गण्डकीमा प्रचण्ड–नेपाल समूहको बैठक, पातलो उपस्थिति, बहुमतको दाबी

प्रकाश ढकाल
पौष १२, २०७७
maoist

पोखरा । बहुमत सदस्यको उपस्थिति दाबी गर्दै गण्डकी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) समूहको विस्तारित बैठक बसेको छ । एक सय ८७ जनाको प्रदेश कमिटिमध्ये शनिबार पोखरामा भएको बैठकमा ९२ जनाको उपस्थिति उठाइएको नेकपा गण्डकीका कार्यालय सचिव आशमान रोकाले दाबी गरे ।

अध्यक्ष र सचिव गरी प्रदेश कमिटी १ सय ८९ सदस्यीय छ । जसमा कास्कीका उदय बस्नेत र नवलपुरका कुलचन्द्र महतोको मृत्यु भइसकेको छ । सचिव रोकाका अनुसार प्राविधिक कारण देखाएर नआउने ५ जना छन् । प्रचण्ड समूहले बहुमत सदस्यको उपस्थिति भएको दाबी गरे पनि उपस्थिति भने सार्वजनिक गरेको छैन ।

कार्यक्रमको उपस्थिति पनि निकै पातलो थियो । केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यसहित २ सय १६ जना गण्डकी प्रदेशबाट नेकपामा प्रतिनिधित्व गर्छन् । तीमध्ये १ सय १० जनाको उपस्थिति भएको केन्द्रीय सदस्य श्रीमाया थकालीले जानकारी दिइन् । मुस्ताङका सत्यनारायण शेरचन, मनाङका लक्ष्मी लामा र देवबहादुर गुरुङ विशेष कारणले सहभागी नभए पनि प्रचण्ड पक्षले आफ्नै समूहमा गणना गरेको छ ।

प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमको अध्यक्षतामा बैठक बसेको हो भने सञ्चालन नेपाल समूहकी नेता श्रीमाया थकालीले गरेकी थिइन् । पूर्वमाओवादीतर्फका नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद शर्मा गैह्रे (पारस) ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । केही तटस्थ बसेका छन् ।

तर ओली समूहले बैठकमा बहुमत सदस्यको उपस्थिति नभएको बताएको छ । प्रदेश सचिव गोविन्द नेपालीले नेकपाको आधिकारिक बैठक सोमबार बस्ने भएकोले शनिबारको बैठक अवैध भएको बताए ।

प्रदेश कमिटीमा साविक नेकपा एमालेका १ सय ३ र साविक माओवादीका ८६ जना सदस्य थिए । ओली समूहले सोमबार दिउँसो १ बजे पोखराको साइमन पार्टी प्यालेसमा प्रदेश कमिटी बैठक बोलाएको छ । स्रोतका अनुसार सुरुमा यसलाई प्रदेश कमिटी बैठक नाम दिइएको थियो । पछि कोरम नपुग्ने डरले विस्तारित बैठक भनिएको हो ।

शनिबारको बैठकमा स्थायी कमिटी सदस्य देव गुरुङ, देवेन्द्र पौडेल र चूडामणि जंगलीले सम्बोधन गरे । उनीहरुले तल्ला तहमा बैठक र भेला गर्दै पार्टीलाई पुनर्जीवन दिने कार्यक्रम अघि बढाउन निर्देशन दिए । बैठकले आइतबार ११ वटै जिल्लामा जिल्लास्तरीय भेला र बैठक डाँकेको छ ।

२१ देखि २५ गतेसम्म वडा समूहको बैठक, ३० गतेसम्म जनवर्गीय मोर्चा र जनप्रतिनिधिको भेला गर्ने निर्णय गरेको छ । यस्तै, १४ गते सबै जिल्लामा जुलुस र सभा गर्ने निर्णय भएको छ । संसदीय दलको बैठकबारे कुनै निर्णय भएको छैन ।

बैठकमा नजान ओली समूहको उर्दी
नेकपाको प्रचण्ड–नेपाल समूहले आइतबार प्रदेशका ११ वटै जिल्लामा जिल्लास्तरीय बैठक बोलाएको छ । बैठकमा उपस्थित हुन सूचना जारीसमेत गरिएको छ । तर ओली समूहले यो आधिकारिक बैठक नभएकोले उपस्थित नहुन उर्दी जारी गरेको छ । कास्की अध्यक्ष कृष्ण थापाले नेकपाको आइतबार कुनै बैठक नभएको भन्दै सहभागी नहुन फेसबुकमार्फत उर्दी लेखे ।

‘सचिवले अध्यक्षलाई नसोधी बैठक भनेर बोलाउनुभएछ । बैठक बोलाउने अध्यक्षले पो हो त,’ आदर्श समाजसँग उनले भने, ‘मैले नेता कार्यकर्तालाई जानकारी गराएको हो । नेकपाको आधिकारिक बैठक आइतबार छैन ।’ शनिबारको प्रदेशस्तरीय विस्तारित बैठकमा समेत नजान प्रदेश कमिटी सचिव गोविन्द नेपालीले फेसबुकमार्फत सूचना हालेका थिए ।

सांसदले गरे कित्ताकाट
यहि बैठकबाट गण्डकी प्रदेशका सांसदहरुले कित्ताकाट गरेका छन् । प्रदेशसभाका १२ सांसद बैठकमा उपस्थित भएका छन् । सभामुख नेत्रनाथ अधिकारी पूर्वमाओवादीतर्फका भए पनि उनको मर्यादाका कारण पार्टीको बैठकमा सहभागी हुन मिल्दैन । त्यसो त नेकपाको ओली समूहले उपसभामुख सिर्जना शर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । पछि चौतर्फी विरोधका कारण त्यो निर्णय सच्याइएको छ । पूर्वमाओवादीतर्फका ११ (सभामुखबाहेक) र माधवकुमार नेपालनिकट मानिएका इन्द्रलाल सापकोटा बैठकमा उपस्थित भएका थिए ।

बादल समूह भनिए पनि कानुनमन्त्री हरिबहादुर चुमान, दीपा रोका र चन्द्रबहादुर बुढासमेत बैठकमा सहभागी भए । ‘हिजो कसको साथ लागेर आयो भन्ने कुराले अहिले कुनै अर्थ राख्दैन । अहिलेको अवस्था हेर्दा पूर्वमाओवादीका सबै साथीहरु एक ठाउँमा हुनुहुन्छ,’ मन्त्री चुमानले भने, ‘गण्डकी प्रदेशमा हाम्रो बेमेल छैन । यताउति पनि गर्दैनौं ।’

संसदीय दलको बैठक १३ गते
नेकपाले पुस १३ गते संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक मायानाथ अधिकारीले सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थिति हुन मोबाइल म्यासेज गरेका हुन् । सोमबार दिउँसो ४ बजे नदीपुरमा बस्ने बैठकको एजेन्डा भने पठाइएको छैन । स्रोतका अनुसार पार्टीको विभाजनपछि यो बैठकले सरकारको आयुबारे छलफल गर्ने छ ।

प्रचण्ड–नेपाल समूह भने बैठकमा उपस्थित हुनेनहुने निष्कर्षमा पुगेको छैन । ‘बैठक बोलाएका छन् । हामी जानेनजाने कुनै टुंगो छैन,’ चुमानले भने, ‘अब हाम्रो दल हामी बनाउँछौं । वहाँहरुको उतै छ । छुट्टाछुट्टै चलौं भनेर त जानकारी गराइदिनुपर्‍यो नि !’  उनले १३ गतेअघि नै छुट्टै संसदीय दल बनाउने संकेत गरेका छन् ।

प्रमुख सचेतक अधिकारीले नियमित बैठक भनेका छन् । ‘कांग्रेस, जसपाले विशेष अधिवेशन मागेका छन् । अब हिउँदे अधिवेशन चल्ने समय पनि भयो,’ उनले भने, ‘अलिअलि अहिलेको विषयमा छलफल हुन्छ । विशेषतः अधिवेशनकेन्द्रित छलफल नै हुन्छ ।’ उनले समूहगत नभई एकीकृत बैठक आह्वान गरेको बताए । ‘कोही टाढा भएर नआउने होला । कोही योजनागत रुपमै नआउने हुनुहोला,’ उनले भने, ‘अरु कुरा वहाँहरुले जान्नुहुन्छ । बैठकमा सबैलाई बोलाएको छु ।’ कांग्रेसको दलको बैठक यसअघि नै बसेर कसैलाई विरोध वा समर्थन नगर्ने जनाइसकेको छ । उता, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको बैठक बसेको छैन ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width