सम्झनामा ‘असाधारण लेखक’हरू

आदर्श समाज संवाददाता
पौष १५, २०७७
55

पोखरा ।  लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्रले आफ्नो बाल्यकाल र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूति साटे । र, नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको समापन भयो । स्वर्गीय लेखकद्वयका सन्तान रहेका इल्या र रोशनले आआफ्ना पिताले कला, साहित्य एवं लेखकको क्षेत्रमा पुर्‍याएको विषयमा चर्चा गरेका थिए ।

इल्या भट्टराईले बुवा मदनमणि दीक्षितको पुर्खाको इतिहासबारे बखान गर्दै आफ्नो कुरा राखेकी थिइन् । कसरी मदणमणिका जिजुबुवा शिरोमणी आचार्य पढ्का लागि बनारस पुगे र कसरी दीक्षा धारण गरेर उनीहरू दीक्षित बन्न पुगे भन्ने बारे बताएकी थिइन् ।

‘जिजुबुवाकी आमाले आफ्नो छोरा पढोस् भन्ने उद्देश्यले बनारस लिएर जानु भएको थियो । त्यहाँ आमाले चाहे जसरी पढेपछि दीक्षा प्राप्त गर्नुभयो र हाम्रो पुर्खा आचार्यबाट दीक्षित बन्न पुग्यो’, इल्या भट्टराईले भनिन्, ‘त्यही पदवी हाम्रो थर बन्यो । र, मदनमणि दीक्षितकी छोरी हुँ भन्दा गर्व महसुस हुन्छ ।’

उनले दीक्षितको साहित्य लेखनको आधार प्रेमपत्र भएको बताइन् । दीक्षितले आफ्नो एकतर्फी प्रेमिकाका लागि लेखेको ७ वटा पत्रनै बुवाको साहित्यिक लेखनको थालनी भएको सुनाएकी हुन् । भलै, ती पत्र दीक्षितले कहिल्यै पनि आफूलाई मन परेकी युवतीलाई दिन भने सकेका रहेनछन्। तीनै पत्र पछि इल्या भट्टराईकी आमा अर्थात् दीक्षितकी श्रीमती रीताले प्राप्त गरिन् । ‘ती पत्रका कारण हाम्रो घरमा हंगामा नै भएको थियो । तर, ती पत्र लेखेकै कारण बुवाको झुकाव साहित्यमा पनि रहन पुग्यो’, उनले भनिन् ।

त्यस्तै मदनमणिको राजनीतिक जीवन बारे पनि उनले चर्चा गरेकी थिइन् । राजनीतिले आफ्ना बुवालाई निकै माथि पु¥याएको तर कहिल्यै ‘नेता’ प्रवृत्ती हावी नभएको उनको तर्क रह्यो । भनिन्,’राजनीतिमा लाग्नुभयो । त्यसका कारण परिवारबाट टाढा रहनु भयो । छोराछोरी कति कक्षामा पढ्छन् भन्ने कुराको समेत जानकार हुनुन्थेन ।’

इल्याले आफ्ना बुवाको फोटोग्राफीको कुशलताबारे पनि कार्यक्रममा बोलिन् । कसैले उपहार दिएको सानो क्यामेराले फोटो खिच्न थालेका मदनमणिको फोटोग्राफीप्रतिको मोह समयसँगै बढ्दै गयो । भनिन्,’उहाँले खिचेक उत्कृष्ट फोटोहरू आज पनि छन्। तीनले बेग्लै कलात्मक महत्व राख्छ ।’

पत्रकारितामा पनि अब्बल ठहरिएका मदनमणि दीक्षितबारे भट्टराईले भनिन्,’पीताजीका लेखहरू अझै पनि चर्चामा छन् । उहाँले लेख्नुभएका समीक्षाहरूलाई त्यस समय देखि नै बौद्दिक वर्गको खुराक मानिन्छ ।’

धेरै क्षेत्रमा सक्रिय रहेका कारण आफ्ना बुवाले छोराछोरीलाई आवश्यक समय नदिएकोमा गुनासो गरिन् । भलै समयको हिसाबमा निकै कम क्षण बुवासँग बिताए पनि उनले घरमा सिर्जना गरेको वातावरणकै कारण आफू लेख्न र पढ्न प्रेरित भएको उनको कुरा छ । भनिन्, ‘उहाँले दिनुभएको माया र छायाले प्रत्यक्ष रुपमा नभए पनि प्रभाव पारेको छ ।’

भट्टराईले मदनमणिले भारतीय नागरिक बन्नुपर्ने डरले विद्यावारिधी छाडेर नेपाल फर्किएको प्रसङ्ग सुनाइन् । जसका कारण उनी वीरगंजको एक विद्यालयमा ‘हेडमास्टर’ बने र जीवनभर मास्टर साहबको नामले चिनिए ।
त्यस्तै कलाकार एवं लेखक मनुजबाबु मिश्रबारे बोले कलकार रोशन मिश्र । उनले बुवाको कलात्मक चेत र असाधारण व्यक्तित्वबारे चर्चा गरे । करिव ३ दशक घरभित्रै बसेर चित्रकला र लेखनमा समय बिताएका मनुजबावुसँग सबैभन्दा धेरै समय बिताएको सन्तानका रुपमा चिनाए आफैलाई । ‘त्यसैले पनि बुवाका थुप्रै अस्वभाविक व्यवहार र जीवनशैलीलाई नजिकबाट देख्न पाएँ’, रोशनले भने ।

मनुजबाबुले हरेक विहान उठेर आफ्नो स्टूडियोको ऐनामा हेर्दै आफ्नै चित्र कोर्ने रोचक प्रसङ्ग जोडेका थिए रोशनले । ती चित्रकलाहरूमा कहिले चाउरिएको गाला देखिन्थ्यो त कहिले कान । त्यस्तै उनले आफ्नो हरेक जन्मदिनमा आफ्नै चित्र कोर्ने र त्यसमा शुभकामना सन्देश लेख्ने गरेकोबारे जानकारी दिए । ८३ औं वसन्त पार गर्नुअघि भने उनले जन्मदिन आउनुभन्दा दुई साता अगावै चित्र कोरेर आफ्नै लागि सन्देश कोरेका रहेछन् । भने,’त्यो वर्ष अगाडि नै जन्मदिनमा गर्ने कर्म पूरा गर्नुभयो । हामी पनि अचम्मित भयौं। त्यही चित्र उहाँको अन्तिम कला बन्यो । आफूलाई नास्तिक बताउने मिश्रका चित्रकलाहरूमा भने देवताहरूको अनेक स्वरुप देख्न पाउने रोशनले बताए ।

‘उहाँको अन्तिम चित्रमा गणेश देख्न सकिन्छ । हरेक कुराको शुभारम्भमा गणेश राखिन्छ । तर त्यो त अन्त्य अघिको चित्र थियो,’ उनले भने । रोशनले बुवाले आफूलाई आवश्यक सामाग्री आफ्ना वरपर उपलब्ध वस्तुहरूको प्रयोगमा बनाउने र त्यसलाई कलात्मक रुप दिने खुबीको प्रशंसा गरे । भने, ‘बुवाका कलामा वैज्ञानिक डिजाइन हुन्थ्यो ।’

दैनिक बाह्र घण्टा स्टुडियोको कुनामा बसेर बिताउने, कपाल पनि आफै काट्ने, अस्वस्थताका बाबजुद ट्याक्सी लिएर कहिले मेलम्ची त कहिले कलंकी बाइपास घुम्ने मिश्रका अनेक रहरहरू बारे खुलाए रोशनले । भने, ‘बुवा आमा र मोनालिसा दुवैको चित्र आँखा चिम्लिएर बनाउन सक्नुहुन्थ्यो । त्यसैले उहाँले कोर्नुभएका मोनालिसाका चित्रहरूमा मेरी आमाले लगाउने धोती र गहना हुन्थे ।’

मिश्रले ५०–६० जना कलात्मक हस्तीहरूको चित्र बनाएको स्केचबुकबारे पनि रोशनले खुलाएका छन् । जसमा मदनमणि दीक्षितसहित नारायण गोपाल, पारिजात, गोपाल योन्जन, लैनसिंह बाङ्देललगायतको चित्र र मिश्रकोसँगै उनीहरूको पनि हस्ताक्षर रहेको बताएका छन् । ‘मलाई लाग्छ बुवाको जीवनको निकै महत्वपूर्ण कामहरूमध्य यो एक हो’, रोशनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width