बुद्ध विशाल बजारले नारायण प्यानललाई सघाउने

आदर्श समाज संवाददाता
पौष २०, २०७७
pcci narayan

पोखरा । चिप्लेढुंगामा रहेको बुद्ध विशालबजारका व्यवसायीहरुले नारायण कोइराला प्यानललाई सहयोग गर्ने निर्णय गरेका छन् । बुद्ध बिशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशबबहादुर खत्रीले यही प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका कारण संस्थागत निर्णय गरेरै प्यानललाई सहयोग गरिएको हो ।

पुस २४ र २५ गते हुने ३३ औं महाधिवेसनमा कोइरालाको नेतृत्वमा उम्मेदवारहरुको छुट्टै प्यानल घोषणा गरिएको छ । सोमबार समितिको बैठक बसेर प्यानललाई जिताउन संस्थागत रुपमै निर्णय गरिएको महासचिव इन्द्र अर्यालले जानकारी दिए ।

‘हाम्रो अध्यक्ष पोखरा उद्योग वाणिज्य संघको समितीमा जानुभयो भने हाम्रा समस्या छिटो सम्बोधन होला भनेर हामीले यो निर्णय गरेका हौं,’ उनले भने । एसोसियसनको निर्णयको स्वागत गर्दै अध्यक्ष पदका उम्मेद्वार नारायण कोईरालाले धन्यवाद ज्ञापन गरे । आफु संगै सबै प्यानलले जितेमा सबै व्यवसायी र उद्योगीको समस्या समाधानमा लाग्ने उनले दोहो¥याए ।

यसैगरी, सोमबार नै पोखरा १४ चाउथेमा रहेको खसी बजारका व्यावसायीहरुले पनि नारायण कोईराला प्यानललाई सहयोग गर्ने मौखिक समर्थन जनाएका छन् । उनको प्यानल घरदैलो कार्यक्रममा खसी बजार पुग्दा व्यावसायीहरुले सघाउने घोषणा गरेको एस.जि सप्लायर्सका ज्ञानबहादुर श्रेष्ठले बताए ।

उनीहरुले घरदैलोको क्रममा भोट माग्न मात्र आउने र जितेपछि समस्या सम्वोधन नगरिदिने पहिला देखिकै रोग यो पटक नदोहोरिने विश्वास गरेका छन् । ‘हामीसँग भएको ३० देखि ३५ भोट नारायण कोईराला प्यानललाई दिने मौखिक सहमति छ । हाम्रा समस्या आगामी दिनमा समाधान हुन्छ भन्ने विश्वास छ,’ उनले भने । आफ्नो प्यानलले जिते ति सबै समस्या समाधान गर्ने कोइरालाको भनाई छ ।

नारायण प्यानलसँग बढी विश्वास
पोखरा सिद्धार्थचोकमा नेशनल पेन्ट्स एण्ड हार्डवेयर संचालन गर्ने विवि थापा घर दैलो कार्यक्रममा नारायण कोईरालाको प्यानल देखेर दङ्ग देखिन्थे । उनले टाढैबाट भने, ‘प्यानल भनेको त यस्तो पो हुनुपर्छ । परिपक्व अनि धीरता नगुमाएको टिम ।’ नजिक पुगेपछी नारायण कोईरालालाई अग्रीम बधाई दिन पनि भ्याए । यो पटक राजनीतिक प्यानल नबनेकोमा पनि थापा खुसी थिए । ‘पहिला संसदको चुनाव भएजस्तो हुन्थ्यो । झण्डा नबोकेपनि राजनीतिक रुपमै विभाजित हुन्थ्यो,’ उनले भने, ‘यो पटक त्यस्तो देखिएन । खुशी लाग्यो ।’

अभियान कै क्रममा पोखरा सिद्धार्थचोकका श्री कम्पेक्स एग्रीकल्चर प्रा.लिका संचालक झलकलाल श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघले कृषिलाई समेट्न नसकेको गुनासो गर्छन् । आफु विगत २० वर्षदेखि कृषिमै लागको भएपनि संघले अहिलेसम्म कृषिमा कुनै सहयोग नगरेको गुनासो गरे । उनले नारायण कोइरालाकै प्यानलले कृषिलाई प्राथमिकतामा पार्ने विश्वास गरेका छन् । पोखरा भिमसेन टोलका जयदेव मुल्मी पनि अनुभवी र परिपक्व उम्मेदवारहरु एउटै प्यानलमा भएकोले संघको शाख बलियो हुने बताउँछन् ।

कोईराला प्यालनल सोमबार घरदैलो कार्यक्रममा पोखराको खसी बजार, चाउथे, कृषि उपज व्यापार केन्द्र पृथ्वीचोक, विन्ध्यवासिनी, मोहारिया टोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, न्यूरोड, सिद्धार्थचोक, पोखरा ट्रेड मल, चिप्लेढुङ्गा, बुद्ध विशाल बजार, रानीपौवा लगाएत स्थानमा पुगेर प्यानलको लागि मत मागेका थिए ।

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width