कोरोना बिर्साउँदै पर्यटकीय गतिविधि

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७७
tourism activities in pokhara (5)

पोखरा । पोखराको पर्यटन व्यवसाय बिस्तारै तङ्ग्रिने तरखरमा छ । कोरोना महामारीले झण्डै १० महिनासम्म थिलोथिलो बनेको यो व्यवसाय आन्तरिक पर्यटककै भरमा पनि जुर्मुराउने प्रयासमा रहेको हो । सरकारले लकडाउन, निषेधाज्ञा हटाउँदै आफ्नो कार्यविधि पनि खुकुलो बनाउन थालेकोले विदेशीको अभावमा पनि आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बराल आंशिकरुपमा रेष्टुरेन्ट तथा बार चलाए पनि आफूहरु निकै आशावादी रहेको सुनाउँछन् । ‘अचेल अल्लि राम्रो भइरहेको छ । पहिलाको जस्तो छैन । सीमित स्रोत साधन र जनशक्ति राखेर चलाइएको छ । संचालन खर्च उठिरहेको छ । लकडाउनको बेलामा भन्दा धेरै एक्टिभ भएका छौं, ’ बराल भन्छन्, ‘विदेशी पर्यटक नआइकिन त पूरै धान्न गाह्रो हुन्छ । तैपनि विदेशमा खोप बन्दै गरेको समाचार र अहिलेको अवस्थाले आशावादी बनेका छौं ।’

उनका अनुसार व्यवसायका लागि करिब ७० प्रतिशत जति कर्मचारी काममा छन् । ‘घर गएकाहरुलाई पनि आलोपालो प्रणालीमा राखेर बोलाउने गरेका छौं । कर्मचारी पनि नमर्ने र व्यवसाय पनि संचालन हुने हुँदा दुवैलाई राहत मिल्ने भएकोले यसो गरिएको हो ।’ रेवान पोखरामा १ सय वटा रेष्टुरेन्ट एण्ड बार आबद्ध छन् ।

होटलहरुको साझा संस्था पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले पनि उल्लेख्यमात्रामा नभए पनि क्रमिक सुधार भइरहेको बताउँछन् । ‘सुषुप्तरुपमा राखेर भएन । बिस्तारै खोल्नुपर्छ भन्ने मान्यता सरकारको पनि छ । त्यसैले कार्यविधि पनि परिवर्तन हुँदै गएको हुनुपर्छ, ’ तुलाचन भन्छन्, ‘पोखरामा पछिल्लो दसैँतिहारपछि आन्तरिक पर्यटकहरुको आगमन दर बढेको हो । लकडाउन र निषेधाज्ञाको बेलामा बन्दै गरेर बस्नु परेको अवस्थामा थियो । अहिले छैन । पूर्ण रुपमा संचालन हुन नसके पनि आंशिक संचालनले सहज भएको छ ।’

पोखरामा केही महिनापछि पर्यटकको आगमन अझ बढ्नेमा उनी आशावादी छन् । भन्छन्, ‘भारतबाट नेपालमा हवाई उडान गर्ने कुरा छ । विगतमा पोखरासँगै मुक्तिनाथको भ्रमणमा आन्तरिक तथा भारतीय पर्यटकको ठूलो हिस्सा आउने गरेको हो । कोरोना संक्रमण दर घट्दै गयो र खोप नेपालसम्म आइपुग्यो भने पोखराको पर्यटनबाट संसारभर निकै सकारात्मक सन्देश जान्छ ।’

पोखरामा हाल २० देखि ४० वर्ष उमेर समूहका युवाहरु बढीमात्रामा घुम्न आउने गरेको पाइन्छ । घुम्ने क्रममा अप्रियखालका ठूलो घटना–परिघटना पनि हुन पाएको छैन । लामो समयको बन्दाबन्दीले गर्दा मानिस घरभित्रै खुम्चिनुपर्दा घुम्न लालायित छन् । ‘व्यवसायलाई दिगोपन दिन मानिसको चहलपहल हुनु आवश्यक छ । आर्थिक कारोबार हुनै पर्छ, ’ तुलाचन प्रष्ट पार्छन् ।

उनका अनुसार हाल पोखरामा ६० प्रतिशत जति होटलहरु खुलेको अवस्था छ । संघमा हाल करिब ५ सय होटल आबद्ध छन् । होटलमा यतिखेर १५ देखि २० प्रतिशत कर्मचारी फर्केका छन् । कुल कोठामध्ये ५० प्रतिशत कोठाहरु बिक्री हुने गरेको छ । अकुपेन्सी सोचेजस्तो नभए पनि निराश भैहाल्नुपर्ने अवस्था छैन । विगतमा यही सिजनमा गत वर्ष पोखरामा ६० प्रतिशतसम्म अकुपेन्सी हुन्थ्यो । पर्यटकीय सिजन भनेको विशेषगरी सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई मानिन्छ । त्यसबेला ८० प्रतिशतसम्म अकुपेन्सी हुने गरेको पाइन्थ्यो । डिसेम्बर लागेपछि बिस्तारै पर्यटकीय गतिविधि कम हुने र मार्चदेखि पुनः बढ्दै जाने गर्दछ ।

पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायी र मजदुर बचाउन यसअघि घोषित सहुलियत दरको पुनःर्कर्जालाई सरल ढंगले वितरण व्यवस्थाको माग गर्दछन् । उनले विषम परिस्थितिको आँकलन गर्दै सिङ्गो पर्यटन क्षेत्र चलायमान बनाइराख्न विभिन्न नीति अवलम्बन गर्दै जानुपर्ने बताउँछन् । उनले भने, ‘बाँच र बचाऔं’ भन्ने भाव सबैमा हुनुपर्छ ।

सरकारले असोज १ देखि पर्यटन क्षेत्रका गतिविधि संचालन अनुमति दिएसँगै पोखरा र यस आसपासमा पर्यटकीय गतिविधिहरु चलायमान हुन थालेका हुन् । साथै पर्यटक आकर्षित गर्न पर्यटनसम्बद्ध केही संस्थाले कोरोना बिर्साउँदै टूर प्याकेज नै घोषणा गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा र वरपरका गन्तव्य घुम्नको लागि कात्तिक १ देखि सस्तो प्याकेज ल्याएको थियो । नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा र वरपरका गन्तव्य कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन आफूहरुले सस्तो प्याकेज ल्याएको र पर्यटकीय गतिविधिमा सघाउ पुगेको बताए । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि पर्यटन क्षेत्र चलायमान बनाउन भ्रमण प्याकेज ल्याइएको उनको भनाइ छ ।

होटलहरुले पनि कोठामा करिब ५० प्रतिशत छुट, खानामा १५ प्रतिशत, स्पामा १० प्रतिशतसम्म छुट गरेका छन् भने प्याराग्लाइडिङमा ५० प्रतिशतसम्म छुटले प्याराग्लाइडिङ उड्नेहरुको संख्या ह्वात्तै बढेको हो । ट्रेकिङ व्यवसायीहरुको संस्था टान पोखराको टोली आन्तरिक भ्रमण प्रवद्र्धनको लागि गण्डकीका विभिन्न जिल्लाको भ्रमण गरी पोखरा फर्केको छ ।

पर्यटन क्षेत्रमा विशेषगरी होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत पर्दछन् । पोखराको समग्र पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ ।

पोखरामा हाल डिस्कोथेक, डान्सबार, दोहोरी, गजल रेष्टुरेन्टहरु भने खुल्न बाँकी छ । यी व्यवसायीहरु पनि खुलेमा अझ पर्यटकीय गतिविधि बढ्नेमा आशावादी हुन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width