‘क्रिसमस डे’ मनाइँदै   

रासस
पौष १०, २०७७
the-christmas-tree-1081321_1280

काठमाडौ‌ं ।  इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् ।

डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए। विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ । यसैले आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ ।

पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ । विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिन्छ । पर्यटक आउने ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width