कहाँ छ गण्डकी सरकार ? खाेजी गर्दै प्रतिपक्षी दल

प्रकाश ढकाल
पौष २०, २०७७
Gandaki Cabinet building

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टीको प्रस्तावमा गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबार सुरु हुँदैछ । कोरोना नियन्त्रण, सुस्त विकास निर्माण, बेरोजगारी र महंगी समस्यालाई देखाएर २ पार्टीले विशेष अधिवेशन मागेका हुन् ।

असोज अन्तिम साता यहाँको बर्खे अधिवेशन अन्त्य भएको हो । ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । तर त्यो समय ढिलो हुने भन्दै २ पार्टीले कात्तिक मसान्तमा विशेष अधिवेशनका लागि निवेदन बुझाएका हुन् ।

सरकार कहाँ चुक्यो ? त्यसको खोजी गरेका छौं । कुन–कुन ठाउँमा समस्या छ, पत्ता लगायौं ।


कुमार खड्का
सभापति
सार्वजनिक लेखा समिति

विशेष अधिवेशनमा पेस गर्ने प्रस्ताव प्रतिपक्षी दलले तयार गरिसकेका छन् । प्रारम्भिक प्रतिवेदन कांग्रेस संसदीय दलको बैठकबाट पास भएर २ पार्टीको संयुक्त बैठकमा पेस गरिएको थियो । संयुक्त बैठक समेत बसेर प्रतिवेदन पूरा गर्न ३ सदस्यीय समिति गठन गरिएको छ । कांग्रेसका कुमार खड्का, विष्णुप्रसाद लामिछाने र जनता समाजवादीकी धनमाया लामा पोखरेल सदस्य रहेको समितिले प्रतिवेदन टुंग्याउने छ । ‘सरकार कहाँ चुक्यो ? त्यसको खोजी गरेका छौं । कुन–कुन ठाउँमा समस्या छ, पत्ता लगायौं,’ सार्वजनिक लेखा समिति सभापति समेत रहेका सांसद कुमार खड्काले भने, ‘सरकारले अब के गर्नुपर्छ र सदनले के निर्देशन दिनुपर्छ भनेर उपायको खोजी गरेका छौं ।’

उक्त प्रतिवेदन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसद बैठकमा पेस गर्ने छन् । त्यसपछि एजेन्डामाथि सांसदहरुले छलफल गर्ने छन् । खड्काका अनुसार प्रतिवेदन ४५ देखि ५० पेजको छ । विशेषगरी कोरोनालाई मिहीनरुपमा अध्ययन गरेर यो प्रतिवेदन बनाइएको कांग्रेसले जनाएको छ । ‘सरकारी बजेट खर्च र व्यवस्थापन केलाएको छ । अहिले कोरोनाको परीक्षण घटेर गयो । कांग्रेसले संकल्प प्रश्ताव ल्याएर संसद रोकेका बेला ह्वात्तै बढेको थियो । अहिले फेरि ह्वात्तै घटेको छ,’ दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भन्छन्, ‘उपचार गर्ने कुरामा सरकार कत्ति पनि संवेदनशील भएन । जनताको जिउधनको रक्षा सरकारले गर्न सकेन ।’ कोरोनाको परीक्षण २ सय ३९ प्रतिशतसम्म घटेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रतिपक्षी दलले निजी अस्पतालले उपचार गरेको बिल सरकारले तिर्नुपर्ने सुझाव दिएको छ । ‘यो प्रस्ताव त मुख्यमन्त्री ज्यूले नै ठिक हो भन्नु भएको थियो । तर कार्यान्वयन भएन,’ सांसद खड्का भन्छन्, ‘मान्छेले उपचार गराउन सक्ने अवस्था छैन । सरकार सिरियस हुनुप¥यो ।’ उनका अनुसार कोरोनाको खोपका विषयमा पनि सुझाव दिइएको छ । ‘खोप आउँछ । सित्तैमा आउने कति हो ? कसरी वितरण गर्ने ? नपुगेको कसरी ल्याउने ? भण्डारण कहाँ गर्ने ? सरकारको योजना के छ भनेर प्रश्न उठाएको छ,’ उनले भने ।

माघभित्र प्रक्रिया नथाले बजेट कार्यान्वयनबाट हात ठड्याउन प्रतिपक्षी दलले सरकारलाई चेतावनी दिएका छन् । ‘बजेटमा ४ महिनाभित्र रकम कार्यान्वयन प्रक्रिया सुरु गर्छु भनेका थिए । ६ महिना बितिसक्यो काम सुरु भएन । अब पनि नथाल्ने हो भने असारे बजेटमा पुग्छौं । खर्च हुँदैन,’ प्रतिपक्षी सांसदहरुले भने, ‘माघसम्म प्रक्रिया थाल्न नसके बजेट ‘सरेन्डर’ गर्न भनेका छौं । यही गर भनेर निर्देशन दिनुभन्दा सच्याऊ भनेर सुझाव दिएको हो ।’ सत्तारुढ सांसदहरु भने अहिलेको विशेष अधिवेशन खासै महत्वपूर्ण नभएको तर्क गर्छन् । विशेष अधिवेशनकै तयारीका लागि सोमबार कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width