एक्यापभित्र ढुंगा, बालुवा नझिक्न अन्तरिम आदेश

आदर्श समाज संवाददाता
पौष १०, २०७७
PokharaHighCourt

पोखरा । कास्कीकाे माछापुच्छ्रे  गाउँपालिका अन्तर्गत सेती नदी र सार्दीखोला छेउबाट ढुंगा, गिट्टी, बालुवा बिक्री नगर्न उच्च अदालत पोखराले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा गाउँपालिकाले ठेक्का लगाएर नदीजन्य पदार्थ बिक्री गर्न थालेपछि पालिकासहित ९ जनालाई विपक्षी बनाएर बुधबार रिट दर्ता भएको थियो ।

उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशबाट बिहीबर उक्त आदेश भएको हो । गाउँपालिकाले वडा नम्बर १, २, ३ अन्तर्गतको घाचोक घाट, दवाडी बगरघाट, चिन्नाबगर घाट, सार्दीखोला माछापुच्छ्रे घाटबाट नदीजन्य पदार्थ निकालेर बिक्री गर्न ठेक्का सम्झौता गरिसकेको छ ।

एक्यापको संरक्षित क्षेत्रभित्र टेन्डर स्वीकृत गरी नदीजन्य पदार्थ उत्खनन र बिक्री गर्नु कानुनसम्मत नभएको भन्दै उत्प्रेषणयुक्त परमादेश, निषेधाज्ञा माग गर्दै रिट दायर भएको हो ।

निवेदकतर्फका कानुन व्यवसायी नारायणप्रसाद पौडेल, आनन्दहरि घिमिरे र विष्णुप्रसाद शर्माको बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

यो विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई पुस १६ गते बोलाएको छ । निवेदकको माग वमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कानुनसम्मत आधार कारण भए बाटो म्यादवाहेक १५ दिनभित्र विपक्षीले लिखित जवाफ पेस गर्न अदालतले भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width