सबैले मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७७
Manab Adhikar

पोखरामा बिहीवार आयोजित एक कार्यक्रमका वक्ताले सबैले मानवअधिकारको संरक्षण, सम्वद्र्धन र सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मानवअधिकार उल्लंघनविरुद्ध सञ्चार अभियान’ भन्ने मूलनाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले विश्वशान्तिको कामना र कोरोनाबाट दिवङ्गतप्रति श्रद्धासुमनका लागि आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमका वक्ताले उक्त धारणा राखेका हुन् ।

७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पारेर मानवअधिकार चोकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागार्इँले मानवअधिकार दिवस मनाइरहँदा सबैले मानवअधिकारको संरक्षण, सम्वद्र्धन र सम्मान गर्नुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलाले मानवअधिकारको रक्षा नभए कोही कसैको पनि रक्षा हुन नसक्ने धारणा राखे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय प्रमुख शिव खकुरेलले नेपालमा आएका र भएका हरेक महामारी र प्राकृतिक प्रकोपका समयमा नागरिक अधिकार उल्लंघन भएको बताउँदै यस्ता अधिकारको संरक्षण गर्न समय–समयमा राज्यलाई खबरदारी गर्नुपर्ने बताए ।

शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बरालले अहिलेको समयमा समाज र राष्ट्र आफैँ अप्ठ्यारो अवस्थामा रहेकाले मुक्तिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले हुर्जा गण्डकीलाई कोरोना कालमा सुरक्षाका लागि सचेतना सामग्री हस्तान्तरण गर्दै मानवअधिकारको विषयमा हरेक व्यक्ति स्वयम् जानकार हुनुपर्ने बताए ।

गैरसरकारी संस्था गण्डकी अध्यक्ष विना सिलवालले मानव भएर सहजरूपमा बाँच्न पाउनुपर्नेमा जोड दिइन् ।

प्रेस युनियन नेपाल कास्की अध्यक्ष नवीन सिग्देलले मानवअधिकारको विषय आफैँमा गहन भएकाले यसलाई चिरस्थायी बनाउनुपर्ने बताए ।

हुर्जा गण्डकी अध्यक्ष असफल गौतमले हुर्जाले निकट भविष्यमा मानवअधिकार क्लब स्थापना गर्ने जानकारी गराए । संस्थाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, अपाङ्ग दिवस र मानवअधिकार दिवस केन्द्रित गरेर राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा खुला अनलाइन अधिकारमैत्री मुक्तक प्रतियोगिता सञ्चालन गरिरहेको पनि सो अवसरमा जानकारी दिए ।

कार्यक्रममा हुर्जा गण्डकी सल्लाहकार राजेश पराजुलीले स्वागत र उपाध्यक्ष वीरेन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विश्वशान्ति र दिवङ्गतहरुको आत्माको चिरशान्तिका लागि १ मिनेट मौनधारण गरिएको थियो ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका विविध कार्यक्रम डिसेम्बर १० सँगै समापन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width