संक्रामक रोग अस्पताललाई सय रोपनी जग्गा माग

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७७
gandaki ministry

पोखरा । गण्डकी प्रदेश सरकारले संक्रामक रोग अस्पतालका लागि आवश्यक जग्गा नेपाल सरकारसँग मागेको छ । यसअघि लेखनाथ सामुदायिक लायन्स अस्पताल नाममा चल्दै आएको अस्पताललाई प्रदेशले संक्रामक रोग अस्पतालरुपमा विकास गरेको हो ।

अहिले त्यहाँ पूर्वाधार निर्माण गर्नुपर्ने र जग्गा अपुग भएकोले थप जग्गा मागिएको हो । वन क्षेत्रले चर्चेको जग्गामध्ये १ सय रोपनीभन्दा बढी अस्पतालका लागि मागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । उनका अनुसार त्यहाँ रहेको ५ सय ४ रोपनी जग्गामध्ये दक्षिणतर्फको १ सय रोपनी १ आना जग्गा अस्पतालको प्रयोजनका लागि मागिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका मन्त्रालय र मातहतका कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षणको लागि निर्देशिका जारी गरेको छ । यो सर्भेक्षणपछि कर्मचारी थपघट, हेरफेर र परिमार्जन गर्न सजिलो हुने छ । प्रदेशका मन्त्रालय र मातहतका कार्यालयबाट संगठन संरचना तथा दरबन्दी सर्भेक्षण गर्न सम्बन्धित मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन हुनेछ । समितिले गरेको सर्वेक्षणपछि संगठन संरचना तयार गरिने बस्नेतले बताए ।

यस्तै, प्रदेश विकास प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका लागि सिफारिस समिति गठन भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको संयोजकत्वमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा र प्रमुख सचिव विष्णुप्रसाद नेपाल सदस्यसचिव रहेको समिति गठन भएको हो । समितिले आफै कार्यविधि बनाएर उपयुक्त उम्मेदवार सरकारलाई सिफारिस गर्ने छ । ४५ दिनभित्र उम्मेदवार खोजी गरिने बस्नेतले जानकारी दिए ।

यसबाहेक स्थानीय तहको स्वयम्सेवक परिचालन कार्यविधि स्वीकृति भएको छ भने प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरिएको छ । अहिले प्रदेशभित्र अर्थतन्त्रका सबै प्रणाली आर्थिक कार्यविधि, २०७४ अनुसार चल्दै आएको छ । वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र जवाफदेही बनाउन तथा व्यवस्थित गर्न यो विधेयक तयार गरिएको सरकारले जनाएको छ । विधेयक पास भएपछि बजेट तर्जुमा, निकासा, खर्च, लेखापरीक्षणलगायत सबै काम यही ऐनअन्तर्गत हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width