पोखरा । सेना सडकमा देख्दा धेरैले अप्रिय घटनाको आँकलन गर्छन् । यसको अर्थ ठूलै विपत्ति नआउँदासम्म सेना निस्किँदैन भन्ने विश्वास छ । त्यसो त सेनाको परिकल्पना पनि सोही अनुसार गरिएको हो । पछिल्ला दिनहरुमा भने सेना नेपालीको दैनिकीसँग साझेदारीमा जुटिरहेको छ । जहाँ जोखिम हुन्छ, त्यहाँ सेना पुग्छ । बाढीपहिरो देखि कोरोना भाइरस व्यवस्थापन र नियन्त्रणमा पनि नेपाली सेनाले ठूलो योगदान दिएको छ । नेपाल सरकारले संक्रमितको शव व्यवस्थापनको जिम्मा सेनालाई दिएको थियो । गण्डकी प्रदेशका ठाउँठाउँमा हेल्थ डेस्क, आइसोलेसन बनाउने र संक्रमितहरुको उपचारमा सेनाले सहयोग गरेको छ । त्यसबाहेक १ सय ८२ संक्रमितको शव व्यवस्थापन गरेको छ । तीमध्ये १ सय ४६ जना हिन्दु छन् भने ३३ जना बौद्ध, २ जना क्रिस्चियन र १ जना मुश्लिम धर्मावलम्वीहरुको शव व्यवस्थापन गरिएको पश्चिम पृतनाले जनाएको छ ।
सम्बन्धित धर्मको संस्कार अनुसार नै कसैलाई जलाउने र कसैको शव गाडिएको पृतनाका जनसम्पर्क अधिकृत सेनानी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार १ सय ५३ शव गाडिएको र २९ शव जलाइएको हो । शव व्यवस्थापन सुरुमा चुनौतीपूर्ण भए पनि अहिले अभ्यस्त भइसकेको उनले सुनाए । ‘सुरुमा छुन पनि डर थियो । हामी आफै खटियौं,’ उनले भने, ‘पछि सबैले सहजै लिए । अहिले गाह्रो छैन ।’
पृतनापति विनयविक्रम राणा नेपाली सेनाले जस्तो जोखिम परे पनि राष्ट्रलाई आवश्यक पर्दा समाधान गरेको बताए । ‘बोल्दा पनि कोरोना सर्छ भन्ने अवस्थाबाट सेनाले काम गरेको हो । एकप्रकारले अघोषित कफ्र्युजस्तो थियो,’ उनले भने, ‘हाम्रै जवानहरुलाई कन्भिन्स गराउन पनि गाह्रो थियो । अफवाह बढी फैलियो । झडपकै अवस्था समेत सामना गर्नुप¥यो । सुरुमा अनुभवको कमीले गाह्रो नै भयो । पछि राम्रो व्यवस्थापन गर्न सक्यौं ।’
तर कोभिड व्यवस्थापनमा खटिएकाहरुले अहिलेसम्म भत्ता पाएका छैनन् । ‘कोभिडको लागि भनेर जोखिम भत्ता नेपाली सेनाले पाएको छैन । तल्लो तहबाट अपेक्षा हुन्छ । दिएको छैन,’ उनी भन्छन्, ‘हामी नेपाल सरकारकै अंग भएको हिसावले माग दाबी गर्ने कुरा भएन । तर आस चाहिँ गरिरहेका छन् ।’ कोरोना विरुद्ध काम गर्दै गर्दा गण्डकी प्रदेशमा कार्यरत ३ सय १० जना सिपाही र अधिकृतहरु संक्रमित भएका थिए । तीमध्ये ३ सय ३ जना निको भइसकेका छन् भने ७ जना उपचाररत छन् । चालु वर्ष लागेपछि सेनाले विभिन्न बाढी पहिरोबाट ५२ जनाको जीवितै उद्धार गरेको छ भने ७० जनाको शव निकालेको छ । आगलागी नियन्त्रण, फेवातालमा हुने दुर्घटनापछिको उद्धार लगायतका काममा नियमित लागिरहेको छ । अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोमा पुरिएकाहरुको खोजी समेत सेनाले गरेको हो ।
एकीकरण पदयात्रा गर्ने
नेपाली सेनाले पृथ्वी नारायण शाहले तत्कालीन समयमा युद्धका लागि प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्गको रुपमा विस्तार गरेको छ । यो वर्ष त्यो बाटोमा पदयात्रा गर्ने तयारी थालिएको छ । संविधानले एकताको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । त्यही अभियान अन्तर्गत विभिन्न कार्यक्रम वर्षेनी हुँदै आएको छ । ‘समग्र रुपमा हेर्दा महान जिम्मेवारी हो । पहिले हाम्रो समाज एक हिसावले जोडिएको थियो । पछि समस्या आयो । त्यही आवश्यकता बढेको भएर संविधान मै नेपाली सेनालाई एकताको जिम्मेवारी दिएको छ,’ पृतनापति राणाले भने, ‘पृथ्वीनाराण शाह तत्कालीन समयमा हिडेका बाटोहरुलाई एकीकरण पदमार्ग बनायौं । यो वर्ष त्यहाँ यात्रा गर्ने कार्यक्रम छ ।’
उनले पृथ्वीनाराण शाहले अघि सारेका एकताका पहललाई जनमानसमा पु¥याउनुपर्ने बताए । ‘व्यक्ति विशेषले होइन, उहाँको योगदानलाई सम्झनुपर्छ । सम्मान गर्नुपर्छ । त्यो जनमानसम पु¥याउनुपर्छ,’ उनले अघि थपे, ‘त्यसले राष्ट्रिय एकतामा सहयोग पुग्छ । हामी एकै हौं भन्ने धारणा विकास हुन्छ ।’ यसैका लागि एकीकरण पदमार्ग निर्माण र गढीहरुको संरक्षणमा जुटेको उनले सुनाए ।
विमानस्थलमा सेना जाँदैन
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धमाधम चलिरहेको छ । नयाँ एयरपोर्टबाट विमान आउजाउ गर्न थालेपछि पुरानो एयरपोर्ट सेनाले कब्जा गर्छ भन्ने चौतर्फी होहल्ला छ । पृतनापति राणाले भने नतर्सिन आग्रह गरे । ‘तर्सिनुपर्ने कारण छैन । पुरानो विमानस्थल के गर्ने भन्ने निर्णय सरकारले गरेको छैन । त्यहाँ सेना जाँदैन,’ उनले भने ।
माघ अन्तिममा भूपू सम्मेलन
गण्डकी प्रदेशका भूतपूर्व सैनिकहरुको सम्मेलन हुने भएको छ । माघको २८ गते मनाङ, मुस्ताङ र नवलपुर बाहेक सबै जिल्लामा भूपू सम्मेलन हुने छ । हेड क्वाटर, बाहिनी, गण गरी जिल्ला जिल्लामा भूतपूर्व सैनिकहरुलाई भेला गर्ने र पुनर्मिलन कार्यक्रम गरिने पृतनाले जनाएको छ । सम्मेलनमा १२ हजार भूपूहरु भेला हुने अनुमान छ । गण्डकीमा १६ हजार भूपू रहेको तथ्यांक छ । ‘नेपाली सेनाले धेरै वर्षदेखि यो कार्यक्रम गर्दै आएको छ । अरु प्रदेशमा कार्यक्रम भैसकेको छ । गण्डकीमा कोभिडका कारण रोकियो । यो वर्ष गर्न लागेको हो,’ जनसम्पर्क अधिकृत पौडेलले भने ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
hero news full width
मुख्य समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७