पोखरा रोयलमा उत्कृष्टलाई सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
royal 2

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा शनिवार समापन भएको छ । गत मंसिर १३ देखि साधारणसभा सुरु भएकोमा १४ दिनसम्म चलेको थियो ।

समापन समारोहमा विभिन्न विधामा सदस्य र कर्मचारीलाई सम्मान गरियो । वर्ष उत्कृष्ट सुझावकर्ताको सम्मान राजकुमार अर्यालले प्राप्त गरे ।

यस्तै, वर्ष उत्कृष्ट कर्मचारी सम्मान दुलेगौँडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल, उत्कृष्ट शेयर सदस्यको सम्मान सरस्वती बराल पौडेल र किसनकुमार खनाललाई दिइयो ।

उत्कृष्ट बालबचतकर्ता सोनिया गुरुङ बनिन् । लघुवित्त समूहमा पीपलथोक रोयल केन्द्र प्रथम, लालीगुराँस रोयल केन्द्र दोस्रो र मेलमिलाप केन्द्र तृतीय भए ।

कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी ऐन र नियमावली अनुसार संस्थाले आवश्यक कोषमा रकम विभाजन गरेको हुनाले संस्थाको आर्थिक र आन्तरिक सुशासन सबल रहेको बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले पेश गरेका विशेष प्रस्ताव उपस्थित प्रतिनिधिले पारित गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष रुद्रकुमारी गुरुङले गरेकी थिइन् । कार्यक्रम संचालन मुख्य प्रबन्धक मिलन ढकालले गरेका थिए । सचिव चन्द्रप्रसाद गुरुङले सदस्यको जिज्ञासा मेटाएका थिए । कार्यक्रम संस्थाको फेसबुक पेजबाट लाइभसमेत प्रसारण गरिएको थियो । हाल संस्थामा ७ हजार ५ सय १ सदस्य छन् ।

आर्थिक वर्ष २०७६/२०७७ मा महामारी र लकडाउन बाबजुद संस्थाले ७।७१ प्रतिशतले प्रगति गर्न सफल रहेको संस्थाका अध्यक्ष मे। तुलसीप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार २०७७ असार मसान्तसम्म शेयर पुँजी १९ करोड ८७ लाख, जगेडा कोष ११ करोड ८४ लाख, निक्षेप संकलन १ अरब ३२ करोड, ऋण लगानीतर्फ १ अर्ब ४६ करोड र कुल वासलात १ अरब ८३ करोड रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width