उच्चका न्यायाधीश सिलवाल अख्तियारमा, आचार्य अवकाश

आदर्श समाज संवाददाता
पौष ८, २०७७
Kishor+Binod

पोखरा । उच्च अदालत पोखराका २ न्यायाधीशको बिदाइ गरिएको छ । कामु मुख्य न्यायाधीश किशोर सिलवाल र न्यायाधीश विनोदमोहन आचार्यको मंगलबार बिदाइ गरिएको हो ।

आचार्यले ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् । सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सिफारिस भएका छन् ।

संवैधानिक आयोगमा सिफारिस भएपछि सिलवालले न्यायाधीशबाट राजीनामा गरेका हुन् । संवैधानिक परिषदको मंसिर ३० को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव प्रेमकुमार राई, आयुक्तमा जयबहादुर चन्द र न्यायाधीश सिलवाललाई सिफारिस गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सिफारिस न्यायाधीश किशोर सिलवाल काठमाडौं स्कुल अफ लका संस्थापकसमेत हुन् ।

कुनै समय पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुनका प्राध्यापक रहेका उनी कानुनी क्षेत्रमा प्राज्ञिक व्यक्तित्व मानिन्छन् । उच्च अदालतमा अझै ३ वर्ष काम गर्ने अवसर उनलाई थियो । तर अख्तियारको आयुक्त भएपछि उनले अख्तियारमा करिब ५ वर्ष बिताउने छन् ।

२०१४ साल पुस ७ गते कास्कीको सार्दिखोलामा जन्मिएका आचार्यले ३९ वर्ष न्यायसेवामा बिताएका छन् । २०३८ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका उनी अधिकृत, उपसचिव, जिल्ला न्यायाधीश हुँदै उच्च अदालतको न्यायाधीश भएका हुन् । सुब्बामा ५, सरकारी वकिलमा १५, जिल्ला न्यायाधीशमा १६ वर्षको अनुभव हाँसिल गरेका उनी ४ वर्ष उच्च अदालतको न्यायाधीश भए ।

आचार्य २०५८ सालमा जिल्ला न्यायाधीश र २०७४ मा उच्च अदालतको न्यायाधीश भएका थिए । सुरुमा उच्च अदालत पाटनमा सेवा गरेका उनी जनकपुर हुँदै २०७६ भदौमा पोखरा सरुवा भएका हुन् । उनले नेपालको न्याय व्यवस्थाको संक्षिप्त रुपरेखा र लेख रचनाको संगालो गरी २ पुस्तक पनि निकालेका छन् ।

मंगलबारै आचार्यको नेपाल बार एसोसिएसन कास्की अदालत र उच्च अदालतले पनि बिदाइ गरेका थिए । उच्च अदालतमा आचार्य र सिलवालको बिदाइमा कामु मुख्य न्यायाधीश नारायण श्रेष्ठ, न्यायाधीशहरु प्रमोदकुमार वैद्य, रमेशराज भण्डारी, डालकुमार खड्का र रजिस्ट्रार श्रीलाल पौडेल लगायत सहभागी भए ।

Related News

सम्बन्धित समाचार

hero news full width