ता किसिमका इन्नोभेसनका लागि सर्पोट गरेर अगाडि बनाउन तयार हुन्छन् । तसर्थ, यसमा धेरै सम्भावनाहरू छन् । तर, यहाँले भनेजस्तै उक्त व्यक्ति वा इन्नोभेटरमा ‘म केही गर्छु, केही नयाँ आइडिया ल्याउँछु’ भन्ने इच्छाशक्ति हुनुपर्छ । उसले मेहेनत गर्‍यो भने, इमानदार हिसाबले काम गर्‍यो भने पहिलाको तुलनामा अहिले उसलाई सपोर्ट गर्ने हातहरू धेरै उपलब्ध हुने अवस्था छ । कुनै एउटा सामान्य व्यक्तिले व्यवसाय गर्छु भन्यो भने ऊ अगाडि बढ्न सक्छ भन्ने मलाई आत्मविश्वास छ ।

नेपालको सातवटै प्रदेशमै त्यस्तै किसिमको (गन्तव्य) बनाउनुपर्छ भन्ने सोचेका छौं । यसका लागि धेरै काम अगाडि बढाइसकेका छौं ।

यहाँले उद्योग वाणिज्य महासंघको प्रसंग उठाउनुभयो । व्यावसायिक यात्रामा हुनुहुन्छ । तमाम समस्या झेल्दै आउनुभयो । व्यवसाय नै अझै उचाइमा पुर्‍याउन लागेको भए हुन्थ्यो, महासंघको यात्रा किन रोज्नुभयो ?
म सुरुमा महासंघको कार्यकारिणी समितिमा सदस्यका रूपमा आएको थिएँ । त्यो बेला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएको थिएँ । त्यसपछि महासंघमा धेरै पछाडि निर्विरोधरूपमा म उपाध्यक्षका रूपमा चुनिएँ । यो हुँदै गर्दा मैले आफ्नो हिसाबले व्यावसायिक यात्रालाई पनि जारी राखेकै थिएँ । तर, निजी क्षेत्रका साथीहरू जस्तै महासंघअन्र्तगतका जिल्ला नगर उद्योग वाणिज्य संघका साथीहरू हुन् वा कमोडिटी एसोसिएट्सका साथीहरूले ‘तपाई आउनुपर्छ, उद्योग वाणिज्य महासंघको नेतृत्व लिनुपर्छ, जिरोबाट व्यवसाय सुरु गरेर कर्पोरेट लेभलमा व्यवसाय सञ्चालन गरेको व्यक्ति भएकाले तपाई‌ं निजी क्षेत्रको वास्तविक मुद्दा बुझ्न र त्यसलाई कसरी सर्ट आउट गर्न सकिन्छ भन्नेबारे ज्ञान भएको हुँदा तपाईं आउनुपर्छ’ भन्नुभयो । उहाँहरूको आग्रह वा सुझावको आधारमा म यतातिर लागेको हुँ । पहिलेदेखि नै महासंघमा जान्छु, उपाध्क्ष्य, अध्यक्ष हुन्छु भन्ने सोच थिएन । काम गर्दै जाँदा यतातिर पनि लागिएको अवस्था हो ।

कार्यकारिणीमा छिरेर काम गर्दै जाँदा लगाव बढ्दै गयो भन्नुभएको ?
हजुर हो हो । पहिला व्यवसायीका हिसाबले काम गरिरहेको थिएँ । सक्रियतासाथ व्यवसाय गरिरहेको मान्छे महासंघमा जाँदा उसका कामहरूमा डिस्टर्ब चाहिँ हुन्छ, महासंघलाई पनि समय दिनैपर्छ । तर, के पनि हो भने, अहिलेसम्म व्यक्तिगत रूपमा व्यवसाय गरियो, उद्योग–व्यवसाय सञ्चालन गरियो । त्यसलाई एउटा लेभलमा पनि ल्याइयो । अब आफ्नो मात्र नभएर समग्र निजी क्षेत्रको उद्योग–व्यवसायलाई माथि उठाऊँ भन्ने मेरो उद्देश्य हो ।

अब नीतिगत तहमा पनि केही गर्नुहुन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघ भनेको निजी क्षेत्रको पोलिसी लबिङको लागि वकालत गर्ने संस्था हो । उसले दिने सल्लाह र उसले आत्मसाथ गरेका नीतिगत परिवर्तनले समग्र्र व्यवसाय बढाउने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, राज्यलाई आर्थिक योगदान पु¥याउने कुरामा प्रभाव पार्ने भएकाले अब म व्यक्तिगतभन्दा पनि समग्र निजी क्षेत्रको व्यवसाय बढाउनुपर्छ भन्ने उदेश्यले महासंघमा आएको छु ।

हामी अहिले पोखराको सराङकोटमा बसेर कुराकानी गरिरहेका छौं । यहाँले ८ वटा सेक्टरमा लगानी गरिरहँदा पर्यटन पनि त्यसमा परेको छ । समग्र नेपालकैभन्दा पनि गण्डकी क्षेत्रको पर्यटन प्रवद्र्धनमा यहाँले लगानी गर्ने सोच बनाउनु भएको छ कि ?
मैले भर्खर मात्रै पनि मुख्यमन्त्री (पृथ्वीसुब्बा गुरुङ) ज्युसँग कुराकानी गरेको थिएँ । यहाँलाई थाहै छ– हामीले काठमाडौंको छेउमा चन्द्रागिरी हिल्सअन्र्तगत एकीकृत पर्यटकीय गन्तव्य बनायौं । त्यो हिसाबले हामीले नेपालको सातवटै प्रदेशमै त्यस्तै किसिमको (गन्तव्य) बनाउनुपर्छ भन्ने सोचेका छौं । यसका लागि धेरै काम अगाडि बढाइसकेका छौं । त्यसमध्ये गण्डकी प्रदेशमा हामीले अहिले बढाएको भनेको सिक्लेसमा केबलकार (हिमालमै पुग्नेगरि) र रिसोर्ट निर्माणको लागि योजना बनाइरहेका छौं । त्यसमा नियमनका कुराहरू, नियमनकारी निकायका औपचारिकताका लागि हामी पर्खिरहेका छौं ।

भनेको यसको कन्सेप्ट तयार गर्नुभयो अब प्रोसेस चाहिँ बाँकी छ ?
हो । कम्पनी नै दर्ता भइसकेको छ । हामी इआइए (वातावरणीय प्रभाव मूल्यांकन) प्रक्रियामा छौं । हिमालको पर्यटकीय महत्व जुन छ त्यसलार्ई हासिल गर्न हामीले सिक्लेसमा केबलकार र रिसोर्टको योजना बनाइरहेका छौं । नियमनकारी निकायबाट समयमै प्रक्रिया अगाडि बढ्यो भने छिट्टै नै यो योजना पूरा हुन्छ ।

मौलाकालिकामा पनि यहाँहरूको प्रोजेक्ट छ क्या रे ।
हो छ । प्रोसिडर (प्रक्रिया) को हिसाबमा लगभग सकिसक्यो । अब कन्स्ट्रक्सन (निर्माण) को हिसाबमा जाँदैछ त्यो । योसमेत गरेर गण्डकी प्रदेशमा दुईटा प्रोजेक्ट छन् । म आफैं पनि गण्डकी प्रदेशको भएको हुनाले यहाँ दुईटा प्रोजेक्ट अगाडि बढाउन खोजिरहेको छु ।

वरिष्ठ उपाध्यक्षमा आउनभन्दा अघि नै यहाँले महासंघमा एउटा थिंकट्यांकको कन्सेप्ट ल्याउनुभएको थियो । उद्योग, व्यवसायलाई माथि उठाउनका लागि विचार किन आवश्यक हुन्छ भन्ने लाग्यो ? यो किन पनि सोधेको भने नेपाल लिटरेचर फेस्टिभल आफैंमा साहित्यको महोत्सव भए पनि आज हामी उद्योग व्यवसायका पनि कुरा यहाँ उठाइरहेका छौं । उद्योग व्यवसायलाई खासमा विचार किन चाहिँदो रहेछ ?
निजी क्षेत्रको तर्फबाट दिने एड्भोकेसीका कुराहरू, निजी क्षेत्रको तर्फबाट गर्नुपर्ने पोलिसी लबिङका कुराहरू, पोलिसी परिवर्तनका कुराहरूका लागि महासंघमा एउटा थिंकट्यांक युनिट बनाउनुपर्छ भनेका हौं । त्यसले सम्बन्धित एरियामा सुझाव दिने, त्यसको लागि बहस चलाउने भन्ने कुरा हो । जहाँसम्म यहाँले आइएमई लिटरेचर फेस्टिभलको कुरा गर्नुभयो, यसमा साहित्यतर्फ पनि हाम्रो योगदान हुनुपर्छ, हामी व्यवसाय मात्र गर्दैनौं, नाफा मात्रै खोज्दैनौं भन्ने हिसाबले हामी यो महोत्सवमा सुरुदेखि नै सहभागी हुँदै आएका छौं । यसमा नीति निर्मातादेखि लिएर अर्थशास्त्रीका कुरा सुनेर यो कार्यक्रमले एड्भोकेसीको काम गरेको छ । यसले आउने दिनमा यस्ता बहसको महत्व अझै बढाउँदै लग्नेछ भन्ने मलाई लाग्छ ।

२०७२ सालमा संविधान बनिसकेपछि देशमा राजनीतिक स्थिरता कायम भयो अब पालो आर्थिक विकासको भन्ने थियो । नेकपाको नेतृत्वमा दुई तिहाई नजिकको सरकार बन्यो । तर, अहिले फेरि पार्टीभित्रको आन्तरिक विवादले समस्या उब्जेको छ । संसद भंग भएको छ । यसले उद्योग व्यवसायीलाई पनि पक्कै निराश त बनाएकै छ । यस्तो बेला तपाईंले कस्तो महसुस गर्दै हुनुहुन्छ ? र, महासंघले चाहिँ अब कसरी अगाडि बढ्ने तयारी गरिरहेको छ ?
राजनीतिक कुरा त म के गरौं, यसबारे हामीलाई ज्ञान पनि नहुन सक्छ । तर, निजी क्षेत्रले भन्ने एउटै कुरा के हो भने निजी क्षेत्रको विकासको लागि राजनीतिक स्थिरता हुनुपर्छ, यो हाम्रो पहिलेदेखिनकै माग पनि हो । नयाँ संविधान आइसकेपछि निर्वाचन भएर बहुमतको सरकार बन्दा निजी क्षेत्र साँच्चिकै उत्साहित थियो । तर, अहिलेको यो राजनीतिक सिनारियोले पहिलाकै अस्थिर अवस्थामा पुगियो भनेर उद्योगी व्यवसायि चिन्तित भएको अवस्था छ । अब फेरि पहिलेकै अवस्थामा फर्किने हो कि भन्ने मूल चिन्ता छ ।

निजी क्षेत्रलाई झकझकाउनु पर्ला नि त ?
निजी क्षेत्रको तर्फबाट हामी हरेक ठाउँमा त्यो कुरा गरेका छौं । राजनीतिक स्थिरता भएन भने निजी क्षेत्रको आत्मविश्वास गुम्ने अवस्था आउँछ । त्यो अवस्था आयो भने यहाँका आन्तरिक र बाह्य लगानीकर्तामा पनि आत्मविश्वास हुँदैन भनेर हामीले कुरा गरिरहेकै छौं ।

हामी अब अन्तिममा छौं । आइएमई ग्रुपले के नयाँ योजना बनाइरहेको छ ? नयाँ भिजन के छन् ?
आइएमई ग्रुपअन्र्तगत हामी विभिन्न क्षेत्रमा काम गरिहेका छौं । बैंक, फाइनान्स, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायत विविध क्षेत्र मात्र नभएर हामी त सिएसआर (सामाजिक उत्तरदायित्व)को क्षेत्रमा पनि (जस्तै यही लिटरेचर फेस्टिभल) मा पनि लागिपरेकै छौं । यही भइरहेकै क्षेत्रलाई अगाडि बढाउने भनेरै काम गरिरहेका छौं ।

सयम दिनुभयो, यहाँलाई धेरै–धेरै धन्यवाद् ।
विचार राख्ने मौका दिनुभयो, यहाँलगायत सम्पूर्ण टिमलाई मेरो पनि धन्यवाद ।

Related News

सम्बन्धित समाचार

hero news full width