सरकारविरुद्ध देशभर प्रदर्शन

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७७
congress

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकारविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । सरकार आन्तरिक किचलोको दलदलमा फसेर जनपक्षीय काम गर्न नसकेको भन्दै काँग्रेसको केन्द्रीय समिति निर्णयअनुसार देशका ७७ वटै जिल्लामा काँग्रेसले विरोध प्रदर्शन गरेको हो । जिल्ला–जिल्लाका विरोध प्रदर्शनलाई काँग्रेसका शीर्ष तहका नेता लगायतले सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार जनविरोध रहेको भन्दै तत्काल निकासको माग गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरको आन्दोलनलाई सम्बोधन गर्दै सडक प्रदर्शन काँग्रेसको रहर नभै सरकारले आन्दोलको लागि बाध्य बनाएको टिप्पणी गरे । उनले सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको पनि आरोप लगाए । सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आलोचना गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गरे । उनल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र व्यवस्थालाई कमजोर बनाउन लागिपरेको आरोप लगाए ।

कास्कीमा भएको प्रदर्शनमा सहभागी काँग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले सम्बोधन गरेका थिए । उनले यो आन्दोलन कम्युनिस्ट सरकारविरुद्ध काँग्रेसको ‘चौथो आन्दोलन’ को संज्ञा दिए । नेता केसीले विगतमा राणा, पञ्चायत र राजा फालेको काँग्रेसले कम्युनिष्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले भने, ‘अहिलेको आन्दोलन कास्टिङमात्र हो, चौथो आन्दोलनको लागि तयारी हुनुहोला ।’

उनले लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको आरोप पनि लगाए । कम्युनिष्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै आगामी चुनाव टार्ने रणनीति हुन सक्छ भन्दै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको पनि बताए ।

काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले कम्युनिष्टको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला आएको बताए ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाएको बताए ।

विरोधसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, काँग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डे लगायतले सरकारका गतिविधिविरुद्ध आमनागरिक सचेत हुनुपर्ने बताए ।

चिप्लेढुंगाबाट सुरु काँग्रेसको प्रदर्शन पोखरा बजार परिक्रममा गरी पृथ्वीचोकमा पुगी विरोधसभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले अहिलेको सरकारको कामकारबाहीप्रति टिप्पणी गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध समेत चर्का नाराबाजी लगाएका थिए ।

पुलले तानिएको आन्दोलन

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्लामै पुल उद्घाटन गर्न नदिँदा काँग्रेस आन्दोलनको विजारोपण भएको हो । गत मंसिर १७ मा व्यास १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकखण्डअन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता पौडेलमाथि प्रहरी प्रशासनले दुव्यर्वहार गरेको थियो । जसको चौतर्फी विरोध भयो । भलै भोलिपल्टै पौडेलले शक्ति प्रदर्शनका साथ पुल उद्घाटन गरेरै छाडे । सोही घटनाबाट सरकारविरुद्ध उब्जिएको बिउ बढ्दो भ्रष्टाचार, कोरोना भाइरसमा सरकारी असफलता, संक्रमितको उपचारमा बेवास्ता र सरकारको कार्यशैलीविरुद्ध काँग्रेसले सोमबार देशभर प्रदर्शन गरेको हो ।

तनहुँको आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल आएका थिए । उनले सम्बोधनक्रममा जनताको मतको कदर नभएको बताए । नेता रिजालले जनताले दिएको भोटले जनतामाथि नै खेलबाड भएको बताए । उनले भने, ‘जनताले दिएको भोट ५ वर्ष विकास गर्नका लागि हो, जनतामाथि खेलबाड गर्नु होईन । विधि मान्ने हो भने जनताले मान्छन् । तर विधि नमान्ने हो भने जनताले बालुटारबाट नै सत्तालाई निकालेर फालेर देखाउँछन् । ’

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले गाउँ–गाउँदेखि बजारसम्म कम्युनिष्ट सरकारको भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले भने, ‘विभिन्न आश्वासन दिएर सत्तामा पुगेको सरकार भ्रष्टाचार गर्न लिप्त छ । यो ओली सरकार विकास गर्न जान्दैन, झुटको खेतीमात्र गर्न जानेको छ । ’

तनहँु काँगे्रसका सभापति वैकुण्ठ न्यौपानेले सरकारको प्रवृत्तिविरुद्ध देशभर विरोध प्रर्दशन भएको बताए ।

जिल्ला कार्याललबाट निस्किएको विरोध र्‍याली दमौली बजार परिक्रम गरे खुलामैदानमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले काँग्रेसको झण्डा फहराउँदै ओली सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width