पोखरा । सरकारी निर्देशनअनुसार देशभरका स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरियो । कास्कीका ३ वटै पालिकामा १५ शैयाको अस्पताल परेको छ । सोमबार जसोतसो शिलान्यास त भयो तर भवनको न डीपीआर बनाइएको छ न त टेण्डर प्रक्रिया नै सुरु भएको छ । जग्गा खोज्न समय लागेका कारण डीपीआर बनाउन नसकिएको पालिका प्रमुखहरु बताउँछन् । ‘स्थानीय रुपमा सहमति जुटाउनुपर्यो । १० रोपनी समथर जग्गा भनेको छ । त्यो पहाडी क्षेत्रमा पाउनै मुश्किल छ,’ उनीहरुले भने, ‘बल्ल–बल्ल जग्गा पायौं । अहिले शिलान्यास भएको छ । छिट्टै डीपीआर बनाउने र टेण्डर प्रक्रियामा लैजान्छौं ।’ मादी र रुपा गाउँपालिकाले डीपीआर नबनाए पनि अन्नपूर्णले भने टेण्डरको सूचना समेत निकालिसकेको छ । अन्नपूर्ण, मादी र रुपामा अस्पताल बनाउन सरकारले स्वीकृति दिएपछि सोमबार शिलान्यास गरिएको हो । मादीमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले अस्पतालको शिलान्यास गरे भने अन्नपूर्ण र रुपामा गाउँपालिका अध्यक्षहरुले नै शिलान्यास गरे । रुपाले प्राथमिक स्वास्थ्य केन्द्रमा तला थप्ने र अर्को नयाँ भवन बनाउने तयारी गरेको छ । अन्नपूर्ण र मादीमा पूरै नयाँ भवन बन्दै छ ।
गण्डकीका १२ स्थानीय तहले भने अस्पताल शिलान्यास गर्न सकेनन्
अन्नपूर्णले वडा नम्बर २ मा भवन बनाउन १८ करोडभन्दा बढी लागत स्टिमेट निकालेर टेण्डर समेत आह्वान गरिसकेको छ । कतिपय गाउँपालिका र नगरपालिकाहरुले जग्गाको खोजी समेत गर्न नसकेको अवस्थामा अन्नपूर्णले ठाउँ सुनिश्चित गर्दै टेण्डरको सूचना निकालेको हो । ‘अहिलेसम्म सूचना कसैले निकालेको रेकर्ड छैन । शिलान्यास गरेका फोटा त आउला तर कहाँ बनाउने भन्ने टुङ्गो छैन,’ पालिका अध्यक्ष युवराज कुँवरले भने, ‘सबै अलमलमा छन् । देशभरमै टेण्डर प्रक्रियामा जाने अन्नपूर्ण पहिलो हो ।’ अस्पतालको कुवँरले नै शिलान्यास गरेका हुन् ।
उनले सहरमा भएका ठूला अस्पतालहरुले दिने सरहकै सुविधा दिने गरी संरचना र उपकरण व्यवस्थापन गर्ने बताए । ‘पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बन्छ । विकसित मुलुकमा भएका जस्तै सेवा सुविधा हुन्छ । बत्ती नहुँदा सोलारको व्यवस्था हुन्छ । उपकरण अत्याधुनिक हुन्छ,’ उनी भन्छन्, ‘यहाँ आउने बिरामी आधा त हिमाल हेरेर निको हुन्छ । स्वच्छ हावाले ६० प्रतिशत बिरामी निको भैसक्छन् । सहरमा जस्तो अस्पतालमा बस्दा नाक थुनेर बस्नुपर्ने अवस्था यहाँ आउँदैन ।’ साढे २ वर्षको म्याद नेपाल सरकारले दिए पनि यो अस्पताल डेढवर्ष भित्रै निर्माण सक्ने कुवँरको दाबी छ । तीनतले भवनमा ५८ वटा कोठा हुनेछ । शौचालय र स्नान कक्ष छुट्टै बनाइने छ ।
टेण्डर अवधि १ महिना हुने र त्यसपछि अध्ययन सहित सम्झौता गरेर काम थालिहाल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । ‘२०७९ जेठ मसान्तभित्र सक्नुपर्ने गरी सूचना निकालिएको छ । तर हामी त्योभन्दा पहिले अस्पताल बनाइसक्छौं,’ उनले भने, ‘जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै अस्पतालबाट सेवा सुरु हुन्छ । हाम्रा लागि यो गौरवको योजना हो ।’ पालिकाले प्रदेश सरकारसँगको साझेदारीमा अन्नपूर्ण ५ मा हाइवे अस्पताल बनाइरहेको छ । ‘सामुदायिक स्वास्थ्य इकाइहरु बनेका छन् । विशिष्टिकृत स्वास्थ्य सेवाबाहेक सबै उपचार पालिकाभित्रै हुन्छ,’ अधिकारीले अघि भने, ‘यो अस्पताल बनेपछि स्वास्थ्यका कारण हुने बसाइँसराइ रोक्छ । बरु सहर गएकाहरु गाउँ फर्कन्छन् ।’ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अन्नपूर्ण गाउँपालिका अध्यक्ष धर्म तमुले संघीयताले बिस्तारै प्रतिफल दिन थालेको भन्दै यसलाई संस्थागत गर्न जनस्तरबाट सहयोग आवश्यक रहेको बताए । काँग्रेसका सभापति मनपति भण्डारी अस्पताल निर्माणको निगरानी गरी पूर्ण क्षमतामा सञ्चालनका लागि खबरदारी गर्नुपर्ने बताउँछन् ।
मादीले वडा नम्बर ७ को तल्लो छाचोकमा जग्गा व्यवस्थापन गरेको हो । अस्पताल बनेपछि उत्तरी भेगका नागरिकलाई बढी लाभ पुग्ने छ । यो वर्ष भवन बनाउन ३ करोड २३ लाख अख्तियारी आइसकेको भन्दै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले १८ करोड बजेट सरकारले व्यवस्था गर्ने बताए । अस्पताल शिलान्यास गरे पनि डीपीआर र डिजाइन अझै बनिसकेको छैन । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), डिजाइन तथा बोलपत्र आह्वान लगायत काम छिट्टै अघि बढाउने उनले बताए ।
अस्पतालको शिलान्यासपछि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धि तथा नयाँ संरचना निर्माण सुरु गरेको बताए । उनले अब विकासका लागि फराकिलो सोचको आवश्यकता रहेको बताए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारका स्वास्थ्य सेवा गाउँमा पु¥याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘कोही पनि नागरिक उपचार सुविधा नपाएर मर्न पर्दैन । आफ्नै घर गाउँमा विशेषज्ञ डाक्टरले हाम्रा रोग जाँच्छन् ।’
सरकारी सुविधामा एमडी पढेका डाक्टरहरु २ वर्ष दुर्गम क्षेत्रमा रहेर सेवा गर्नुपर्ने व्यवस्था गरेकाले अव चिकित्सक अभाव नहुने उनको भनाइ छ । प्रदेश सांसद मनबहादुर गुरुङले संघ र प्रदेश सरकारको समन्वयमा अस्पताल तयार हुने बताए । उनले अब गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा पाइने विश्वास दिलाए ।
उता, रुपामा भने भैरहेको स्वास्थ्य चौकीको भवनमाथि तला थप्ने तयारी छ । वडा नम्बर ६ स्थित प्राथमिक स्वास्थ्य चौकीकै आडमा पालिका प्रमुख नवराज ओझाले अर्को भवनको शिलान्यास गरे । ५ शैया चलिरेको यो स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन् । शिलान्यासपछि ओझाले भने, ‘संघीयता भनेकै यही त हो नि । हिजो सिंहदरबार गाउँगाउँमा पुर्याउछौं भनेर भोट माग्यौं । अहिले त्यसैका लागि काम गरिरहेका छौं ।’ रुपामा ३ महिना भित्र एक्सरे, भिडियो एक्सरे लयागत बहिरंग सेवा समेत सुरु हुँदै छ । फार्मेसी चलाउन अर्को भवन बनिरहेको छ । भएको संरचनालाई व्यवस्थित गर्दै नयाँ भवन बनाइने ओझाले बताए ।
गण्डकीमा सोमबार ८५ स्थानीय तहमध्ये ३९ तहमा मात्रै अस्पताल शिलान्यास भएको छ । ९ गाउँपालिका र ३ नगरपालिकाले भने योजना परेर पनि शिलान्यास गरेनन् । शिलान्यास नगर्नेहरुमा गोरखाका सिरान्चोक, धार्चे र भीमसेन थापा गाउँपालिका, स्याङ्जाको फेदीखोला, बागलुङको तमानखोला, मुस्ताङको लोमान्थाङ तथा म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिका छन् । नगरपालिकाहरुमा बागलुङ, कुश्मा र भानु छन् । धार्चे, रघुगंगा, अन्नपूर्ण, भीमसेन गाउँपालिकामा जग्गाको सहज उपलब्धता नभएका कारण रोकिएको हो भने धवलागिरिमा पालिकाले गरेको निर्णयभन्दा फरक परेकोले काम हुन सकेन । तमानखोलाले यही २२ गते शिलान्यास कार्यक्रम राखेको छ । फेदीखोलाको पनि सरकारी जग्गा भएकोले जग्गा प्राप्ति नहुँदा शिलान्यास अड्किएको हो । सिरान्चोक र लोमान्थाङमा आन्तरिक तयारी नपुगेका कारण शिलान्यास नभएको बताइएको छ । बागलुङ नगरपालिकाको पनि जग्गामा समस्या छ । भानुले प्राविधिक कारण देखाएर अन्तिममा शिलान्यास कार्यक्रम स्थगित गर्यो । श्रोतका अनुसार अतिथि को ल्याउने भन्ने विषयमा सहमति नजुटेको हो । कुश्माले जिल्ला अस्पताल स्तरोन्नति गरिरहेकोले अहिलेको योजना अन्यत्र सार्न पहल गरिरहेको छ । यहाँका १४ नगरपालिका र ३७ गाउँपालिका गरी ५१ स्थानीय तहमा यो काम गर्ने निर्णय भएको थियो ।
जानकारहरु चाहिँ अहिलेको भवनभन्दा भैरहेका भवनमा उपकरण थप्नु बढी प्रभावकारी हुने सुझाव दिन्छन् । ‘भवन बनाउने पैसामात्रै भएर काम छैन । पालिकाले डाक्टर पाल्न सक्छन् ? ५० भन्दा बढी जनशक्ति चाहिन्छ,’ उनीहरुले भने, ‘भवन नै नभएको त होइन नि । पुराना स्वास्थ्य चौकीहरु खण्डहर बनेका छन् । स्वास्थ्य इकाइ चलाएको भए राम्रो हुन्थ्यो । भवनमा यति धेरै खर्च गर्नु ठिक होइन ।’
Related News
सम्बन्धित समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
hero news full width
मुख्य समाचार
इजलास छैन श्रीमानलाई
टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
माघ ९, २०७७जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
माघ ९, २०७७जग्गाको मालिक बन्दै भूमिहीन
माघ ९, २०७७जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
माघ ९, २०७७भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु
माघ ९, २०७७