काठमाडौं र पोखराका मेयरबीच भेटघाट

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७
mahanagar

पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोली सोमबार पोखरा आएको छ । टोलीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग भेटघाट गर्‍यो ।

टोलीको स्वागत गर्दै पोखराका प्रमुख जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताए । व्यवस्था परिर्वतन भएपनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौती आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

‘काठमाडौं र पोखराका आ—आफ्नै विशेषता छन्’, जिसीले भने,‘ काठमाडौं सांस्कृतिक सहर हो भने पोखरा प्राकृतिक रुपमा सुन्दर छ, एक अर्काबाट हामीले धेरै कुरा सिक्न र सिकाउन सक्छौं ।’ अरु महानगरभन्दा काठमाडौं महानगरपालिका पाको र पुरानो महानगर भएकाले यसले स्थानीय तहमा अग्रणी भूमिका खेल्नुपर्ने जिसीको भनाइ छ ।

काठमाडौं—पोखरा जोड्ने सडक चार लेनको हुनुपर्ने बताउँदै जिसीले दुबै सहरले पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने र यसमा समन्वय गर्नुपर्ने बताए । पोखराको भौगोलिक विशेषता अनुसार नै विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए ।

काठमाडौं महानगरका प्रमुख शाक्यले अनियन्त्रित बसाइँसराइ काठमाडौ र पोखरा दुवै सहरको चुनौती भएको बताए । उनले स्थानीय तहबीचमा पनि समन्वय र अनुभव आदान प्रदान हुनुपर्ने बताए । काठमाडौं अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले बसोबासलाई व्यवस्थित गर्न एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने उनले बताए । उनले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताउँदै काठमाडौं र पोखराको यसमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौं, पोखरासहित देशमै पर्यटनलाई चलायमान बनाउन प्रदेश र संघीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताइन् ।

सो अवसरमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराले स्वागत मन्तव्य र प्रवक्ता धनबहादुर नेपालीले संचालन गरेका थिए ।

सो अवसरमा दुवै मेयरबीच मायाको चिना साटासाट गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width