पोखरा ।
नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण मंगलबार पोखराको सराङकोटमा सुरु भएको छ । औपचारिक उद्घाटन सत्रमा अर्थशास्त्री विश्व पौडेलले ‘साहित्यको अर्थ’ विषयमा विद्वत्प्रवचन दिए । विद्वत्प्रवचनमा उनले नेपालमा साहित्यलेखनको सुरुवात र त्यसले अर्थतन्त्रमा पारेका प्रभावका विषयमा बोले ।
त्यसपछिको सत्रमा मदन पुरस्कार विजेता उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँसँग पत्रकार राजकुमार बानियाँले ‘महारानीको राजनीति’ शीर्षकमा छलफल चलाए । मदन पुरस्कार पाउनुअघि लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनामसरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट एकै पटक नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए । लेखक स्वयंलाई चकित पार्ने यो पुरस्कार उनी हाल बस्दै आएको सहर पोखराका लागि पनि ‘सरप्राइज’ भयो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाशकै शब्दमा उनले मदन पुरस्कार जितेको खबर ‘पोखराका लागि हर्ष न विस्मात्’ सरह भयो ।
लेखक चन्द्रप्रकाशले मदन पुरस्कारपछि पोखराको प्रतिक्रियाबारे बताए । पत्रकार राजकुमार बानियाँसँगको अन्तर्संवादमा उनले भने, ‘मदन पुरस्कार पुरस्कार पाएपछि विभिन्न संस्थाले छलफल आयोजना गर्नुभयो । त्यसबाहेक पोखराले अझै पनि मलाई चिन्दैन, गुमनाम नै छु ।’
उनले ‘महारानी’ को चर्चा आफ्ना लागि अनपेक्षित भएको समेत बताए । ‘पुरस्कृत होला भन्ने कल्पनै थिएन,’ उनले भने । म्याग्दी, पुलाको भीरमुनि जन्मेका चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्तीलगायत सामग्रीमा उनको पहुँच थियो ।
‘कर्मठ केटीहरु’ सत्रमा सोचाइकी प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा, खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक आयुषी केसी र अलोइ टेक्नोलोजिजी सहसंस्थापक सोनिका मानन्धरसँग आभाष्ना पाण्डेले संवाद चलाइन् ।
तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्र्स, नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन् । यसमा खाली सीसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु । निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण साखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं ।’
बोनिता र सोनिकाले चाहिँ युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए । ‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बीबीसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे । अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन् ।’ बिबिसीको सूचीमा परेपछि आफूलाई वाग्मती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन् ।
‘के सम्पदा, के बसोबास’ सत्रमा सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरी र वास्तु एवम् ग्रामीण विकासविज्ञ मिलन बगालेसँग वृत्तचित्र निर्माता आलोकसिद्धि तुलाधरले बहस गरे । यो सत्रमा संस्कृति मासिँदा हाम्रो जीवनशैली कसरी अगाडि गइरहेको छ, मौलिक सम्पत्तिलाई बेवास्ता गर्दा दीर्घकालीन विकासमा कसरी नकारात्मक असर परिरहेको छ भन्नेबारेमा छलफल भयो ।
विकासका नाममा हाम्रो परम्परागत जीवनशैली जसरी परिवर्तन गरिएको छ, त्यसले एक किसिमले बाहिरबाट हेर्दा विकास देखिए पनि अन्तस्करणबाट विनाशको बाटो लिइरहेकोबारे चर्चा भयो । भूकम्प एवं प्राकृतिक विपत्तिले जहिले पनि मानिसलाई सही जीवनपद्धति अपनाउन र सोहीअनुसारको भौतिक संरचना निर्माण गर्न प्रेरित गर्ने उनीहरुको भनाइ थियो । तर नेपालको सन्दर्भमा त्यो त्यति नअपनाइएको उनीहरूले बताए । यो सत्रमा डोजर विकासले पौराणिक बस्तीलाई ध्वस्त पार्न लागको अवस्थाबारे पनि चर्चा भयो ।
‘कोरोनापछिको सिनेमा’ सत्रमा फिल्मकर्मी भास्कर ढुंगाना, मीन भाम र प्रियंका कार्कीसँग पत्रकार यज्ञशले छलफल गरे । यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले फिल्म क्षेत्रमा पारेको प्रभावका विषयमा चर्चा भयो । नेपाली फिल्मक्षेत्रलाई केकस्ता चुनौती थपिए, त्यसबाट निकास पाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा उनीहरुले चर्चा गरे । यो सत्रका वक्ताहरुले प्रविधिका कारण सिनेमा क्षेत्रमा परिरहेको प्रभाव र नेपाली सिनेमाको विश्वव्यापीकरणका लागि गर्नुपर्ने अनि चाल्नुपर्ने कदम एवम् कामका विषयमा पछि छलफल गरे ।
फेस्टिभलको अर्काे सत्र थियो, ‘पढ्ने–पढाउने हुटहुटी ।’ यो सत्रमा कारागारमा पुस्तकालय निर्माण अभियन्ता हरि खनाल, लेखक बिकेश कविन र विद्यार्थी मनुश्री महतसँग पत्रकार स्वेच्छा राउतको कुराकानी भयो । यो सत्रमा विशेषगरी पठनपाठनको महत्व र यसको प्रभावबारे अन्तर्संवाद भयो । किन पढ्ने, पठन संस्कृतिको विकासले समाज विकासमा केकस्तो प्रभाव पार्छ भन्नेलगायत विषयमा पनि उनीहरुले चर्चा गरे ।
‘कोरोनाले गलाएको जनस्वास्थ्य’ सत्रमा सहभागी रहे, संक्रामक रोग विशेषज्ञ चिकित्सक डा. अनुप सुवेदी, डा. अनुप बास्तोला, डा. रोलिना धिताल र पत्रकार सोविता गौतम । यो सत्रमा विशेषगरी कोभिडले मानव जीवनमा पारेको सकारात्मक एवम् नकारात्मक प्रभावबारे छलफल भयो । नेपालमा कोभिडले जनस्वास्थ्यलाई गलाएको होइन, हामीलाई पाठ सिकाएको हो । विश्वका अरु मुलुकले जनस्वास्थ्यको क्षेत्रमा राम्रो गरिरहेको र नेपालले भने प्रभावकारी काम गर्न नसकेको उनीहरुको भनाइ थियो । जनताको स्वास्थ्यका लागि विभिन्न नीतिनियम बने पनि प्रभावकारी हुन नसकेको विषयमा पनि चर्चा भयो । त्यसैले कोभिडबाट पाठ सिकेर भविष्यमा आउन सक्ने अन्य महामारीका लागि पूर्ण तयारीका साथ जुझ्न तयार हुनुपर्नेमा उनीहरु सबैले जोड दिए ।
मंगलबारको अन्तिम सेसन ‘अद्भुत व्यक्तित्व, आधारण लेखन’ रह्यो । यसमा मनुजबाबु मिश्रबारे उनका सुपुत्र रोशन मिश्र र मदनमणि दीक्षितबारे साहित्यकार एवं दीक्षितकी सुपुत्री इल्या भट्टराईले बोले । उक्त अवसरमा रोशनले कलाकार मनुजबाबुको कलाकारिता, उनको जीवनशैली एवम् लेखन आदि विविध पाटोमा आधारित रहेर आफ्ना विचार राखे । मनुजबाबुको लामो समयको गुप्तवासका रोचक प्रसंग पनि उनले खोतले । साथै भट्टराईले पनि दीक्षितको जीवनशैली, उनको योगदान र जीवनका फरकफरक पाटोका विषयमा चर्चा गरिन् । दुवै व्यक्तित्व असाधारण एवम् अद्भुत रहेको उनीहरुको निष्कर्ष थियो ।
फेस्टिभलको औपचारिक उद्घाटनअघि सोमबार साँझ गजल मेहफिल कार्यक्रम राखिएको थियो । फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ । साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउँछ ।
साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको हाम्रो अनुभव छ । नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि पनि फेस्टिभलले टेवा पु¥याउने हामीले विश्वास गरेका छौं ।
दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा पनि थपिएको हाम्रो अनुभव छ ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१