मुख्यमन्त्री गुरुङ भन्छन् : प्रतिनिधिसभा ब्युँतिदैन, सूर्य चिह्न हाम्रै हाे

प्रकाश ढकाल
पौष ११, २०७७
cpn photo

तस्बिर : सुमन गुरुङ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित पार्टीमा संस्थापनको लडाइँ चलिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनाव चिह्न र पार्टी ओली समूहकै हुने दाबी गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत आफूसँग भएकोले आफूहरु संस्थापन दाबी गरिरहेका छन् । सोही बहुमत आधारमा उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही समेत गरे र नयाँ अध्यक्षमा माधव नेपाललाई नियुक्त गरेका छन् । संसदीय दलको नेतामा समेत ओलीलाई हटाएर प्रचण्डलाई मनोनीत गरे । नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज समेत रहेका गुरुङले विधानअनुसार आफूहरु संस्थापन भएको दाबी अघि सारे ।

‘पार्टीको विधानमा बहुमत र अल्पमतको कुरा समावेश छैन । एकता महाधिवेशनसम्म सबै कुरा सहमतिमा गर्ने भनिएको छ,’ उनले भने, ‘अहिले बखेडा झिकेर आफ्नै प्रधानमन्त्रीलाई हटाउन जालझेल गर्ने कसरी संस्थापन पक्ष हुन्छ ? संस्थापन पक्ष हामी हो ।’ दुवै पक्षको दाबी अहिले निर्वाचन आयोगमा विचाराधीन छ । पार्टी संचालन र विवादको बुँदालाई हेरेर आयोगले आफूहरुलाई संस्थापन घोषणा गर्ने उनको विश्वास छ ।

राष्ट्रिय युवा संघको पोखरा भेलालाई सम्बोधन गर्दै उनले पार्टी संस्थापनको समस्या सुल्झिने वित्तिकै ओली समूहमा आकर्षण बढ्ने बताए । ‘टाउको धेरै थोरै हुन सक्छ । राजनीतिमा विचार शक्तिशाली हो,’ उनले भने, ‘सूर्य चिह्न पाउने त हामीले हो । एक पटक सूर्य चिह्न पाउने स्थिति बनोस् त, सबैको भकारी रित्तिन्छ ।’

गुरुङले संसद कुनै पनि हालतमा पुनस्र्थापना नहुने तर्क गरे । ‘संसद विघटन गरेर राजालाई बुझाएको हो ? सेनालाई बुझाएको हो ? संकटकाल लगाएको हो ? सार्वभौम जनतामा जान्छु भन्नु कसरी अलोकतान्त्रिक भयो ?,’ उनी भन्छन्, ‘सरकार चलाउने कुरामा घेराबन्दी गरेर अविश्वासको प्रस्ताव ल्याउनेदेखि यावत कुरा गैरअनुशासनको कुरा हो । कुनै हालतमा संसद पुनस्र्थापना हुँदैन ।’ प्रचण्ड–नेपाल समूह सत्ताको लोभमा फसेर देशमा अस्थिरता सिर्जना गर्न लागिपरेको उनको आरोप छ ।

‘हामी जुन ठाउँमा उभिएका छौं, हामीसँग धेरै बलियो धरातल छ । यो गुनासो गर्ने बेला होइन, नेतृत्वले जे निर्णय गर्छ त्यसलाई पालना गर्ने हो,’ कार्यकर्तालाई उनले भने, ‘अब कमरेड प्रचण्ड, कमरेड माधवले दुख दिन नपाउने गरी १ नम्बरको पार्टी बनाउनुपर्छ । हामीले चुनाव जित्छौं ।’ सडक आन्दोलन गर्दैमा सत्ता र पार्टी हत्याउन नसकिने भन्दै उनले चुनावलाई सामना गर्न विपक्षी समूहलाई चेतावनी दिए । ‘प्रचण्डजीले बुझ्नुपर्ने हो कि सडक आन्दोलन गर्दैमा प्रधानमन्त्री बन्न सकिँदैन,’ गुरुङले अघि थपे, ‘प्रधानमन्त्रीले मध्यावधि घोषणा गरेर बाटो खोलिदिनुभएको छ । चुनावको सामना गर्नुस् ।’

संघको राजनीतिक खिचातानीले प्रदेशमा एकता भंग गर्न नहुने उनको भनाइ छ । ‘संघमा जे सुकै गरोस् । विकासको यो अभियान, निर्माणको अभियान, समृद्धिको अभियान गण्डकी प्रदेशमा नमुना बनेको छ,’ उनले भने, ‘यो नमुना नभत्काऔं । नमुना भत्काएर कसैको हितमा छैन । यही ओली नेतृत्वको नेकपाको संसदीय दलमा रहेर प्रदेश सरकारलाई अगाडि बढाउन अनुरोध गर्दछु ।’ गुरुङले जनयुद्धका मुद्दा ओलीकै नेतृत्वमा टुंगिने भन्दै साथ दिन पूर्वमाओवादीहरुलाई अपील गरे ।

नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचनबाट नतर्सिन विपक्षी समूहलाई चेतावनी दिए । संवैधानिक अदालतबाट प्रधानमन्त्रीले प्रस्तुत गरेको संसद विघटन प्रस्ताव पास हुने दाबी गर्दै उनी सडकबाट चिच्याएर सरकार र संसद कब्जा गर्न नसकिने तर्क गर्छन् । उनले विपक्षी समूह सडकछाप प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति बन्न माइतीघर गएको आरोप लगाए । ‘चैतमा महाधिवेशन थियो ।

पुसमा पार्टी फोर्नु भयो,’ उनले भने, ‘३ महिनापछि पार्टीको आधिकारिक एकल अध्यक्ष बन्न छोडेर माधव कमरेड सडकछाप अध्यक्ष बन्न माइतीघर पुग्नु भएको छ । २ वर्षपछि प्रधानमन्त्री बन्ने प्रचण्ड आज सडकछाप प्रधानमन्त्री बन्नुभएको छ । कुन ताकतले शक्ति दियो, २ वर्षपछि राष्ट्रपति बन्ने बाटो छोडेर झलनाथ सडकछाप राष्ट्रपति बन्नुभयो ? अब सडकछाप मन्त्रीमण्डल पनि बन्ला ।’

उनले नेकपा र एमाले एउटै भएको तर्क गरे । ‘जताततै युवाले एमाले जिन्दावादको नारा लगाउनुभएको छ । यसो नगर्नुस् भन्नुभएको छ केही साथीहरुले,’ उनले थपे, ‘एमाले सिद्धार्थ गौतम हो । नेपाल कम्युनिस्ट पार्टी गौतम बुद्ध हो । सिद्धार्थ गौतम भने पनि त्यही हो, गौतम बुद्ध भने पनि त्यही हो । त्यसकारण एमाले नभन भन्नु आवश्यक छैन ।’ सूर्य चिह्नमा लोभ नगर्न प्रचण्ड–नेपाल समूहलाई उनको आग्रह छ । ‘तपाईंहरु सडकमा पनि जानुहुन्छ, निर्वाचन आयोगमा पनि जानुहुन्छ । अनि कसरी सूर्य चिह्नमा लोभी नजर लगाउने ?,’ उनी भन्छन्, ‘सूर्य चिह्नमा आँखा नचम्काउनुस् । हिम्मत छ भने हँसिया हथौडा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा आउनुस् ।’

अर्का केन्द्रीय सदस्य खगराज अधिकारीले प्रचण्ड माधव समूहले विदेशी शक्तिको आडमा आन्दोलन गरेको आरोप लगाए । पार्टी फुटाएर गएकाहरुको भविष्य नभएको उनको भनाइ छ । ओलीले प्रस्तुत गरेको मितिमै मध्यावधि चुनाव हुने र त्यसलाई कसैले पनि रोक्न नसक्ने अधिकारीले बताए ।

गण्डकी प्रदेश सांसद राजीव पहारीले विपक्षी समूह बाटो बिराएर सडकमा भौतारिएको बताए । राष्ट्रिय युवा संघले विवादपछि पहिलो पटक पोखरामा प्रदेशस्तरीय भेला गरेर ओलीको समर्थनमा कार्यकर्ता उतारेको हो । साथै जिल्ला र पालिकास्तरीय भेला नियमित सञ्चालन गर्न थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width