ज्याला माग्दा उल्टै धम्की

साधन राम्जाली
पौष १६, २०७७
majdur thagiy

पीडित मजदुर माया शर्पा साथमा छोरी । तस्बिर : साधन राम्जाली/आदर्श समाज

म्याग्दी  । ठेकेदारले ठगेको भन्दै मजदुरले प्रशासन र प्रहरी गुहारेका छन् । जिल्लाको मालिका गाउँपालिका–६,दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजनामा ५ महिनासम्म काम गरेका मजदुरले ठेकेदारले ज्याला नदिएर ठगी गरेको गुनासो गरेका हुन् ।

सभाहल निर्माणको ठेक्का लिएका बागलुङस्थित जयलक्ष्मी निर्माण सेवाका सञ्चालक जयन्द्र श्रेष्ठले मजदुरलाई ज्याला माग्दा उल्टै दादागिरी देखाएर ज्यादती गरेको मजदुरको गुनासो छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा १ करोड १९ लाख रुपैयाँमा निर्माण सेवा कम्पनीले सो भवन निर्माणको ठेक्का लिएको थियो ।
सोलुखुम्बुबाट आएर सभाहल निर्माणमा मजदुरी गरेका छिरी शेर्पाले १४ लाख २ हजारभन्दा बढी भुक्तानी पाउनुपर्नेमा हालसम्म ६ लाख ३२ हजार रुपैयाँमात्र दिएको बताए । शेर्पा लगायत २५ जना मजदुरले गत साउन महिनादेखि सुरु गरेको भवन निर्माणको काम १५ दिनअघि सकेका थिए ।

‘दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका थियौं, ठेकेदारले नै ठगेपछि हाम्रो विचल्ली भएको छ ,’ मजदुर शेर्पाले भने, ‘खाने खर्च भए पनि देऊभन्दा ठेकेदारले उल्टै धम्की दिएपछि ज्यान बचाउन पनि बेनी झरेका हौं ।’

कोरोनाको जोखिम, बर्खाको झरी नभनी २ वर्षका बच्चालाई काखमा च्यापेर काम गरे पनि ज्याला दिन आनाकानी गरेका ठेकेदारले गुण्डा लगाएर कुट्ने धम्की दिएपछि सुरक्षा र ज्याला माग्दै बेनी आएर प्रशासनमा जानकारी गराएको अर्का मजदुर माया शेर्पाले बताइन् ।

ठेकेदारले ज्याला नदिएका कारण पैसा नभएर भोकै बस्नुपरेको, कोठाभाडा तिर्न नसकेको र बिचल्ली भएको मजदुरले गुनासो गरेका छन् । काम गरुञ्जेल थोरैथोरै रकम पठाउने ठेकेदारले फोनै उठाउन छाडेको र उल्टै स्थानीय युवा लगाएर धम्काउन थालेपछि असुरक्षित महसुस गरेर बेनी आएको मजदुरले बताए ।

ठेकेदार जयन्द्र श्रेष्ठले मजदुरलाई काम गरेकोभन्दा बढी ज्याला दिएको दाबी गर्दै गाउँपालिकाले अन्तिम बिलको भुक्तानी दिएपछि मात्र भुक्तानी दिन सक्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरनजङ्ग कुँवरले मजदुरले गुनासो गरेपछि ठेकेदारलाई सम्पर्क गरेर ज्याला दिलाउन ताकेता गरेको बताए ।

मालिका गाउँपालिकाका इन्जिनियर नमनारायण ढुंगानाका अनुसार गत वर्ष फागुन १५ मा सम्झौता भएको भवन २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य छ । लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियालाई शंकास्पद रुपमा हेरिएको स्थानीयवासीले बताए । अस्वभाविक लागतमा बनाएको, अनुकूलका ठेकेदारलाई काम लगाउन ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल भएको आरोप छ ।

यसअघि पनि मालिका ४ मा निर्माण भएको ओखरबोट स्वास्थ्य चौकी भवन निर्माणक्रममा गुणस्तरीय सामग्री प्रयोग नभएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।
…………………

Related News

सम्बन्धित समाचार

hero news full width