‘दूधगाउँ’ ढिकुरपोखरी

श्रीभद्र पौडेल
पौष १२, २०७७
dhikurpokhari

मराउँचेका किसान बलराम पौडेल गाईलाई दानापानी दिँदै । तस्बिर: श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा । ढिकुरपोखरीवासी आफ्नो गाउँलाई दूधगाउँको पहिचान दिन लागिपरेका छन् । खेतीकर्ममा बाँदर र असिनाले सताएपछि उनीहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् । गाउँलेहरुले मिनी जर्सी र होलिस्टेन जातका गाई तथा मुर्रा क्रस र स्थानीय जातका भैंसी पाल्न थालेका छन् ।

मराउँचेका किसान बलराम पौडेलले आफूहरु यतिबेला ढिकुरपोखरीलाई दूधगाउँ बनाउने उद्देश्यसाथ पशुपालनमा होमिएको बताउँछन् । अर्का किसान इन्द्रप्रसाद अधिकारीले दूध बिक्रीबाट वार्षिक साढे ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउँदैआएको बताए । दैनिक १ सय लिटर दूध उत्पादन गर्ने उनको लक्ष्य छ ।

पौडेल र अधिकारीजस्तै ढिकुरपोखरीका सयौं घरपरिवार किसान यतिबेला व्यावसायिक दूध उत्पादनमा होमिएका हुन् । सो अभियानमा स्थानीय नागडाँडा दुग्ध उत्पादक सहकारी संस्थाले सहजीकरण गर्दै बजारीकरण व्यवस्था गरेको छ ।

संस्थाले सहरको पैसा गाउँ ल्याउन भूमिका खेलेको सहकारीका व्यवस्थापक यमप्रसाद अधिकारीले जनाए ।
ढिकुरपोखरी क्षेत्रभर ६ स्थानमा दुग्ध संकलन केन्द्र स्थापना गरेको छ । जसमा दैनिक करिब ५ सय घरपरिवार किसानले २ हजार ५ सय लिटर दूध संकलन गर्दै आएका छन् । संकलित दूध प्रशोधन गरी पोखरामा बिक्री हुँदै आएको छ ।

दूधको गुणस्तर कायम राख्दै परिणाम बढाउन किसानलाई उन्नत जातका डालेघाँस, भुइँघाँस, जै घाँसका बिउँबिरुवा वितरण, नाम्ले जुकाको निःशुल्क औषधि वितरण तथा कृत्रिम गर्भाधानलाई प्रोत्साहन गरिएको छ । त्यस्तै, गोठ तथा भकारो सुधार, उत्पादन आधारमा पशु सेवा विज्ञ केन्द्रसँग अनुदान माग तथा गाउँपालिकासँग पनि सहकार्य गरिएको छ ।

सहकारीमा ६ सय ३१ घरपरिवार किसान आवद्घ छन् । तीमध्ये मराउँचेका युवराज पौडेलले सबैभन्दा बढी दैनिक ४० लिटर दूध बेच्छन् । ढिकुरपोखरीमा हाल ५० बढी फार्म रहेको अनुमान छ । ढिकुरपोखरी हालको अन्नपूर्ण गाउँपालिका वडा १ देखि ३ सम्मको भाग पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width