म्याग्दीकाे कुइनेमंगलेमा ठूलोखोला जलविद्युत् योजना

आदर्श समाज सम्वाददाता
पौष २, २०७७
MAYAGDI HYDRO

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढाँचा र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिए ।

उनका अनुसार रघुगंगा नदीस्थित फेदीखोलामा मुहान रहने आयोजनामा तीन हजार ३७७ मिटर लामो सुरुङमार्गबाट ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदिको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्रयाकलाई छरी हुँदै अगाडि बढाइसकेको छ । यस आयोजनामा करिब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ । आयोजनाले पहुँचमार्ग, आवासगृह निर्माणसँगै आवश्यक जग्गा प्राप्तिको कामलाई समेत अघि बढाएको व्यवस्थापक अधिकारीले बताए ।

तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणमा जुटेको सो आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गा प्राप्ति भइसकेको र बाँकी रहेको जग्गा प्राप्तिको काम अघि बढाइएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहोराले जानकारी दिए ।

उनका अनुसार सरकारी जग्गा उपभोगका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ । आयोजना निर्माणपूर्वका पूर्वाधार निर्माणका लागि अहिले दैनिक ४० देखि ५० जनशक्ति परिचालन गरिएको छ भने पहुँचमार्गलगायतका पूर्वाधार तयार गर्न तीन डोजर र एकक ब्याकहुलोडर मेसिन परिचालन गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनः जलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्को समेत अध्ययन भइरहेको छ । रघुगङ्गा नदीको चिमखोलामा टुँडी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्को समेत ठेक्का लगाइसकेको छ । रघुगंगा नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width