देशभित्रै लगानी गर : प्रधानमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७७
KP Oli

फाइल फाेटाे

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । नेपालको निजी क्षेत्रको छाता संगठन महासंघको ३ दिनसम्म चल्ने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको ढोका खोल्दै सम्पन्न हुनेछ ।

महासंघको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्दा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह भने निर्वाचनमा होमिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट आयोजित समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले वार्षिक साधारणसभा उद्घाटन गर्दै सरकारका तीन वटै तह र महासंघका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताए।

कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको भन्दै उनले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गरे। सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताए।

गत आर्थिक वर्षमा ८ दशमलब ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताए।

देशको अर्थतन्त्र माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताए । सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँ–नयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा उनले खुसी व्यक्त गरे ।

हामीले हाम्रैलाई सबल बनाउन नसकेका कारण बाह्य लगानी आवश्यक हुने गरेको बताउँदै उनले ठूला ठूला आयोजनामा लगानी गर्न सक्ने गरी विकास गर्न आग्रह गरे । उनले पूँजी यहाँ कमाउने र लगानी बाह्य गर्ने काम नगर्ने सुझाए । देशप्रति माया गर्न सिक्न उनले सबैको ध्यानाकर्षण गराए ।

उनले मुलुकमा लगानी गर्न सहज भएको भन्दै बढी मुनाफा लिन सकिने बताए । उनले भने, आवश्यक पर्ने सुविधा छुट कानूनबमोजिम दिन सकिन्छ, जे न्यायोचित छ त्यसलाई कानून बदलेर पनि अगाडि बढाउन सकिन्छ ।’ उनले ठूलो परिमाणमा उत्पादन गर्न र निर्यात गर्नु अहिलेको आवश्यकता भएको भन्दै यसमा सरकार सहयोग गर्न तयार रहेको बताए ।

प्रधानमन्त्रीले समृद्धि हासिल गर्न उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उनले स्पष्ट पारे।

सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।

राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गरे।

देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए।

देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गरे।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र असाध्यै नराम्री प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताउँदै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिइन्।

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा समावेश भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औँल्याउँदै उनले राष्ट्रिय गौरवका आयोजना शीघ्र सम्पन्न गरी नयाँनयाँ ठूला आयोजना निर्माणमा लाग्नुपर्ने बताइन्।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, सुरज वैद्य, पशुपति मुरारका, प्रदीपजङ्ग पाण्डेलगायत महासंघका प्रदेश अध्यक्षलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width