पुलमा राजनीति : पौडेल गिरफ्तारीको सर्वत्र विरोध

सविन लामिछाने
मंसिर १८, २०७७
ram chandra

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोड्दै मोटरेबल पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि सर्वत्र विरोध सुरु भएको छ । उनलाई दिनभर नियन्त्रणमा लिएर साँझमात्र छाडिएको थियो ।

जिल्लाको तालघरे दुम्सीचौर सडकअन्तर्गत व्यास नगरपालिका वडा १, १० र ११ जोड्ने बुल्दी खोलामाथि निर्माण गरिएको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका पौडलसहित काँग्रेस तनहुँका कावा सभापति जीतप्रकाश आले लगायत नेता कार्यकर्ता पनि पकाउ परेका थिए । उनीहरुलाई दिउँसो २ बजे नियन्त्रणमा लिएर प्रहरीले साँझ साढे ५ बजेपछि मात्र छाडेको थियो ।

पुल उद्घाटनको विषयमा उत्पन्न विवाद भएपछि तनहुँ प्रशासनले बुधबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । नेकपा तनहुँ र राष्ट्रिय युवा संघ तनहुँले पुल निर्माण गरेको सम्बन्धित कार्यालयको सहमतिबिना पुल उद्घाटन हुन लागेको भन्दै बुधबार दिउँसो विरोध जनाएका थिए ।

प्रशासनले सम्भावित जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पौडेलकै सुरक्षाका निम्ति प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

पुल उद्घाटनको निम्ति अगाडि बढ्दै गर्दा रोक्न खोजेको प्रहरीसँग काँग्रेसका नेता कार्यकर्ताको झडप भएको थियो । झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखरेलसहित ३ जना काँग्रेस नेता घाइते भएका छन् ।

पोखरेललाई प्रहरीले ३ पटकसम्म लाठी प्रहार गरेको तनहुँ काँग्रेस सचिव विश्व बास्तोलाले जानकारी दिए । उनका अनुसार घटनामा काँग्रेस सचिव लक्ष्मी आचार्य र महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । उनीहरुको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको छ । सचिव आचार्यको टाउकोमा चोट लागेको छ । महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट छ ।

यसअघि पुल उद्घाटन विरोधमा प्रशासन घेराउ गर्न पुगेका युवा संघ तनहुँका संयोजक ईश्वर बस्यालसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बनाएको पुल प्रतिपक्ष दलले उद्घाटन गर्ने भनेपछि नेकपा तनहुँले विरोध जनाएको हो ।

नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गर्ने तथा पुल उपभोक्ता समितिले उद्घाटन गरिछाड्ने दाबी गरेपछि सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति एसएनआरटिपी परियोजनाअन्तर्गत निर्मित पुल २०७३ वैशाखमा निर्माण सुरु भएर २०७५ कात्तिकमा सम्पन्न भएको हो । पुल बने पनि पक्की बाटो लगायत संरचना बन्न बाँकी हँुदा उद्घाटनमा ढिलाइ भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए ।

पुलको कुल लागत २ करोड ५४ लाख रुपैयाँ छ । २ वर्षअघि सकिए पनि उद्घाटन भने हुन सकेको थिएन । काँग्रेस बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले पौडेल गृहजिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थिए । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने काँग्रेस पौडेलबाट ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट पत्र आएकाले हाल कार्यक्रम नगर्नू भनेकोमा तर झडप नै हुने अवस्था आएपछि निषेधाज्ञा जारी गर्नु परेको बताए ।

अघिल्लो दिन नेता पौडेलले मास्दी घाटमा व्यास–१४ र ऋषिङ–३ जोड्ने सेती पुलको पनि उद्घाटन गरेका थिए । उक्त पुल पनि नेकपा समर्थकले रामचन्द्रलाई चुनावमा हराउने संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा उद्घाटन गराउन चाहन्थे । तर पौडेलले उद्घाटन गरेपछि विवाद सुरु भएको थियो ।

सम्भावित दुर्घटनाको जोखिम मध्यनजर गर्दै बुधबार बिहानैदेखि सदरमुकाम दमौली र आसपासको क्षेत्रमा सुरक्षा कडा पारेको थियो । काँग्रेस र नेकपा दुवैले शक्ति प्रदर्शन गर्न थालेपछि दमौलीमा जनपथ र सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैबीच, पौडेलको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शन सुरु भएको छ । देशका प्रमुख सहरहरुमा काँग्रेस र तिनका भातसंगठनहरुले जुलुस प्रदर्शन गरेका छन् ।

नेविसंले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगाना लगायतले सम्बोधन गरेका थिए ।

यस्तै, पोखराको महेन्द्रपुलमा साँझ करिब १ घण्टासम्म चक्काजाम गरी विरोध गरियो । आन्दोलनकारीले टायरसमेत बालेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ केन्द्रीय सदस्य भानुभक्त ढकालले नेपालबाट अतिवादी कम्युनिष्ट शासन फाल्न आन्दोलनको उभार सुरु भएको बताए ।

नेविसंघ कास्कीका पूर्व अध्यक्ष विकास थापा, युवा नेता राजीव बास्तोला लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले प्रहरी धरपकड संघीय लोकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै घटनाको भत्र्सना गरेको छ ।

‘कम्युनिष्ट सरकार भ्रष्ट, निरङ्कुशहँुदै राज्य आतंक, ज्यादति र बर्बतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको छ,’ कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्रविरुद्व उत्रन सबै नेपालीलाई आह्वान गरिएको छ ।

यसैबीच, घटनाको विरोधमा पोखरामा बिहीबार विरोध प्रदर्शन गरिने नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेपाल तरुण दल कास्कीको नेतृत्वमा दिउँसो १ बजे महेन्द्रपुलमा विरोध प्रदर्शन गरिने छ ।

शक्तिको दुरुपयोग : पौडेल

गृहजिल्लामै प्रहरीद्वारा नियन्त्रण परेपछि काँग्रेस वरिष्ठ नेता पौडेलले सो घटना सरकारको शक्तिको दुरुपयोग भएको प्रतिक्रिया दिएका छन् । बुधबार साँझ रिहापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको अतिवादीका कारण यसखालको घटना हुन गएको टिप्पणी गरे ।

उनले बिहीबार बिहान पुन उद्घाटन गरिने समेत बताए । उनको पक्राउको विरोध गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न आग्रह गरेका थिए ।

सो घटनाको निन्दा गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विरोध गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width