खुले होमस्टेका ढोका

आदर्श समाज संवाददाता
पौष २०, २०७७
home stay

नवलपरासी । लकडाउनपछि बन्द नवलपुरका होमस्टे बिस्तारै सञ्चालनमा आउन थालेका छन् । जिल्लामा एक दर्जन हाराहारीमा होमस्टे सञ्चालनमा रहेकोमा कावासोतीमा मात्रै ४ वटा छन् ।

आदिवासी जनजातिको बाहुल्यता रहेको क्षेत्र र पर्यटकीय दृष्टिकोण अति महत्वपूर्ण मानिने क्षेत्रमा खोलिएका होमस्टेले त्यस क्षेत्रको बासिन्दाका जीवनस्तर उकास्न निकै महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

नेपालकै उत्कृष्ट होम स्टेरुपमा सूचीकृत भएको कावासोती १५, अमलटारीमा रहेको अमलटारी होम स्टे पनि पूर्णरुपमा बन्द रहेकोमा अहिले लयमा फर्कन थालेको छ । कुल ३१ घर थारु र बोटे समुदाय मिलेर खोलिएको अमलटारी होमस्टे अहिले लकडाउनपछि पर्यटकको लागि खुला गरिएको होम स्टे सञ्चालक समितिले जनाएको छ ।

अमलटारी होमस्टे पूर्णरुपमा बन्द रहेकोमा अहिले लयमा फर्कन थालेको छ

होम स्टे व्यवस्थापक धनिराम चौधरीले हाल दैनिक २०/२५ जना पर्यटक आउन थालेको जनाए । उनका अनुसार ठूलो संख्यामा पाहुना आए पनि सोही अवस्थामा तयारीमा राखिएको छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रभित्रका सामुदायिक वनमा जंगल सफारी गर्न सकिने, गैंडा, बाघ, हरिण, चित्तल, वनहात्तीसमेत सजिलै अवलोकन गर्न सकिने छ ।

कोभिड–१९ कारण बन्द बजार, पसल, विद्यालय खुले पनि कोरोनाको कहर भने बाँकी नै रहेका कारण यहाँ आउने पर्यटकलाई सुरक्षित राख्न अमलटारी होमस्टेमा एउटा पाहुना गएर कोठा खाली हुनासाथ कोठा सेनिटाइज गर्ने, बिछ्यौना परिवर्तन गर्नेलगायत काम पनि गरिएको अमलटारी होम स्टे अध्यक्ष एवम् कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया बताउँदछन् ।

गरिव तथा विपन्न परिवारको जीवनस्तर उकास्न र यहाँका आदिवासी जनजातिको कलासंस्कृतिमार्फत पर्यटक् लोभ्याउन नवलपुरका स्थानीय सरकारले होम स्टेको सम्भाव्यता रहेको क्षेत्रका स्थानीयवासीको सहकार्यमा होम स्टे खोल्न र सञ्चालनका लागि प्रोत्साहनस्वरुप सञ्चालनको सुरुको बखत आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width