सकियो अक्षरहरुको मेला

भरत काेइराला
पौष १५, २०७७
Ajit Baral

पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिभलको बुधबार सकिएको छ । दोस्रो तथा अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे ।

फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा. अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरे ।

दोस्रो सत्र ‘प्रदेशबाट देखिने देश’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले अन्तर्संवाद गरे । यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवम् परिदृश्यबारे गरमागरम बहस भयो ।

अर्काे सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’ मा पत्रकार कुवेर चालिसेले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए । यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा भयो । साथै निजीक्षेत्रले कोभिड–१९ कै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरुले संवाद गरे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरु’ सत्रमा छलफल चलाए । यसका वक्ताहरुले देशमा संघीयता आए पनि त्यो प्रदेशहरुमा प्रभावकारी कार्यान्वयन नभएको बताए ।

फेस्टिभलको अर्को सत्र रह्यो, ‘क्वेर हुनुको अर्थ’ । यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनिलबाबु पन्त) बीच संवाद भयो । यो सत्रमा उनीहरुले समाजमा क्वेर भएर जीवनयापन गर्नुका दुःख एवम् संघर्षबारे छलफल गरे ।

‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे । उनीहरुले अहिलेका युवाहरुले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे । साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो ।

महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’ । यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारु प्रस्तुत भए । उनीहरुले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे । साथै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरुबीच संवाद चल्यो ।

फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ । साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउँछ ।

साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको हाम्रो अनुभव छ । नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि पनि फेस्टिभलले टेवा पु¥याउने हामीले विश्वास गरेका छौं ।

दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा पनि थपिएको हाम्रो अनुभव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width