सकियो सडक महोत्सव

आदर्श समाज सम्वाददाता
पौष १७, २०७७
street fetival

पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा ३ दिनसम्म आयोजित महोत्सवमा आन्तरिक पर्यटकको घुइँचोले पर्यटन व्यवसायी हौसिएका छन् ।

आयोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले आयोजकले सोचेभन्दा महोत्सव बढी सफल भएको बताए । उनले भने, ‘हामीहरुले यति धेरै मानिस आउँछन् भन्ने सोचेका थिएनौं, सोचेभन्दा बढी मानिसको सहभागिता रह्यो ।’ खुला सडकमा महोत्सव हुने गरेकोले मानिसको संख्या यकिन गर्न नसकिए पनि न्यू इयर इभ मनाउन सडकभरि मानिसको घुइँचोले महोत्सव सफलताको संकेत गर्ने बरालले बताउँछन् । उनका अनुसार रेष्टुरेन्ट तथा होटल लगायतमा आन्तरिक पर्यटक भरिभराउ थिए ।

महोत्सवमा उपस्थित दर्शकले अंग्रेजी नयाँ वर्ष २०२१ को आपसमा शुभकामना साटासाट गर्दै भव्य स्वागत गरे । सडकका ४ विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा उनीहरु झुम्मिएको देखिन्थे ।

सडकका केही ठाउँमा कोभिड–१९ विरुद्ध सचेतनामूलक बोर्ड राखिएको थियो । तर सो भिडले कोरोना जोखिम भने उत्तिकै बढायो । दर्शकले मास्क लगाएको भए पनि भिडका कारण कोभिड–१९ संक्रमण फैलिनबाट रोक्न पर्याप्त थिएन । फेवाताल किनारको सहिदचोकदेखि हल्लनचोकहुँदै डिहिकोपाटनसम्म मानिसको उस्तै लर्को थियो ।

विगतमा ५ दिनसम्म हुने गरेको महोत्सव यसपालि छोट्टाएर ३ दिनसम्ममात्र संचालन गरिएको हो । पहिलेजस्तो बसुन्धरा पार्कमा कुनै कार्यक्रम गरिएनन् भने आतिशवाजी रोकियो ।
महोत्सवको बुधबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरेका थिए । महोत्सव अवसरमा डुंगा दौड प्रतियोगिता, टेनिस प्रतियोगिता, भलिबल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

कोरोना महामारीले झण्डै एक वर्ष थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिइएको महोत्सव संयोजक वसन्त गौतमले बताए । पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन महोत्सव सफल भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width