कोरोना कालपछिको नेपाली सिनेमा

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष १४, २०७७

पाेखरा । कोभिड–१९ महामारीपछि नेपाली सिनेमा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ । विश्व सिनेमा बजारले यो अवधिमा ६० प्रतिशतभन्दा बढी आर्थिक घाटा भएको देखाउँछ । नेपाली सिनेमा उद्योगको अवस्था योभन्दा पनि नाजुक रहेको जानकारहरू बताउँछन् । त्यो क्षति के कति भन्नेबारे ठोस तथ्य भने हामीसँग छैन ।

अर्कोतिर महामारीपछि सिनेमा क्षेत्रको चुनौती र नयाँ सम्भावनाबारे पनि पर्याप्त बहस भएको छैन । यही सन्दर्भमा पोखरा साहित्य महोत्सवको दोस्रो दिन दिउँसो निर्देशक मीन भाम, अभिनेत्री प्रियंका कार्कीसँग र निर्देशक तथा सिनेमा व्यवसायी भाष्कर ढुंगानाका साथमा पत्रकार तथा समीक्षक यज्ञशले अन्तक्र्रिया गरे ।

पोखराको सराङकोटमा भएको अन्तक्र्रियामा अभिनेत्री प्रियंका भने प्रत्यक्ष उपस्थित नभई भर्चुअल्ली जुमबाट जोडिएकी थिइन् । ‘कोरोनाकालमा आर्थिक हिसाबले सिनेमा उद्योगलाई कति घाटा लाग्यो होला ?’ प्रस्तोता यज्ञशले छलफलको उठान यही प्रश्नबाट गरे ।

उनको जवाफमा भाष्करले भने, ‘हामी प्रायः हाम्रो देशको राष्ट्रिय चरित्रबारे छलफल गर्दा रहेछौं । विज्ञान वा विश्लेषणमा चल्दैनौं । त्यसैले हामीसँग तपाईंले सोधेको प्रश्नको जवाफ दिने डाटा नै छैन ।’ यही राष्ट्रिय चरित्रका कारण सिनेमा क्षेत्रको आर्थिका घाटाको डाटा पनि उपलब्ध हुन गाह्रो भएको उनले बताए । ‘हामी एकदमसँग अन्दाजमा चल्ने समाज हो,’ उनले भने ।

सिनेमा क्षेत्र कोरोनाका कारण सबैभन्दा पहिला बन्द र सबैभन्दा अन्तिम खुल्ने क्षेत्र हो । झन्डै नौ महिनापछि सरकारको अनुमति नकुरी गत शुक्रबारदेखि व्यवसायीहरूले आफ्नै पहलमा सिनेमा हल खोल्न थालेका हुन् । झन्डै नौ महिना छायांकन र हल सञ्चालनलगायत प्रायः काम ठप्प भएको आधारमा भाष्करले नेपाली सिनेमा उद्योगको ९५ प्रतिशत काम बन्द भएको उनको भनाइ छ । यति हुँदाहुँदै पनि सरकारले यसलाई अतिप्रभावित क्षेत्रको सूचीमा नराखेको गुनासो पनि उनले गरे।

सिनेमा क्षेत्रका प्राविधिकदेखि व्यवसायीसम्म असर पारेको कुरामा निर्देशक मीन पनि सहमत भए । तर उनले यो समयमा सर्जकहरूले आफ्नो काममा परिस्कार ल्याउन मद्दत गरेको पनि बताए । उनले आफ्नै उदाहरण दिँदै भने, ‘यो समयमा माथिल्लो डोल्पा, उपल्लो मनाङका पहिला घुम्दा छुटाएका ठाउँहरूमा घुम्न गएँ । आफ्नै फिल्मको पटकथा पुनर्लेखन गर्ने अवसर पनि पाएँ ।’ कालो पोथीबाट चर्चा कमाएका निर्देशक मीन भाम आफ्नो आगामी सिनेमा चिसो वर्ष (अ इयर अफ कोल्ड) को तयारीमा छन् । चिसो वर्षको पटकथाले ७५ हजार युरा (करिब १ करोड ३ लाख रुपैयाँ) बराबरको पुरस्कार जितिसकेको छ । उक्त पुरस्कार टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो सिनेमा पु¥याउन सफल मीनले कोरोनाकालमै नयाँ सिनेमाका लागि थप स्पोन्सर र आर्थिक वृत्ति खोज्न समय दिएको बताए । महोत्सवको यो सत्रमा प्रियंकाको मीनले जस्तै अप्ठ्यारो परिस्थितिलाई सिर्जनात्मक अवसरका रुपमा उपयोग गर्ने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘कोरोनापछि दुइटा लेखें । ४५ मिनेटको फिल्म छायांकन गरें । डिजिटल प्लाटफर्म पनि एक्सप्लोर गरेँ ।’

लकडाउन अवधिमै प्रियंकाले आफ्नै घरको भान्सामा खानाका परिकार बनाएर युट्युब च्यानलमा अपलोड गरिन् । भनिन्, ‘निष्क्रिय बसिनँ । आफूलाई सक्रिय र सकारात्मक राख्न जेजति गर्न सकिन्छ, गरे । सम्भव पनि रहेछ ।’ कोरोनाकालपछि निजी जीवनमा आएका चुनौती र परिवर्तनबाहेक उनले समग्र सिनेमा क्षेत्रको समस्याबारे पनि आफ्ना धारणा साटिन् । भनिन्, ‘हामीले अभिनय गरेका सिनेमा हललाई लक्षित गरी फिल्म बनाइएको हुन्छ । हल बन्द हुँदा यसले धेरैलाई आर्थिक रुपमा प्रभावित गरेको छ ।’

संसारका अरु देशको सिनेमा उद्योगमा सुधार देखिन थाले पनि हाम्रो अवस्था अझै अड्किइरहनुपरेको चिन्ता पनि उनको थियो । कोरोनाकालपछि सिनेमा उद्योगको संकट डरलाग्दो भए पनि व्यवसायी भाष्करले पनि केही सकारात्मक कुराहरू महसुस गरेका रहेछन् । ‘फिल्म जगतमा जोडिएका व्यवसायीदेखि प्राविधिकलाई यो संकटले हामी कति धेरै एकअर्कामा अन्तर्निभर रहेछौं भन्ने बुझायो । नेपाली फिल्म उद्योग डुब्यो भने आफू पनि डुब्ने कुरा धेरैलाई थाहा दियो,’ उनले भने ।

तर यो बुझाइ मात्रै पर्याप्त नहुने भन्दै उनले यो सिकाइबाट हामी सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिए । यतिबेला धेरैले कोरोनाले सिनेमा क्षेत्रको क्षतिबारे जोड दिइरहेका छन् । तर समीक्षक यज्ञशले छलफलका क्रममा कोरोना नआएको भए नेपाली सिनेमा क्षेत्रले फड्को नै मारिसकेको हुन्थ्यो त भन्ने गुणात्मक प्रश्न पनि उठाए ।
उनको यो प्रश्न कलात्मक सिनेमामा जोड दिने मीन भामतर्फ लक्षित थियो । ‘हिजो कोभिड नआउँदा नै ९५ प्रतिशत सिनेमा बजारमा फ्लप थिए । सिनेमाको बजार र कलात्मक सौन्दर्यका हिसाबले एकदमै फेलियर स्टेजमा थियौं हामी,’ जवाफमा मीनले भने ।

आर्थिक हिसाबले मात्रै नभई ‘एस्थेटिक लस’लाई पनि ध्यान दिनुपर्नेमा मीनले जोड दिए । उनले यो सिनेमाको क्राफ्ट, कथावाचन शैली, अभिनय र बजार बिस्तार सबै पक्षबारे गम्भीर भएर सोच्ने यो उपयुक्त समय भएको बताए । मीनको कुरामा भाष्करले भने थोरै असहमति जनाउँदै सिनेमा उद्योग चल्न व्यवसायिक र कलात्मक सबै खालका सिनेमा चाहिने तर्क गरे । यसका लागि सिनेमा उद्योग फस्टाउनु पर्नेमा भने भाष्कर र मीनको मत एउटै थियो ।

संवादको पहिलो खण्डलाई प्रस्तोता यज्ञशले वक्ताहरूलाई कोरोनाकालमा आएका परिवर्तन र संकटबारे केन्द्रित राख्ने प्रयास गरेका थिए । दोस्रो खण्डमा भने उनले यस क्षेत्रको सम्भावना र अवसरका कुरा उप्काए । पछिल्लो समय सिनेमाको डिजिटल प्रदर्शन र दर्शक बढिरहेका छन् । यसले सिनेमा हेर्ने दर्शकको रुचि र स्वादमा पनि तीव्र हेरफेर ल्याइरहेको छ । हलमा फिल्म प्रदर्शन नसकिएका बेला केही नेपाली सिनेमा ओटिटी (ओभर द टप) माध्यमबाट प्रदर्शन गर्ने प्रयास पनि भए।

तर यसले डिजिटल माध्ययमा नेपाली सिनेमाका दर्शक बढाउन र बजार बिस्तारमा कस्तो योगदान देला ?

यसबारे मीनले भने, ‘हालसम्मको अभ्यास हेर्दा ओटिटी ले दर्शक र पहुँच त बढाउँला तर रेभिन्यू जेनेरेट भएको छैन । थोरै टेवा देला तर यसले सिनेमाको लगानी धान्न सक्दैन ।’ यज्ञशले व्यवसायी भाष्करलाई भने डिजिटल माध्यमबाट सिनेमा हेर्ने बानी बढिरहेकोले सिनेमा हलमा गएर हेर्ने दर्शक पनि घट्ने हो कि भन्ने प्रश्न तेस्र्याए ।

‘हलमा मान्छे आउँदैनन् भनिए पनि संसारमा विश्वयुद्ध, गृहयुद्ध, स्पेनिस फ्लु, प्रविधिको विकास, टेलिभिजनको आविष्कारले पनि हलमा दर्शक आउन रोक्न सकेनन्,’ भाष्करले भने, ‘हल साथीभाइ, परिवारको ह्युमन सेन्टिमेन्ट जोड्ने ठाउँ हो । त्यसैले कोरोना आउँदैमा सिनेमा हलमा दर्शक आउन रोकिँदैन ।’