जलकुम्भी झारबाटै आर्जन

Avatar आदर्श समाज सम्वाददाता
पौष ४, २०७७

पोखरा । पर्यटकीय नगरी पोखरा तालैतालको सहरले पनि चिनिन्छ । फेवातालसहित यहाँका ९ ताल रामसार सूचीमा सूचीकृत भइसकेका छन् । तर ती तालमा उम्रिने जलकुम्भी झार टाउको दुखाइको विषय बनेको छ ।

बर्खायाममा त्यही जलकुम्भीले ढाक्दा ताल नै कुरुप देखिन्छ । झार हटाउन प्रदेश सरकार, पोखरा महानगर र सरोकारवाला निकायले बेलबखत रकम छुट्टाउनेदेखि स्थानीयले स्वयंसेवा गर्छन् । जलकुम्भी छिटो फैलिने झार भएका कारण तालबाट हटाए पनि व्यवस्थापन समस्या छ । त्यही झार सदुपयोग गर्दै महिलाहरुले हस्तकला तथा सजावट सामग्री बनाएर मनग्य आम्दानी लिने गरेका छन् ।

तीनै मध्येकी एक हुन्–पोखरा मालेपाटनकी विष्णु उचै ठकुरी । २०७२ सालमा कास्की पोखरा हस्तकला संघले जलकुम्भी झारबाट हस्तकलाका सामग्री बनाउने तालिम दिएपछि उनले झारबाट हस्तकलाका सामग्री बनाउँदै आएको बताइन् । यतिमात्र नभई आफैले नमूना हस्तकला फर्मसमेत सञ्चालन गरेकी छिन् । साथै हस्तकलाका सामान बनाउने तालिम पनि दिन्छिन् । भन्छिन्, ‘सबै पक्षबाट म सन्तुष्ट छु तर मेसिन नहुनाले जलकुम्भीबाट रेशा अर्थात आवश्यक कच्चा पदार्थ हातले निकाल्न गाह्रो भएको छ । हामीलाई केही सहयोग भए आफ्नो सीपलाई निरन्तरता दिने थियौं ।’

पूर्णिमा रिजाल हस्तकलाको तालिम लिनुभन्दा पहिले निजी विद्यालयमा अध्यापन गराउँथिन् । पढाउन छोडिन् र यतै रमाइन् । ५ वर्षअघि १५ दिनसम्म तालिम लिएकी उनले हाल पद्मावति हस्तकला उद्योगमा काम गर्छिन् । आफ्नो कामबारे प्रतिक्रिया दिँदै पूर्णिमा भन्छिन्, ‘कामअनुसारको पारिश्रमिक पाउँदा खुसी छु । त्यसैले म जस्तै अन्य महिला दिदीबहिनी पनि बेरोजगार हुनुहुन्छ या खाली समय छ भने तालिम लिएर आयआर्जनमा लाग्न सल्लाह दिन्छु ।’

विष्णु र पूर्णिमा झैं पोखराका केही महिलाहरु जलकुम्भी झारबाट पनि हस्तकलाका सामान बनाएर आत्मनिर्भर बनेका छन् । उनीहरुले तालबाट निकालेर फालिएको झारबाट ढकिया, कलम दानी, डस्टबिन, व्यागलगायत सजावटका सामान बनाउँछन् । घरायसी काममै दिन बिताउने गरेका महिलालाई फुर्सदको समयमा आयमूलक कार्यमा यसले सहयोग मिलेको छ ।

उद्यमशीलतामा लाग्न प्रेरित गर्ने कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले अन्य हस्तकलाका सामान जस्तै जलकुम्भी झारबाट निर्मित सामान पनि आकर्षक, गुणस्तरिय, बलियो र राम्रो भएकाले बजार माग पनि बढेको बताउँछिन् । स्थानीयस्तरमै निशुल्क पाइने जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाउन थालेपछि घरायसी काममा मात्र सीमित र निम्न आयस्तर भएका महिलाहरुले सीप सिकेर स्वरोजगार बनेको उनको भनाइ छ । उनका अनुसार सीप हुने महिला सामग्री तयार पार्छन् । बिक्री गर्छन् । तर सीप नहुनेले तालबाट जलकुम्भी निकालेको समयमा पारिश्रमिक लिएर जलकुम्भीबाट आवश्यक कच्चापदार्थ निकाल्न सहयोग गर्छन् ।

पद्मावती हस्तकला उद्योग सञ्चालकसमेत रहेकी भट्टराईले भन्छिन्, ‘काम गर्ने ईच्छाशक्ति हुने महिलालाई निःशुल्क तालिम दिएर पोख्त बनाई कच्चापदार्थसमेत उपलब्ध गराउँछौ र सामान उत्पादन गरिसकेपछि हामीले नै सामान किन्छौं । जसले गर्दा निर्मित सामान कहाँ बिक्री गर्ने भन्ने चिन्ता हुँदैन ।’ स्वउद्यमी बन्न चाहनेलाई विशेष प्राथमिकतामा राखेर काम दिने सो संस्थाले कारागारमा बन्दी महिलालाई समेत अवसर दिएको उनको भनाइ छ ।

यता, पोखरा महानगरपालिकाले पनि महिलाको आर्थिक विकासका लागि ‘उपमेयरसँग महिला कार्यक्रम’ राखेको छ । जसमा एकल महिला, दलित, हिंसा तथा द्वन्द्वपीडित र आर्थिक रुपमा विपन्न महिला सो कार्यक्रममा सहभागी हुन सक्नेछन् । साथै कोभिड–१९ महामारीको बेला रोजगारी गुमाएका महिलाको क्षमता तथा सीप विकास भनी कार्यक्रम ल्याएको महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । उनका अनुसार काम गर्ने महिलालगायत समस्यामा परेका महिलालाई सो कार्यक्रममा समावेश गरिन्छ ।

यस्तै, फेवाताल संरक्षण पूर्व आयोजना प्रमुख तथा पोखरा महानगरका इन्जिनियर महेन्द्र गोदारले बर्सेनि समस्याका रुपमा देखिएको जलकुम्भी हटाउन पहिले १५÷२० लाख खर्च हुने गरेकोमा जलकुम्भी हटाउने मेसिन ल्याएपछि अचेल एक÷डेढ लाखमै जलकुम्भी हटाउन सकिएको बताए । उनले जलकुम्भीको जरा र पातबाट राम्रो कम्पोष्ट मल बनाउन सकिने पनि बताए । त्यसको उचित व्यवस्थापनका लागि महानगरले केही समयअघि सूचना निकालेमा कुनै पनि सम्पर्कमा नआएको जनाए ।

प्रमुख समाचार