तालबाराही मन्दिर खुल्यो, डुंगा चालक औधि खुसी

आदर्श समाज संवाददाता
पौष २, २०७७
RADHIKAKANDEL_Pokhara_RSS_02_20201217081521_IMG_0551

कोभिड– १९ कारण नौ महिनादेखि बन्द रहेको पोखराको ताल बाराही मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएपछि पूजा सामग्री किन्दै दर्शननार्थी । तस्वीरः राधिका कँडेल, रासस

पोखरा ।  फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि बिहीबारदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

‘लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौं । पर्यटक आउने विश्वास छ ”, उनले भने । उनले मन्दिर प्रवेशका लागि भौतिक दूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पूजारि मार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुंगा चालकले खुसी व्यक्त गरेका छन् । दश वर्षदेखि डुंगा चलाउँदै आएका बाबुराम पुरीले भने, ‘मन्दिर बन्द हुँदा डुंगा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरैजसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनका लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ ।’ उनले लामो समय कोभिड– १९ को असरमा परेका डुंगा चालक अब चहलपहल बढ्छ कि भन्ने आशा रहेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ ले ठप्प रहेको यहाँको पर्यटन अब विस्तारै लयमा फर्कन थालेको बताए । ‘हामीले संघ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटकपटक आग्रह ग¥यौं, उहाँहरू सकारात्मक हुनुभयो । आजबाट बाराही मन्दिर खुला भएको छ अब अरु मठमन्दिर र पर्यटकीय गन्तव्य पनि खुल्नेछन्,’ उनले भने ।

उनले पोखरा आसपासका पर्यटकीय गन्तव्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास व्यक्त गरे । ‘कोभिड –१९ को भयबाट माथि उठेर स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित पर्यटकीय गतिविधि गर्नुको विकल्प छैन,’ उनले भने, ‘अब पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिएर बाह्य पर्यटकसम्म पनि पु¥याउनुपर्छ ।’ उनले पर्यटन व्यवसायीलाई विस्थापन हुनबाट जोगाउन सरकारले ल्याएको राहत प्याकेज छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width