दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र

साधन राम्जाली
पौष १३, २०७७
eye upchar kendra

म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका –६, दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो ।

जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाइ छ । दरबाङ बजारमा प्राथमिक उपचार केन्द्र स्थापना भएछि सहज भएको देविस्थानबाट आएका आँखा रोगी यमन पुनले बताए ।

दरवाङमा आँखा उपचार केन्द्र स्थापना भएपछि मालिका, धवलागिरी, मंगला र छिमेकी जिल्ला बागलुङको पश्चिम भेगमा रहेको तमानखोला गाउँपालिका बासीहरुलाई समेत सुविधा पुग्ने नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपकोषाध्यक्ष मोतिराज गौतमले बताए ।

पहिले जस्तो आँखा सम्बन्धी सामान्य समस्या हुँदा समेत बेनी, बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हट्ने रेडक्रस सोसाइटी उपशाखा फूलबारीका सहसचिव अमृत सापकोटाले विश्वास व्यक्त गरे ।

केन्द्रबाट आँखा परिक्षण, उपचारका साथै सुपथ मूल्यमा औषधी र चस्मा वितरण सम्बन्धी सुबिधा उपलब्ध हुँदै आएको केन्द्र प्रमुख सबिना बरालले बताइन् । उनका अनुसार, जटिल रोगका बिरामीलाई पोखरा र छिमेकी जिल्ला बागलुङको उपल्लाचौर रिफर गरिएको छ ।

५० रुपैयाँ सेवा शुल्क तोकिएको केन्द्रमा ज्येष्ठ नागरिकहरुका लागि निशुल्क नामदर्ताका साथै १ महिनाभित्र दोस्रो पटक आउने बिरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

जिल्ला शाखाको सहयोगमा दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको बताउँदै उपचार केन्द्रलाई दीर्घकालीन बनाउन र व्यवस्थापनका लागि रेडक्रस दरबाङ उपशाखाले पनि स्थानीय तहसँग समन्वय गर्ने सचिव हिराबहादुर पुनले बताए । उनले सहयोगको लागि अपिल गरे पनि गाउँपालिकाले बेवास्ता गरेको गुनासो व्यक्त गरे ।
सहयोगका लागि वडा कार्यालयलाई पनि आग्रह गरिएको बताउँदै उपचार केन्द्र सञ्चालनका लागि आफूहरुले स्थानीयवासी लगायत विभिन्न संघसंस्थालाई पहल गर्ने र सहकार्य गर्ने उनको भनाई छ ।

जिल्ला सदरमुकाम बेनीमा रेडक्रस सोसाइटीको साथै नेत्रज्योति संघ र बेनी अस्पतालले पनि आँखा उपचार सेवा दिइरहेका छन् । यस अघि बाहिर जान नसक्ने गरिब, विपन्न र अशक्तहरुले शिविर कुरेर बस्नुपर्ने समस्या थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width