क्रिकेटमा कास्कीकाे विजयी सुरुआत

आदर्श समाज संवाददाता
पौष ४, २०७७
cricket 2

पाेखरा । पोखरामा शुक्रबारदेखि सुरु प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा कास्कीले विजयी सुरुआत गरेको छ ।

उसले स्याङ्जामाथि ७ विकेटको जित निकालेको हो । पहिले व्याटिङ गरेको स्याङ्जाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको सामान्य योगफल तयार पारेको थियो ।

विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान ३ विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ, र विपीन खत्रीले समान १ विकेट झारे । जितका लागि १ सय २० रनको लक्ष्य लिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेट क्षतिमा जित हात पारेको हो ।

अभिषेक थापाले अविजित ४३ र सुदीप पौडेलले २१ रनको योगदान दिँदा अर्जुन कुमालले २२ रन बनाए । प्रतियोगितामा कास्कीका विश्व कार्की प्लेयर अफ द
म्याच भए । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा १० ठूला क्रिकेट मैदान निर्माण क्रममा रहेको जानकारी दिँदै ४÷५ वर्षभित्र सातै प्रदेशमा
अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दाबी गरे ।

गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको जानकारी दिए । आयोजक गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष देवेन्द्र प्रजुले क्रिकेट विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width