२२ औं पोखरा सडक महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
पौष १६, २०७७
street fetival

पोखरा । पोखरामा बुधबारदेखि २२ औं पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष –२०२१ अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले विगतमाझैं यसपालि पनि कोरोना कहरबीच महोत्सवलाई निरन्तरता दिएको हो ।

फेवाताल किनार लेकसाइडको ३ किमी क्षेत्रफलमा हुने महोत्सव ३ दिनसम्म चल्नेछ ।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विदेशीको इशारामा प्रचण्ड र माधव नेपाल चलेर अविश्वास प्रस्ताव तयारी गरेकोले प्रधानमन्त्रीले संसद विघटन गर्न बाध्य भएको दाबी गरे ।

उनले सडक आन्दोलनले लोकतन्त्र बलियो नहुने पनि स्पष्ट पार्दै सर्वोच्च अदालतले गर्ने फैसलाबाट नै लोकतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे । आगामी बैशाखमा चुनाव हुने र सो चुनावमा केपी शर्मा ओलीको पार्टीलाई पराजित गरेर देखाउन चुनौतीसमेत दिए ।

उनले सूर्य चिह्न ओलीनिकट नेकपाले पाउने उनको दाबी थियो । ‘जनताले बामगठबन्धनलाई ५ वर्षसम्म सरकार चलाउन भनी म्यान्डेट दिएका हुन्, ५ वर्षसम्म पनि पर्खिन नसक्ने ?’ उनले भने, ‘चारैतिरबाट घेराबन्दी भएपछि प्रधानमन्त्री ओलीले संसद भङ्ग गर्न बाध्य हुनुभएको हो । चुनावमा जानुपर्छ । किन चुनावदेखि डराउने ? जनता भनेको जनार्दन हुन् ।’

सो अवसरमा मुख्यमन्त्री गुरुङले पोखरा सडक महोत्सव सुरुवातसँगै पोखरा खुला छ भन्ने सन्देश विश्वभर पुगेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले लोकतन्त्रमा जनतामाझ जान डराउनु कायरता हो भने ।

रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले कोभिड–१९ ले कोरोना महामारीले थलिएको पर्यटन उकास्न महोत्सव सहयोगसिद्ध हुने बताए ।

आयोजकका अनुसार कोभिड–१९ ले समस्यामाग्रस्त पर्यटन क्षेत्र उकास्न महोत्सवलाई निरन्तरता दिइएको हो । लामो समय बन्द होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सव संचालन हुने महोत्सव संयोजक वसन्त गौतमले बताए ।

उनका अनुसार कोरोना प्रभावका कारण ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन महोत्सव सहयोगी बन्ने बताए ।

महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैन भने आतिशवाजी देखिने छैन ।
लेकसाडइको गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेज रहनेछन् । सुन्तला, मह लगायत हस्तकलाका केहीमात्र स्टेल तयार पारिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width