सहकारीले समृद्घि

श्रीभद्र पौडेल
मंसिर १९, २०७७
dharapani montissoro photo

सहकारीद्वारा निर्माणाधीन धारापानी मन्टेसरी । तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा  । बाग्लुङ जैमिनी–५, विनामारेकी इन्दिरादेवी शर्मा आचार्य केही वर्षअघि पोखरा झरिन् । पस्र्याङ बसेर व्यवसाय गर्ने सोच बनाइन् । रकम अभाव थियो । त्यसैले केही वर्ष त्यसै बित्यो ।

यत्तिकैमा स्थानीय आमा समूहले आर्थिक समृद्घिको लक्ष्य राख्दै सहकारी खोल्ने छलफल चलायो । छलफलमा इन्दिरा पनि सहभागी भइन् । आमा समूहले बहुउद्देश्यीय महिला सहकारी खोल्ने निर्णय ग¥यो । फलस्वरुप २०७५ साउनमा पोखरा महानगरपालिकामा संस्था दर्ताका लागि निवेदन दिए । २०७६ बैशाख ४ मा ‘धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था’ दर्ता भयो ।

संस्था स्थायित्वका लागि मासिक बचत नियम बनाइयो । क्षमता अनुसार १० देखि २० हजारसम्म शेयर रकम पनि उठाइयो । प्रारम्भिक साधारणसभा सम्पन्न भयो ।

निकै मिहिनेतपूर्वक स्थापित सहकारी नै पछिल्लो समय इन्दिराको व्यवसाय गर्ने माध्यम बन्न पुग्यो। उनले सूपथ व्याजदरमा ६ लाख रुपैयाँ ऋण लिइन् । र, किराना पसल खोलिन् । किरानामा तरकारी र मासु पनि बेच्न थालिन् । तिनै इन्दिरालाई आफ्नो पसलमा यतिखेर भ्याइनभ्याई भएको छ ।

इन्दिरा एक प्रतिनिधिपात्र मात्रै हुन् । सहकारीमार्फत कर्जा लिई स्थानीय चन्द्रा गैरेले पानी व्यवसाय र सरिता सुनारले कस्मेटिक पसल संचालन गरेका छन् । त्यस्तै अन्य दिदीबहिनी आ–आफ्नो सीप र क्षमता अनुसार व्यवसाय संचालनको सोचमा छन्।

सहकारीमा हालसम्म १ सय ३३ जना शेयर सदस्य आवद्घ छन् । उनीहरुले गक्ष्य अनुसार २५ हजारदेखि १ लाख २५ हजारसम्म शेयर लगानी गरेका छन् । एक करोड हाराहारी सहकारीको शेयर पँुजी पुगेको छ । त्यसका साथै उक्त सहकारीले मन्टेसरी समेत स्थापना गरेको छ।

शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्यअनुरुप मन्टेसरी स्थापना गरेको सहकारी अध्यक्ष राधिका आचार्यले जनाइन् । करिब २ रोपनी जग्गा भाडामा लिई नौकोठे भवन निर्माण गरिएको छ । जसबाट पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने सहकारीको योजना छ।

सो क्षेत्रमा मन्टेसरी अभाव महसुस गरी संस्था स्थापना गरिएको मन्टेश्वरी व्यवस्थापन समिति अध्यक्ष कल्पना बास्तोलाले जनाइन् । ‘नाफामूलकभन्दा सेवामूलक भावनासाथ मन्टेश्वरी स्थापना गरेका छौं, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन्छौं,’ उनले भनिन् ।

मन्टेश्वरी स्थापनाका लागि सहकारीले हालसम्म ३५ लाख बढी लगानी गरेको जनाएको छ । त्यहाँ हाल ११ जना बालबालिका अध्ययन गर्दछन् । दिन विभाजन गरी दैनिक २ देखि ३ जना बालबालिकालाई पठनपाठन हुने गरेको छ । कोरोना भाइरसको विषम परिस्थितिमा आफूहरुले स्वास्थ्यको मापदण्ड पूर्ण पालना गरी मन्टेसरी संचालन गरिरहेको सचिव गीतादेवी पौडेलले बताइन्।

सहकारीले शिक्षा क्षेत्रमा अलवालगत्तै अध्ययन गरी कृषि क्षेत्रमा लगानी गर्ने र केही वर्षको अन्तरालमा साना तथा मझौला उद्योगको क्षेत्रमा पनि लगानी गर्ने जनाएको छ । कृषिका लागि आवश्यक जग्गाको खोजी पनि गरिएको छ ।

त्यस्तै, व्यवसाय गर्नेहरुलाई अझ सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने तयारी पनि सहकारीको छ । हालको पोखरा ४, ५ र १८ वडाको कार्यक्षेत्रलाई बढाइ जिल्लाभर बनाउने योजना सहकारीले लिएको छ । स्थापनाको २ वर्ष अन्तरालमा सहकारीले केही मुनाफा समेत दिन सफल भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width