माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

आदर्श समाज संवाददाता
पौष २, २०७७
machhapuchhre bank

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा बिहीबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

जसमध्ये, चुक्तापुजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट बैंकले सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सिर्जना कार्की भट्टराईलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले २२ औं साधारण सभा समाप्त गरे सँगै बिहीबारबाटै आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैंयाँ ९६ पैसा कायम गरेको थियो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक आफ्ना १ सय ६० वटा शाखा लगायत १ सय ४१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३ सय १ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २ सय वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width