बेस्ट फाइनान्सको सिइिओमा भण्डारी

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष १, २०७७

पोखरा । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन् । उनले पुस १ गतेबाट कार्यभार सम्हालेका छन् ।

भण्डारीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको फाइनान्सले बताएको छ । यस अघि कुमारी बैंकमा कार्यरत उनी केही समय अघि स्वेच्छिक अवकाश लिएर त्यहाँबाट बाहिरिएका थिए ।

कुमारी जानुअघि उनी काष्ठमण्डप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । काष्ठमण्डपसँग सेती फाइनान्स, काँक्रेबिहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारीमा गाभ्न भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका भण्डारीको मर्जरमा छुट्टै दक्षता छ ।

बेस्ट फाइनान्समा पनि उनलाई मर्जर गराउने एउटा सर्तसहित लगिएको हो । बेस्ट फाइनान्समा दोस्रो तहका गैरआवासीय नेपालीहरुको लगानी छ । भण्डारीलाई एक वर्ष भित्र फाइनान्सको खराब कर्जा ५ प्रतिशत भन्दा तल झार्नुपर्ने सर्तसहित नियुक्त गरिएको हो । अहिले फाइनान्सको १२ प्रतिशत हाराहारी खराब ऋण रहेको छ ।

यस बाहेक नोक्सानीमा रहेको संस्थालाई नाफामा लैजानुपर्ने सर्त पनि सञ्चालक समितिले राखेको छ । अहिले सञ्चिति नोक्सान ३० करोड छ । यो ऋणको नोक्सानी ब्यवस्थापन गरिसकिएको छ । साथै संस्थालाई फाइनान्स कम्पनी वा क्षेत्रीय स्तरको विकास बैंकसँग गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गराउनुपर्ने जिम्मा पनि सञ्चालक समितिले उनलाई दिएको बताइएको छ ।

संस्थाको अहिले १४ वटा शाखा कार्यालय छन् । करिब ३ अर्ब निक्षेप र साढे २ अर्ब ऋण लगानी रहेको छ । यस अघि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी थिए ।

 

प्रमुख समाचार