शिर अग्ल्याउने युगान्तकारी

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७७
khim lal

गत मंगलबार नेपालको इतिहासमा युगान्तकारी दिन रह्यो । नेपाल र नेपालीको शिर अझ अग्लिएको दिन थियो, मंसिर २३ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्यो । नेपालले पहिलोपटक आफ्नै स्रोतसाधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । विगत ६५ वर्षदेखिको रेकर्ड तोड्दै सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी रहेको रेकर्ड कायम भएको हो । जसबाट विभिन्न विवाद साम्य हुन गएका छन् ।

नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अत्याधुनिक प्रविधिमार्फत गत जेठमा सगरमाथाको सफल आरोहणसहित चुनौतीपूर्ण कार्य उचाइ मापन गरिएको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका (साविक धिताल–५) निवासी गौतमको नेतृत्वको टोलीमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली संलग्न थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।

उनै गौतम काठमाडौंमा ऐतिहासिक घोषणा कार्यक्रममा सरिक भइ बिहीबार पोखरा फर्केका छन् । नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले शुक्रबार आदर्श समाजसँगकाे कुराकानीमा भने, ‘मंगलबार सगरमाथाको नयाँ उचाइ घोषणा दिन युगान्तकारी दिन हो । नेपाल आफैले सगरमाथा नाप्ने अभियानमा एउटा बिन्दुमा राष्ट्रको लागि योगदान गर्न पाउँदा हर्षविभोर छु ।’

सो ऐतिहासिक कार्य पूरा गर्न नेपाल सरकारको नापी विभागको नेतृत्वको रुपमा गौतमले नेतृत्वको जिम्मा पाएका थिए । ‘युगमा आउने एक दिन, त्यही युगान्तकारी दिन हो । मैले सबैभन्दा ठूलो चुनौतीपूर्ण काम गर्ने अवसर पाएँ । विश्वको सर्वोच्च शिखर आरोहण आफैमा चुनौतीपूर्ण काम हो । त्यसमाथि पनि त्यहाँ पुगेर काम गर्नु अत्यन्तै चुनौतीपूर्ण काम हो,’ उनले भने, ‘नेपालले आफैले इतिहास निर्माण गरेको छ । यो सगरमाथाको राज्याभिषेक समारोह हो । राज्यले अनर गरेको विषय हो । यसको अन्तर्राष्ट्रिय महत्व बेग्लै छ । यसको सामरिक महत्व छ ।’
उनका अनुसार सरकारले यो कार्यक्रमलाई निकै महत्वको रुपमा लियो । हामीले दुःख गरेको, एउटा कोणबाट गरेको योगदानलाई निकै ऐतिहासिक दिनको रुपमा हेरियो । सगरमाथाको उचाइबारे संसारमा रहेका विभिन्न विवाद अन्त्य गर्ने मामलामा यसले चिर्ने काम गरेको छ ।
‘हामीले आधुनिक प्रविधिमार्फत मापनका लागि कच्चा तथ्याङ्क संकलन गर्न जोखिम उठाएका हौं । आरोहणका लागि आरोहण गरेका हैनौं । मजा लिनलाई, फोटो खिच्नलाई त्यो आरोहण थिएन,’ उनले भने, ‘सगरमाथा आरोहण गरेर उचाइ नापेको पहिलो टोली नेपाली टोली हो । यसर्थ पनि हामीहरु गौरवान्वित छौं । यसको सामरिक महत्व छ ।’

गौतम सगरमाथाको पहिलो पल्ट पाइला टेक्ने पहिलो कर्मचारी पनि हुन् । लीलामणि पौड्यालको नेतृत्वमा गत २०६८ साल जेठ ४ मा सफल आरोहण गरेको उनीसँग अनुभव थियो । त्यसबेला १५ जनामध्ये ९ जना चुचुरोमा पुगेर फर्केका हुन् । नापीका कर्मचारी र आरोहण अनुभवी भएकोले पनि उनी यसपालि निर्विकल्प थिए । डिभाइस इक्प्युप्मेन्टसहित आरोहण गरेको गौतम नेतृत्वको टोलीले गत २०७६ जेठ ४ गते बुद्ध पूर्णिमाको दिन आधार शिविरबाट प्रस्थान गरी ७ गते चुचुरोमा पुगेर ८ गते फर्किएको थियो । त्यसबेला ३ दिनसम्म त टोलीले आरोहणक्रममा मृत्यु क्षेत्र (डेथ जोन) मा बिताएका थिए । पर्यटन विभागका अनुसार उनीहरुले आरोहण गरेको जेठ ७ गतेको बेला अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी आरोही २ सय २३ जना चुचुरोमा पुगेका थिए ।

सगरमाथाको यसअघि मापन नभएका हैनन् । किन नाप्नुपर्यो ? भन्ने पनि जिज्ञासा पनि आउला । ‘कुनै पनि कुरा सानो लाग्ला, तर त्यसले दिने अर्थको भौगोलिक र ऐतिहासिक रुपमा ठूलो महत्व हुन जान्छ । महत्व स्थापना गर्न नेपालले आफ्नै कर्मचारी पठायो । त्यसमा हामीहरु सहभागी भयौ । अन्तर्राष्ट्रियस्तरको महत्व छ । संसारभरका मिडियाले समाचार कभरेज गरेका छन्,’ कुराकानीका क्रममा गौतममा खुसीको सञ्चार भेटिन्थ्यो । तैपनि कति कति खेर उनी भावुक देखिए । आरोहण गरेर अत्यधिक खुसी बोकेर फर्किँदा यता उनले सुपुत्र गुमाए । सो द्रविभूत घटनामा उनी भावुक बने, ‘विजय र शोक एकैपल्ट आयो । अत्यधिक खुसी तथा उपलब्धि हुँदा दुःख र पीडा पनि सँगसँगै आयो ।’ उनले सगरमाथा आरोहणसँगै उचाइ मापनमा भएको सफलताबारे आफ्नो अनुभवसहितको किताब पनि लेख्दै गरेको खुलाए ।

२०६१ सालमा अमिन (खरिदार लेभल) पदबाट निजामतीमा प्रवेश गरेका उनी बढुवा नभैकन खुला प्रतिष्पर्धाबाटै उपसचिव पदमा पुगिसकेका छन् । सेवाका क्रममा नापी विभागअन्तर्गत तनहुँ, गोरखा र मुस्ताङमा उनी बसेका थिए । धितालका भीमप्रसाद र आमा प्रेमकुमारी गौतमका २ भाइ छोरा र ५ बहिनी छोरीमध्ये उनी कान्छा छोरा हुन् ।

यसरी नापियो ?
सगरमाथाको उचाइमापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको थियो । हाल यो विधि अत्याधुनिक विधि हो । यसमा पृथ्वीभन्दा करिब २० हजार किमी माथि रहेका कृत्रिम भूउपग्रहहरुको मद्दतबाट चुचुरोको अवस्थिति र उचाइ पत्ता लगाइएको हो । यसअन्तर्गत ग्राउण्ट सर्भे, प्रिसाइज लेभलिङ, ड्रिगोमेटिक लेभलिङ, ट्राङ्गुलेसन, भू–आकर्षण सर्भे, ग्लोबल नेभिगेसन सेटेलाइट सिष्टम (जिएफएसएस) लागू गरिएको थियो ।

गौतमका अनुसार करिब २० हजार किमी टाढाका कृत्रिम भूउपग्रहहरुको मद्दतबाट सगरमाथाको चुचुरोमा स्थापना गरिएको स्टेसन र त्यहाँजडित इक्प्युप्मेन्ट जुन सिग्नेल रिसिभ गरेर ती स्याटेलाइटको पोजिसन र आफ्नो पोजिसन इन्टरसेक्सन (अन्तरक्षेदन) गरी त्यहाँको परिशुद्ध, अवस्थिति र उचाइ पत्ता लगाइएको हो । उचाइ पत्ता लगाउन चुचुरोमा पुगी डाटा बोकेर फर्किएको हो । त्यो डाटा पछि कम्प्युटरमा प्रोसेसिङ गरेर सही मापन पत्ता लागेको हो । गौतमका अनुसार ग्राउन्डमै सयौं स्टेसनहरु स्थापित गरिएको थियो । त्यसको डिफ्रेन्सियल पोजिसनहरु हेर्नुपर्ने हुन्छ । त्यसको निम्ति सिरहाको माडारदेखि सगरमाथाको चुचुरो वरिपरि करिब ७८ किमी परिशुद्ध लेभलिङ सर्भे गरिएको थियो । त्यसैअन्तर्गत रहेका हिल स्टेसनहरुमा रहेका त्रिकोणमितीय सर्भे, त्यसपछि ग्राभिटेसन (भूआकर्षण नापी), बाँकी रहेका लेभलिङ लाइनमा जीपीएस सर्भे, विभिन्न सर्भे गरेर त्यसको विभिन्न डिफ्रेन्सियल पोजिसनिङ निकालेर सगरमाथा र यसको वरिपरि नेपालको क्षेत्रमा ती सर्भे गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width