गण्डकीमा कोरोना : रोग एकातिर, उपचार अर्कोतिर

प्रकाश ढकाल
मंसिर १३, २०७७
mahabir

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेन्टिलेटर हस्तान्तरण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

पोखरा । गण्डकी प्रदेशको ६० प्रतिशत कोरोना संक्रमित पोखरा महानगरपालिकामा छन् । करिब ५ हजार सक्रिय संक्रमितमध्ये ३ हजारभन्दा बढी पोखरामा मात्रै छन् । तर यहाँ सरकारको आइसियू बेड संख्या १ सयभन्दा कम छ । त्यसैले सबैजसो बिरामी घरकै आइसोलेसनमा बसिरहेका छन् । प्रदेश सरकारले गण्डकीमा १ हजार ५ सय क्षमताको आइसियू रहेको बताए पनि सबैजसो पोखरा बाहिर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिरामी पोखरामा थुप्रिएका छन् । तर सरकारी बजेट अन्य क्षेत्रमा पठाइएको छ । नेपाल सरकारले गोरखा र बागलुङमा कम्तीमा २५ बेडको उच्च क्षमताको आइसियू कक्ष स्थापनाका लागि रकम पठायो । दुवै जिल्लामा समान क्षमताको हाई डिपेन्डेन्सी यूनिट (एचडियू) बनाउन ३ करोड १२ लाख ७० हजारका दरले बजेट उपलब्ध गराइएको छ । तर गोरखामा ठाउँको अभावले रकम खर्च हुन सकेन । ‘नयाँ भवन बन्दैछ । शिक्षाको भवन खाली गराएर त्यहाँ चलाउने कुरा पनि भैरहेको छ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अहिलेसम्म बनिसकेको छैन । प्रोसेसमा छ ।’ उनका अनुसार अहिले त्यहाँ ४ जना कोरोनाका बिरामी उपचाररत् छन् । सात बेडमध्ये २ वटा आइसियू र ५ वटा सामान्य बेड कोरोनाका लागि छुट्याइएको छ । अस्पतालका अनुसार त्यहाँ तत्कालै एचडीयू बन्ने अवस्था छैन ।

राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी सरकारलाई स्वाब संकलन गर्ने एम्बुलेन्स सहयोग गरेको छ ।

अस्पतालका प्रमुख डा नवीन थापा एचडीयू बनाउने निर्णय भए पनि आधिकारिक पत्र र बजेट प्राप्त नभएको बताउँछन् । ‘न संघले पत्र पठाएको छ, न त प्रदेशले । कोलेनिकामा बुझ्दा पैसा आएको छैन,’ उनले भने, ‘पैसा आए पनि बनाउने ठाउँ छैन ।’ भाडामा भवन लिएर चलाउने प्रयास समेत गरिएको थियो । तर अस्पताल विकास समितिसँग भाडा तिर्ने पैसा नभएकोले रोकिएको छ । ‘समितिसँग पैसा छैन । ९ महिनादेखि आम्दानी छैन । भएको आम्दानीले कर्मचारीकै तलब भत्ता धान्न मुस्किल छ,’ उनले भने, ‘बनाउन पाए त राम्रो हुन्थ्यो । २५ बेड त सम्भव छैन ।’

उता, धवलागिरि अस्पतालले पनि एचडियू निर्माणको तयारी थालेकै छैन । ‘पत्र आएको छैन । बजेटको टुङ्गो छैन । निर्णय मात्रै गरेर कसरी यूनिट बनाउनु ?,’ अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले भने, ‘नेपालको काम गर्ने शैली साह्रै फितलो र लामो भयो । अहिले गरेको निर्णय अर्को वर्षसम्म पनि पैसा आउँदैन ।’ उनका अनुसार अस्पतालले यूनिट बनाउन आन्तरिक छलफल भने गरिरहेको छ । यसबाहेक अहिले नवलपुरको मध्यबिन्दु अस्पताल, लमजुङ जिल्ला अस्पताल र कास्कीस्थित लेखनाथमा रहेको संक्रामक रोग अस्पतालमा पनि एचडियू निर्माण गर्न स्वीकृति दिइएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘गोरखामा ठाउँ छैन । पैसा आएर के काम ? पैसा हामीलाई पठाइदिनुस् ठाउँ खोज्छौंभन्दा आफूखुसी ठाउँ तोकिदियो,’ उनले भने, ‘नेपाल सरकारको काम गर्ने तौरतरिका सुधार्न सुझाव धेरै दिएको छु । पहिले सामाजिक विकास मन्त्रालयमा पैसा पठाइदेउ । कामको मापदण्ड पाएपछि हामी गर्छौं भनेपछि अहिले केही ठाउँमा थपियो ।’ मुख्यमन्त्री गुरुङका अनुसार पोखरामा थप १ हजार बेडको आइसियू जडान भैरहेको छ ।

उनले नागरिकको लापरबाहीका कारण पछिल्लो समय संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेको बताएका छन् । ‘डिस्टेन्स छैन । मास्क लाउँदैनन् । स्यानिटाइजर बोक्दैनन्,’ उनले भने, ‘लापरबाहीको कारण प्रमुख हो । ठारिएर हिड्ने युवायुवतीमा रोग बढी लागेको छ । उनीहरु बढी मरेका छन् ।’ गण्डकीमा ५० वर्षभन्दा कम उमेरका संक्रमितको मृत्युदर ५१ प्रतिशत छ ।

सरकारी अस्पताललाई विश्वास गरेर निःशुल्क उपचारको सेवा लिन उनले आग्रह गरे । ‘छ वटा अस्पताल डुल्दा सरकारी अस्पताल किन आइपुग्नु भएन ? पश्चिमाञ्चल अस्पताल र सरुवा रोग अस्पतालमा आएको भए जसरी पनि उपचार हुन्थ्यो । किन अरु अस्पताल चाहार्दै हिडेको ?,’ उनले भने, ‘मान्छे मरे नि मरोस् । नेपाल सरकारलाई, प्रदेश सरकार, महानगर र अस्पताललाई दोष दिन पाइन्छ भनेर हो ?’ उनले निजीभन्दा सरकारी अस्पताललाई विश्वास गर्न र त्यहीँ उपचारका लागि जान आग्रह गरे ।

उनले स्वास्थ्य पूर्वाधारमा गण्डकी प्रदेश कर्णालीपछि सबैभन्दा कमजोर रहेको बताए । ‘पत्रपत्रिकामा सबैले सरकारको आलोचना मात्रै गरेको देख्छु । हाम्रो स्वास्थ्य पूर्वाधार निम्नस्तरको छ । टेक्ने डालो पनि छैन, समाउने हाँगो पनि छैन । म मुख्यमन्त्री भएपछि यो अवस्था आएको हो र ? जनताले त्यसरी नै बुझिदिए,’ उनी भन्छन्, ‘महामारीविरुद्ध कसरी लाग्ने भनेर सुरुदेखि नै तयारी थाल्यौं । जनशक्ति छैन, पूर्वाधार निम्नस्तरमा छ । हाम्रो प्रयत्नले परिणाम दिन नसकेको साँचो हो । तर हामी निदाएर बसेका छैनौं ।’ मुख्यमन्त्री गुरुङले अब १४ दिन आइसोलेसन बसेपछि पीसीआर नगरी घर पठाउने निर्णय गरिएको बताए ।

यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी प्रदेश सरकारलाई स्वाब संकलन गर्ने एम्बुलेन्स हस्तान्तरण गरेको छ । कीर्तिपुर अस्पतालले दिएको पुरानो एम्बुलेन्स मर्मत गरेर केन्द्रले गण्डकीमा पठाएको हो । ‘वडा–वडामा पुगेर स्वाब संकलन गर्छ । स्वाब दिन नागरिक अस्पताल धाइरहनु पर्दैन,’ केन्द्रका वैज्ञानिक महावीर पुनले भने, ‘कोरोना कायम रहुञ्जेल गण्डकीले प्रयोग गर्छ । सकिएपछि फिर्ता गर्नुपर्छ ।’ यस्तै कोकाकोला फाउण्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई एक सेट भेन्टिलेटर सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीमार्फत शुक्रबार भेटिलेटर अस्पतालमा हस्तान्तरण गरिएको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले अस्पतालमा भन्दा घरको आइसोलेसनमा जोड दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width