मानहुँकोट उक्लन थाले नेता पनि

सविन लामिछाने
मंसिर १७, २०७७
RAMCHANDRA

दमौली । मानहुँकोट यस वर्षको दसैँयता प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ । देशभरबाट पर्यटक दमौली बजारको पश्चिमपट्टिको शिरमा रहेको मानहुँकोटको डाँडोमा लर्को लाएर उक्लिरहेका छन् । स्थानीय, प्रदेश र केन्द्रीय सरकारका जनप्रतिनिधि लगायत शीर्ष तहका नेता पनि मानहुँकोट उक्लन थालेका छन् ।

दमौली बजारबाट मात्र ७ किमी उक्लिएपछि पुगिने मानहुँकोटबाट दमौली बजारलाई कुहिरोले डम्मै ढाकेको बेला गज्जब देखिने सूर्योदय दृश्यपान गर्न मानिसहरुको आकर्षण बनिरहेको छ ।

यसैबीच, मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि जिल्लाका नेता कार्यकर्ता लिएर मानहुँकोटको डाँडोमा दृश्य अवलोकन गरेका छन् ।

उनले मानहुँकोटमा थप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिँदै आफूले सक्दो पहल गर्ने बताए । आफू पनि गाउँबाट सहर झर्न रहराएको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा लागेको बताउँदै मानहुँकोटमा पनि पूर्वाधार थप गर्दै प्रचारप्रसारमा जोड दिए बसाइँ सरेकाहरु फेरि गाउँ नै फर्कने सम्भावना रहेको सुनाए । चर्चित गन्तव्य रुपमा विकसित मानहुँकोटको विकासक्रममा मौलिक सुन्दरता नास हुन दिन नहुने उनको सुझाव थियो ।

गत वर्ष माघको तेस्रो साता पूर्व राष्ट्रपति रामवरण यादव पनि मानहुँकोटको दृश्यावलोन गरेका थिए । यसरी तीनै तहका जनप्रतिनिधि र उच्च पदस्थ नेताहरु मानहुँकोट आउँदा प्रचारप्रसारसँगै विकासमा सघाउ पुग्ने आशा पलाएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

कात्तिक तेस्रो साता व्यास नगर कार्यपालिकाको बैठक मानहुँकोट डाँडोमै बस्यो । बैठकले मानहुँकोटको विकासका केही योजना पनि बनायो । कात्तिक अन्तिम साता गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य किसान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतको टोली मानहुँकोट पुगेर आ–आफ्नो तहबाट पूर्वाधार विकासमा सघाउने प्रतिबद्धता जनाए ।

‘पर्यटक बढ्दै गर्दा मानहुँकोटमा यथेष्ट पूर्वाधार छैनन् । व्यास नगरपालिकाले मात्रै विकास गरेर सक्दैन । तीनै तहको सरकारले समन्वय गरेर विकास गर्नु जरुरी छ’, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width