बुन्नै छाडियो परालको गुन्द्री

सविन लामिछाने
मंसिर २४, २०७७
gundri bundai

दमौली । मङ्सिरको पहारिलो घाम । घरछेउमै परालको गुन्द्री बुन्ने तान । तानमाथि बसेर व्यास–५, बरबोटेकी आशा थापालाई डागोमा बेरिएको हतासो तान्दै पराललाई कुदेर गुन्द्री बनाउन भ्याइनभ्याई थियो । थापाले गुन्द्री बुन्न लागेको यो दृश्य नयाँ पुस्ताको सायद नौलो लाग्न सक्दछ । किनकि पछिल्लो समय यस्तो दृश्य विरलै देखिन्छ ।

दशकअघिसम्म गाउँघरमा परालको गुन्द्रीको अधिक प्रयोग हुन्थ्यो । हरेक घरआँगनमा मंसिरमा धान थन्क्याएपछि गुन्द्रीको तान हालिन्थ्यो । खेत नहुनेले पनि जसै परालको जोहो गरेर गुन्द्री बुन्ने सुर कस्थे । तर, अचेल परालबाट बनेको गुन्द्रीको प्रयोगमा कमी आएको छ ।

गाउँघरमा परालको गुन्द्रीको सट्टा बजारमा पाइने आधुनिक उत्पादन प्रयोग बढेपछि विस्तारै लोप हुने अवस्थामा छ । गुन्द्री बुन्ने सीप पनि हराउँदै गएको छ । गुन्द्रीको प्रयोग गर्दै जिन्दगी बिताएका पुराना पुस्तालार्ई लोप हुन थालेपछि चिन्ता बढेको छ । तैपनि फ्याट्टफुट्ट गुन्द्री बुन्न बसेको दृश्य गाउँघरतिर देखिन्छन् ।

थापाको दैनिकी केही दिनदेखि तानमा हतासो ठोक्दैमा बितेको छ । घरमा आवश्यक पर्ने गुन्द्री आफैले बुन्ने उनी बताउँछिन् । ‘सकभर बजारको किन्दैनौँ’, उनले भनिन्, ‘तर गाउँमा त पहिलाको तुलनमा धेरैले बजारको प्लाष्टिक र म्याट ल्याएर बिछ्याउछन् ।’ गुन्द्री बुन्न धेरै समय लाग्ने भएकाले धेरैले गुन्द्री बुन्ने जाँगर नचलाउने उनको भनाइ छ । परालबाट गुन्द्री बुन्ने परम्परा हराएकोमा उनलाई चिन्ता छ । उनले थपिन्, ‘पहिला गुन्द्री किन्नलाई घरमै आउँथे । अहिले त बजारमा लगेर बेच्दा पनि बिक्न मुस्किल हुन्छ ।’ आफ्नो घरमा आवश्यक मात्र गुन्द्री बनाउने उनले सुनाइन् ।

पछिल्लो समयमा बजारमा पाइने नाइलन र प्लाष्टिकको गुन्द्रीहरुको प्रयोग व्यापक बढ्दै गएको छ ।

व्यास ६, डुम्रेस्वाराकी धुव्र रिमाल पनि यत्तिबेला गुन्द्री बुन्न व्यस्त छिन् । पारिलो घाम ताप्दै उनी गुन्द्री बुन्न थाल्छिन् । ‘घाम उदाएदेखि नै तानमा बसेर गुन्द्री सक्ने ध्याउन्नमा हुन्छु,’ उनले भनिन्, ‘अरु काममा नभुलिकन लाग्ने हो भने दिनमा एउटा गुन्द्री सजिलै सकिन्छ ।’

घरमा पूजाआजा, मर्दापर्दा पाहुना आउँछन् । बिछ्याउनलाई प्लाष्टिकको गुन्द्री दिए धेरै चिसो हुन्छ । परालको गुन्द्री तातो पनि हुने भएकोले जसै बुन्ने गरेको उनले सुनाइन् । पहिला बाबियोको डोरीको तान लगाएर गुन्द्री बुनिन्थ्यो । तर, अहिले सुतारीको बुनिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री राम्रो र टिकाउ हुने जानकारहरु बताउँछन् । नयाँ पुस्ताले तानमा गुन्द्री, चकटी बुन्ने सीप सिक्नमा चासो नदिएको थापाले बताइन् ।

व्यास–६, लोधकी ६० वर्षीया रीमा लामिछानेका अनुसार दशकअघिसम्म बाबियो काटेर, रातभर बाबियो बाटेर भोलिपल्ट तान लगाएर गुन्द्री बुनिन्थ्यो । अहिले भिरपाखामा बाबियो मासिँदै छ । प्रयोग पनि घट्दै । ‘पहिले बाबियो बाटेर गुन्द्री बुन्ने चलन थियो,’ उनले थपिन्, ‘अहिले त बाबियो पनि मासिदैँ गयो, सुतारीको डोरीमा गुन्द्री बुन्छौँ । पैसा भए गुन्द्री बुन्ने दुख पनि गर्न पर्दैन ।’

गुन्द्री बुन्न पहिले समथर ठाउँमा चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेस्र्याइन्छ । हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ र डोरीमा मिलाएर पराल हालेर हतासाोले ठोक्दै दायाँबायाँ हातैले बिट मारिन्छ । बिट चाहिँ आ–आफ्नो मारिन्छ । अनि त्यसपछि गुन्द्री तयार हुन्छ ।

गुन्द्री बुन्न चिसोमा दिनभरि नै टुक्रुक्क बसेर काम गर्नुपर्ने भएकोले समस्या देखिन्छ । पछिल्लो समयमा धान रोप्ने किसानले हाइब्रिड जात रोज्छन् । स्थानीय जातको धान कम फल्ने भएकाले कमै लगाइन्छ । धेरै धान फल्ने जातका धानको पराल छोटो हुने भएकोले छोटो पराल गुन्द्री बुन्ने परम्परा क्रमशः लोप हुन लागेको हो ।

अहिले गुन्द्री र थर्कटीको सट्टा बजारमा पाइने प्लाष्टिकका सामग्रीको व्यापक प्रयोग हुन्छ । ‘पहिले घरमा कोही पाहुना आउँदा नयाँ गुन्द्री झिकेर बस्न आग्रह गर्दा छुट्टै इज्जत हुन्थ्यो । हिन्दू धर्मअनुसार अझै पनि धार्मिक कार्यमा चोखो गुन्द्री चाहिन्छ,’ ८४ वर्षीया धरमबहादुर श्रेष्ठले भने, ‘अहिले घरमा पाहुना आउँदा गुन्द्रीको सट्टा कुर्सी, बेञ्च टक्रयाइन्छ । गुन्द्रीको प्रयोग त हराइहाल्यो नि ।’ नेपाली समुदायमा बिहे गरेको, घरमा जुठो–सुत्काहा परेमा गुन्द्री बुन्न नहुने जनविश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width