पत्रकारकाे दुखमा महासंघले भूमिका नखेलेकाे आराेप

आदर्श समाज संवाददाता
पौष ४, २०७७
FNJ Mustang

मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रममा अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासँग सहकार्य गर्न आफूहरु तयार रहेको जनाए ।

अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारिता आफैैमा चुनौतीपूर्ण भएको र यहाँको पत्रकारितालाई थप उचाइमा पुर्‍याउन पत्रकारको संख्या वृद्धि गर्नेतर्फ शाखाले भूमिका खेल्नुपर्ने बताए । पत्रकारले गरेको प्रत्येक सूचना सम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका बेथिति, विकृति, विसंगति र विकास निमार्णमा भएका राम्रा र नराम्रा पक्षको उजागर गरी समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाइ थियो ।

पत्रकारहरुको छातासंस्था पत्रकार महासंघ मुस्ताङ शाखालाई आगामी दिनमा आवश्यक परेको अवस्थामा आर्थिक, भौतिक र रचनात्मक सहयोग गर्ने अध्यक्ष थकालीले प्रतिबद्धता जनाए ।

शाखा अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक तथा चालु कार्यकालको विस्तृत प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे । प्रतिवेदनमा शाखाले मुस्ताङको समग्र विकास र सुशासन कायम गर्ने तथा जिल्लाका पत्रकारलाई परेको समस्यामा शाखाले सहकार्य गर्दैआइरहेको बताए । अध्यक्ष थकालीले सुगमको जस्तो पत्रकारिता हिमाली जिल्लामा सहज नभएको उल्लेख गर्दै यसैका कारण क्षेत्रमा आउने नया पिढीको रुचि कम पाएको जनाए ।

पत्रकार महासंघको वार्षिक सदस्यता शुल्क हिमाली जिल्लाका लागि चर्को भएकाले हिमाली जिल्लालाई ५० प्रतिशत महासंघले सहुलियत दिनुपर्ने उनले सुझाए ।
शाखाका सदस्य राजु सेन्चुरीले पत्रकार महासंघले पत्रकार हकहित, सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादनलाई चुस्त बनाएको उल्लेख गरे । कार्यक्रम सञ्चालन पत्रकार सुशीलबाबु थकालीले सञ्चालन गरेका थिए ।

साधारण सभामा पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र शाखाका कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । साधारण सभाले कोभिड—१९ को जोखिमको बेला पत्रकारले स्वास्थ्य सामग्री उपलब्ध गराउन महासंघले ध्यान नदिएको र कोभिड—१९ संक्रमणकालमा मिडिया हाउसबाट पत्रकारको पेसा धरापमा परेको र कतिपयले पारिश्रमिक नपाएको अवस्थामा महासंघले उपयुक्त भूमिका खेल्न नसकेको ठहर गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width