काेभिडमा पत्रकार : संक्रमणसँगै गुम्याे जागिर

आदर्श समाज संवाददाता
पौष १०, २०७७
journalist corona experience

पोखरा । कोरोना संक्रमित पोखराका पत्रकारले कोरोनाभन्दा मानसिक पीडा बढी रहेको अनुभव सुनाएका छन् । उनीहरुले संकटमा हाम्रो जीवन कहाँनेर छ भन्ने प्रश्नले सधैं घचघच्याइरहेको बताए ।

आउटलाइन मिडियाले ‘कोभिड–१९ मा पत्रकारिताको अवस्था र अनुभव’ विषयमा शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले आफू संक्रमित हुँदाको अवस्था र भोग्नुपरेको कठिनाइ बिर्सेर अन्य संक्रमितका समस्या र पीडा उजागारमा लागेको पनि बताए ।

पत्रकार अमृत सुवेदीले आफ्नो समस्या बिर्सेर अन्य नागरिकका समस्या र पीडाको अवस्थामा कलम चलाइरहेको बताए । उनले भोगाइमा थिचिएको बेला फेरि अर्को संक्रमितका कथाव्यथा र समस्या लेख्दा थप पिरोल्ने गरेको अनुभव सुनाए । उनले संकटमा हाम्रो जीवन कहाँनेर छ भन्ने प्रश्नले सधैँ घचघच्याइरहेको बताए

पत्रकार गोविन्द सुवेदीले कोरोना संक्रमणको कारण सबैभन्दा बढी मानसिक तनाव भोग्नु परेको अनुभव सुनाए । उनले कोभिड–१९ का बारे आममानिसको बुझाइले बढी नकारात्मक भइदिँदा संक्रमितको मनोबल गिर्दै गएको बताए । असहज परिस्थितिमा सञ्चारमाध्यमले पत्रकारलाई जागिरबाट निकाल्नु र बेतलबी बिदामा राखेर थप मानसिक पीडा दिने गरेको बताए ।

फोटोपत्रकार राधिका कँडेलले मानसिक तनाव भुल्न निद्रा लाग्ने औषधिको सहारा समेत लिनुपरेको बताइन् ।
पत्रकार कविता श्रेष्ठले संक्रमित हुँदा सबैको साथ सहयोग र सकारात्मक ऊर्जा प्रवाह गरेर कोरोना परास्त गर्न सफल भएको अन्य संक्रमितको मनोबल उच्च राख्न मनोपरामर्शमा जुटेको बताइन् ।

अग्रज पत्रकार राजेन्द्र दाहालले कोभिड–१९ ले पत्रकारलाई मनावैज्ञानिक र आर्थिक रुपमा नै गम्भीर असर पारेको र समाचार उत्पादनमा समेत ह्रास आएको बताए । अन्य पत्रकारको अनुभवजस्तै आफू पनि कारोना संक्रमित भएर बस्दा भोगाइ साझा रहेको रहेको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सञ्चारमाध्यम रहे पत्रकार रहने र पत्रकार रहे सञ्चारमाध्यम रहने भएकाले आपसी द्वन्द्व र दूरी घटाएर सँगसँगै अघि बढ्न वातावरणको खाँचो औँल्याए ।

पत्रकार महासंघ गण्डकी अध्यक्षले त्रिभुवन पौडेलले आत्मविश्वासको साथ आफूले कोरोना परास्त गर्न सफल भएको अनुभव सुनाउँदै गण्डकीमा ६३ जना पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए । उनले संकटमा पत्रकारले जीविकोपार्जनको लागि वैकल्पिक उपायको खोजी गर्न पनि आवश्यक रहेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीमा हालसम्म ३३ जना पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए । पत्रकारको कोरोना बीमा महासंघले गरे पनि भुक्तानीमा ढिलाइ भएकोबारे महासंघले पहल गरिरहेको जानकारी दिए ।

उनले बन्दाबन्दीको समयमा पत्रकारको तलब कटौती भएको र बेतलबी बस्नुपरेको विषय बाहिर आएपनि महासंघमा ४/५ वटा मात्र उजुरी परेको र सो विषयमा सम्बन्धित सञ्चारगृहमा बसेर समस्याको समाधानका लागि पहल भएको बताए ।

आउटलाइन मिडियाका निर्देशक सरोज दाहालले सात प्रदेशका विभिन्न जिल्लामा यसखालको अन्तक्र्रिया गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width