ओली कदमविरद्ध देशभर कांग्रेसको प्रदर्शन

आदर्श समाज संवाददाता
पौष १४, २०७७
nepali congrash kaski 1

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले सोमबार देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले देशका १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णयबमोजिम सोमबार प्रदर्शन गरेको हो ।

दमौलीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनले देशको अस्तित्व नै खतरामा परेको बताएका छन् । तनहुँ क्षेत्र १ को विरोध सभालाई दमौलीमा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तोकिएको समयमा चुनाव नभएमा यो देश हिंसाको अखडा बन्ने दाबी गरे ।

‘देश र संविधान नै फाल्ने दुराशयले संसद विघटन गरिएको छ’, उनले भने, ‘देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षड्यन्त्र हुँदैछ ।’ संसद विघटन राष्ट्रको दूरगामी अहितका लागि भएको उनले बताए । ‘नेपाललाई पाकिस्तानको रुपमा पु¥याउन भयानक षड्यन्त्र छ । यो षड्यन्त्रको भण्डाफोर हुनुपर्दछ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरे तापनि संविधानको संरक्षक भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने उनको धारणा छ । देश विकास गर्न जनताले दुइतिहाइ मत दिएर पठाएका प्रधानमन्त्रीले तमासा देखाएको पौडेलले आरोप लगाए ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको अधिकार खोसेर यस्तो कदम चाल्दा देशमा ठूलो दुर्घटना भएको बताए । उनले दुइतिहाइ सरकारले केही विकास पनि गर्न नसकेको आरोप लगाए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले कांगे्रस चुनावसँग नडराएको स्पष्ट पारे ।

पार्टीका नगरसभापति शान्तिरमण वाग्लेले ४ महिनाभित्रै निर्वाचन नहुने दाबी गर्दै सरकारको अलोकतान्त्रिक कदम हट्नुपर्ने समेत बताए । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले ओलीको हरेक कार्य असंवैधानिक रहेको टिप्पणी गरे । सोमबार तनहुँ क्षेत्र २ मा पनि विरोध प्रदर्शन भएको छ । प्रदर्शनपछि आयोजित सभालाई नेता प्रदीप पौडेललगायतले सम्बोधन गरेका थिए ।

यसैबीच कास्कीमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा फरक फरक विरोध प्रदर्शन भयो । कास्की कांग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा कास्की क्षेत्र १ को अर्घौंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट जुलुस सुरु गरिएको थियो । सबै क्षेत्रका विभिन्न स्थानबाट पार्टीका नेता तथा कार्यकर्तासहितको जुलुस सभामा परिणत भएको थियो । क्षेत्र १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोधसभा भएको हो ।

विरोधसभाका वक्ताले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस सडकमा आउन बाध्य भएको बताए । क्षेत्र १ को विरोध सभामा कांग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले प्रधानमन्त्री ओली राजाभन्दा पनि तानाशाह भएको आरोप लगाए । ओलीले चालेको कदम जनविरोधी भएको भन्दै उनले त्यस्तो असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दोस्रो विश्वयुद्धपछि जर्मनमा हिटलरले चालेको कदमले अन्तिम अवस्थामा आएर आफै पतन भएको तथ्य प्रस्तुत गरे । पूवमन्त्री यज्ञबहादुर थापाले हिटलर शैलीमा संसद विगठन गरी दुइतिहाइको सरकारले जनताले दिएको मर्त अनादर गरेको आरोप लगाउँदै यो शैलीले नेपालबाट कम्युनिस्ट नै नास हुने अवस्थामा पुगेको ठोकुवा गरे । कार्यक्रम क्षेत्रीय सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको हो । यसैबीच, कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेसले संसद विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिविरुद्ध र संविधानको रक्षाको लागि विरोध प्रदर्शन जारी राखिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width