पर्वतकाे सालिजामा आलु भण्डारण गृह

आदर्श समाज संवाददाता
पौष २, २०७७
photo parbat salija

हेमजा । पर्वतको जलजला गाउँपालिका–६, सालिजामा बीऊ आलु भण्डारण गृह निर्माण गरिएको छ ।

कृषि अनुसन्धान निर्देशानलय लुम्लेले उक्त गृह निर्माण गरेको हो ।

गृहको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा वागवानी निर्देशक रामबहादुर केसी र गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा भनाई राख्दै निर्देशक केसीले गुणस्तरीय बीऊ आलुको उत्पादन गरी उत्पादकत्व बृद्घि गर्नुपर्नेमा जोड दिए । साथै उनले बाँकी कामहरु सबै सरोकारवाला मिलेर पुरा गर्नुपर्ने खाँचो औंल्याए ।

कृषि अनुसन्धान निर्देशानलय लुम्लेका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले गृह बन्नु मात्रै ठुलो नभई त्यसको संचालन, भण्डारण गरिने गुणस्तरीय बीऊ आलु उत्पादन र विविध प्राविधिक पक्ष बलियो हुनुपर्ने जनाए । त्यस्तै उनले गृह निर्माण अन्र्तगत अव गर्नुपर्ने कामका वारेमा जानकारी पनि दिए ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष मल्लले गृहलाई पूर्णता दिन गाउँपालिकाले गर्नुपर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको स्पष्ट पारे।उनले विगतदेखि नै आफ्नो क्षेत्रमा नार्क र कृषि अनुसन्धान निर्देशानलय लुम्लेले सहयोग गर्दै आएकोमा आभार समेत जनाए ।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष हमबहादुर फगामीले पनि भनाई राखेका थिए ।

भवन निर्माण समितिका अध्यक्ष मीनबहादुर पुर्जाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कृषि अनुसन्धान निर्देशानलय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width