७३ वर्षीया बृद्धालाई घरमै नागरिकता

सविन लामिछाने
मंसिर १३, २०७७
Nagarikta

दमौली, १३ मंसिर । कुनै बेला नागरिकता नपाएर छटपटिएकी जिल्लाको देवघाट गाँउपालिका ३ की माया गुरुङ निकै खुशी भएकी छन् । जीवनको उत्तरार्धमा पुगेकी गुरुङले लामो समयपछी नेपाली नागरिकता पाउँदा खुशी भएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा गाउँपालिकाको सहकार्यमा घरमै गएर नागरिकता प्रदान गरिएको हो । उनले ७३ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । परिवार विहीन रहेकी उनी नागरिकता लिन सदरमुकाम जान नसक्दा अहिलेसम्म नागरिकता पाएकी थिइनन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण घर नजिकै घुम्ती शिविर हुदाँ पनि उनी नागरिकता बनाउन गएकी थिईनन् । हिँडडुल गर्न र बोल्न समेत नसक्ने अवस्थामा रहेकी गुरुङलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्यले घरमै पुगेर नागरिकता दिएका हुन् ।

‘उहाँको आफन्त कोही पनि रहेनछन् । आफु बोल्न पनि नसक्ने, गाउँ छोडेर अन्त जान नमान्ने भएकाले अहिलेसम्म नागरिकता लिनु भएको रैनछ । स्थानीय गंगासिंह विकले पहल गरेपछि घरमै पुगेर नागरिकता वितरण गरेका छौँ’, उनले भने ।

वडा कार्यालयले गुरुङ सोही स्थानमा जन्मिएको र नेपाली नागरिक हो भन्ने प्रमाणित गरेर पठाएपछि गुरुङलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

२०७२ को भुकम्पले घर भत्काएपछि गुरुङ लाभग्राहीको सूचिमा परेपनि नागरिकता नहुँदा घर पुनः निर्माणको सम्झौता हुन सकेको थिएन । अब भने गुरुङको घर राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नै बनाईदिने भएको छ ।

नागरिकता पाएसँगै उनले अब सामाजिक सुरक्षाभत्ता पाउने भएकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width