मानवीय सोचमा परिवर्तन आवश्यक : मन्त्री पुन

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७

पोखरा  । गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले लैंगिक हिंसा अन्त्यका लागि सबैले बानी, व्यवहारसँगै सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला मानवअधिकार रक्षक सञ्जालले सोमबार पोखराका मुस्लिम समुदायका महिलासँग गरेको प्रजनन् स्वास्थ्यमा सुरक्षित गर्भपतन सेवा र अधिकारविषयक अन्तत्र्रिmया बोल्दै सो कुरा बताएकी हुन् । उनले पितृसतात्मक सोचका कारण महिला हिंसामा परेका भन्दै महिलाहरु शैक्षिक र आर्थिक रुपमा सक्षम बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिला सृष्टिकर्ता हुन् । महिनाबिना सृष्टिको कल्पना सम्भव छैन । त्यसैले महिलामाथि हुने विभेद र हिंसा अन्त्य गर्नुपर्छ ।’

समानताका लागि आमाहरु नजाग्दासम्म समानता र प्रगतिको कामना गर्न सकिँदैन भन्दै उनले धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेका कुसंस्कार हटाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश सांसद मीना गुरुङले धर्मपरम्परामा भएका कुसंस्कार हटाउँदै अधिकार र समानताको खोजी गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हाम्रा धर्म संस्कारका कारण महिलाहरु अधिकारबाट बञ्चित भएका छन् । त्यसकारण महिला सचेतना पहिलो प्राथमिकता हो ।’

मुस्लिम अगुवा हनिफ मियाँले मुस्लिम समुदायले महिलालाई सम्मान गरेको बताए । महिलालाई संरक्षण गर्ने विषयमा विश्वले मुस्लिम समुदायबाट सिक्नुपर्ने बताउँदै उनले भने, ‘महिलालाई बुर्काले संरक्षण गरेको हो । यसले हिंसा कम हुन्छ ।’

पोखरा १३ का वडा सदस्य कृष्णकुमारी गुरुङले हिंसा घरबाटै सुरु हुने भन्दै अग्रजबाट गरिने विभेद पुस्ता हस्तान्तरण हुँदै जाँदा परम्परा कायम गरेको ठहर गरिन् ।

खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले महिला हिंसा अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।

कार्यक्रममा मुस्लिम धार्मिक क्षेत्र संरक्षण समिति सचिव आसिक इलाही, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापामगर, सञ्जालका सचिव विना पुनमगर, सदस्य नाजमीननिसा खान लगायतले बोलेका थिए ।

प्रमुख समाचार