कास्कीमा मध्यपहाडीको रमिता, फेरि रुट फेर्न प्रस्ताव

प्रकाश ढकाल
मंसिर १९, २०७७
lokmarga

पोखरा । मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएको १३ वर्षसम्म कास्कीमा रुट टुङ्गिएको छैन । अहिले याम्दीदेखि पर्वतसम्मको खण्ड स्तरोन्नतिको काम भइरहेको छ । लमजुङदेखि भैँसेसम्मको सडक पनि ट्रयाक खोलेर स्तरोन्नति भइरहेको छ । पहिले मादी करिडोरको नाममा ट्रयाक खोलिएको यो सडकबाट ‘मादी करिडोर’ नाम हटिसकेको छ । भैँसेदेखि याम्दीसम्मको रुट भने अहिलेसम्म छिनोफानो लागेको छैन । यो रुट धेरै पटक फेरिएको छ । दुई वर्षअघि प्रस्तावित रुट पुनः फेर्न लागिएको छ । दिनदिनै नेताहरु गाउँगाउँमा पुगेर लोकमार्ग छिराउने प्रतिबद्धता जनाउँदै फर्कन्छन् । लमजुङ र कास्कीको सीमाना रुदी दोभानबाट भैँसेसम्मको ट्रयाक कायम भैसकेको छ । भैँसेदेखि चितेपानी, सुनपँदाली, आर्वाको घारी, काहुँको फेदिबाट भलाम छुँदै बाटुलेचौरबाट याम्दी जोडिन्थ्यो । अहिले यसलाई संशोधन गरेर गाउँ केन्द्रित गर्न खोजिएको छ । ‘भ्यालीभित्र अर्को बाटो छँदै छ । लोकमार्गलाई गाउँतिर तान्न सकियो भने धेरैले सुविधा पाउँछन् ।

मान्छेको बसाइँसराइ रोकिन्छ कि भनेर परिवर्तनको प्रस्ताव गरेका हौं,’ जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षत्रीले भने, ‘पहिले सहमति बनाउनुपर्छ । माथि कुरा भएको छ । सकेसम्म रुट फेर्ने नै हो ।’
त्यसो त लमजुङको सुन्दरबजारदेखि नै ट्रयाकमा विवाद थियो । त्यो समाधान भएपछि कास्कीको रामकोट भएर वेगनास ताल निकाल्ने तयारी भयो । त्यसको विरोध भयो । त्यसपछि रामकोटबाट लिप्यानी, सौर्य भएर राखी मिजुरे, आर्वा निकाल्ने भनियो । त्यसमा पनि सहमति हुन सकेन । तेस्रो विकल्पमा भैँसे निकालेर सुनपदाँलीको रुट प्रस्ताव गरियो । यसमा सर्भे समेत गरेर ट्रयाक खोल्ने तयारी थियो । अहिले त्यस क्षेत्रका नेताहरुले टुङ्गिएको रुट हटाएर नयाँ प्रस्ताव अघि सारे । सम्भावित रुटको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र इन्जिनियर समेतको टोलीले हेरेर फर्केको छ ।

यसअघि प्रस्तावित रुटमा धेरै संरचना भत्काउनुपर्ने भएकोले पनि नयाँ ट्रयाक खोज्न सके सहज हुने आयोजनाका पर्वत खण्ड प्रमुख मेघराज मरासिनीले बताए । ‘सर्भे गरेको समयभन्दा अहिले धेरै घरहरु बनिसके । धेरैले घडेरी बनाएका छन् । वर्षौं लगाएर कमाएको पैसाले दुईचार आना जोडेका छन्,’ उनले भने, ‘आयोजनाले जग्गाको पैसा दिँदैन । घरको पनि निकै कम मुआब्जा मिल्छ । त्यसैले यो बाटो ल्याउन सम्भावना कम छ ।’ उनका अनुसार भैँसेदेखि ज्याम्दु, मेलबोट, मौजा, अर्मलाकोट निकालेर भलाम हुँदै बाटुलेचौरदेखि याम्दी जोड्ने बाटो सबैभन्दा उपयुक्त देखिएको छ । ‘खासै लामो पर्दैन । बराबरी जस्तै देखिएको छ । घरहरु नपर्ने र लम्बाई उस्तै हुने हो भने र मध्येपहाडीको मर्म भावनालाई समेट्ने भएकोले यो बाटोमा चित्त बुझेको छ,’ मरासिनी भन्छन्, ‘मैले मात्रै भनेर हुँदैन । स्थानीयको चित्त बुझ्नुपर्छ । विभागले स्वीकृति दिनुपर्छ । हामीले हेरेको रुट जनताले चाहिँदैन भनिदिए समस्या पर्छ ।’ उनले सकेसम्म डीपीआर भएकै रुटबाट सडक ल्याउन पहल गर्ने बताए । डीपीआर अनुसार यो रुटको भैैँसेदेखि याम्दी खण्ड साढे २९ किलोमिटर पर्छ । रुदीबाट भैँसेसम्मको १६ किलोमिटर ट्रयाक खोलेर कालोपत्रेका लागि अहिले टेण्डर आह्वान गरिएको छ । यहाँ कालोपत्रेका लागि १ अर्बभन्दा बढी लागत अनुमान गरिएको छ ।

यता, कास्की काँग्रेसका सभापति कृष्ण केसीले पनि परिमार्जन गर्न लागिएको रुट उपयुक्त हुने बताए । ‘डीपीआर परिवर्तन गर्न सजिलो त छैन । यदि सम्भव भयो भने नयाँ ट्रयाक खोज्नु उपयुक्त देख्छु । पुरानो डीपीआरमा धेरै संरचना भत्काउनुपर्छ,’ उनले भने, ‘स्थानीयसँग कुरा गर्दा त्यही सुझाव दिएका छन् ।’ तराई छिचोलेर बनेको पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको वैकल्पिकमार्गको रुपमा ठानिएको मध्यपहाडी लोकमार्गको काम देशभर फटाफट भैरहेको छ । प्रत्येक जिल्लामा छुट्टाछुट्टै क्लस्टर कायम गरेर काम गरिए पनि कास्कीमा भने रुट खोज्दैमा १३ वर्ष गुज्रिएको छ । २०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग पूरा गर्ने लक्ष्य सरकारको छ ।

८० किलोमिटरभन्दा बढी सडक कास्की खण्डमा पर्छ । याम्दीबाट घट्टेखोलासम्मको सडक ४ लेनमा विस्तार भैरहेको छ भने थप २ लेन सर्भिस लेन हुनेछ । त्यसपछि नयाँपुलसम्म २ लेनको सडक निर्माणाधीन छ । पूर्वमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमस्थित बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गमार्फत पहाडका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्ने अनुमान छ । तर ठाउँठाउँमा अहिले पनि लोकमार्गको ट्रयाक फेरबदल भैरहेका छन् । सडक निर्माण टुङ्गिने बेलासम्म यसको लम्बाई तलमाथि हुने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width