राष्ट्रिय झण्डा बोकेको भिडले भन्यो–‘राजा आऊ, देश बचाऊ’

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७७
durga

पोखरा । देशमा धेरै पटक आन्दोलन र जुलुस भए । अधिकांश यी जुलुसमा कुनै न कुनै संगठन हुन्थ्यो । उनीहरुले परिचालन गरेका कार्यकर्ताले अगुवाइ गर्थे । सर्वसाधारण ती कार्यकर्ताका पछिल्तिरका समर्थक हुन्थे । हजारौंले यस्तै आन्दोलनमा आफूलाई गुमाए । त्यतिबेलाका घाइतेहरु अहिले पनि उपचाररत् छन् । ठूलो संघर्षपछि आएको संघीयता र गणतन्त्र वयस्क पनि भएको छैन । तर व्यवस्थाप्रतिको आक्रोश दिनहुँ बढ्दो छ । हातमा राष्ट्रिय झन्डा । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्म राजाहरुको फोटा । संघीयता र धर्मनिरपेक्षताविरोधी नारा लेखिएका प्लेकार्ड लिएर पोखरामा बुधबार राजसंस्थाको माग गर्दै हजारौं सवारीसाधनमा सबैजसो उमेर समूहका नागरिकहरुको जुलुस निस्कियो ।

मोटरसाइकल, कार, बस लगायत सवारीसाधनमा चढेर हजारौं सहभागीहरु पोखरा नगर परिक्रमा गरे । देशलाई संकटबाट जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै प्रदर्शन गरेका हुन् । अहिलेको व्यवस्था पूर्णतः असफल भएको सहभागीहरुको आरोप छ ।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गणतन्त्र जनतालाई भ्रम छर्ने बाटोमात्रै भएको आरोप लगाए । ‘राजसंस्था र धर्मलाई विस्थापन गरेदेखि नै देश संकटमा छ । माटो सुहाउँदो व्यवस्था भएन भने टिक्दैन भन्ने हामीलाई पहिले नै थाहा थियो,’ उनले भने, ‘१४ वर्षसम्म त हामीले गणतन्त्र हे¥यौं नि । तर यही व्यवस्थाको विरोधमा स्वःस्फूर्त यत्रो जनमानस निस्कियो । अब जतिसक्दो छिटो राजसंस्था चाहिएको छ ।’

अहिलेको अवस्थाको मूल निकास राजसंस्था भएको उनको दाबी छ । ‘हाम्रो इतिहास हिजो विश्वमा जस्तो थियो, त्यो फर्काउनु छ । कसैको दलाल र गुलाम भएर बाँच्न सक्दैनौं । वीर गोर्खाली भनेर फेरि चिनाउनु छ,’ उनी भन्छन्, ‘अझै पनि राजसंस्था फर्काउन सकिएन भने देश जोगिने देखिएन । यसको मुख्य निकास वैदिक सनातन धर्म र राजसंस्था नै हो ।’

देशव्यापीरुपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा ¥याली र आमसभा गर्ने अभियानअन्तर्गत बुधबार पोखरामा प्रदर्शन गरिएको हो । यस्तै प्रदर्शन केही समयअघि बुटवलमा पनि भएको थियो । सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाए । बाजागाजासहित ¥यालीका सहभागीले गणतन्त्र चाहिँदैन भन्दै राजाको माग गरे । देशव्यापीरूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्‍याली र सभा भइरहेकोमा पोखरामा पश्चिमाञ्चलवासी नेपाली जनताहरुको नाममा मोटरसाइकल र्‍यालीसहित चिप्लेढुंगामा सभा भएको हो । ‘राजा ल्याऔं, देश बचाऔं,’ ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाइएका थिए । पोखराको अमरसिंहचोकबाट सुरु र्‍याली पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्र बैंकचोक, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगामा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारका गतिविधिको आक्रोशले जनलहर उर्लिएको बताउँछन् । ‘कि संविधानको व्यवस्था अनुसार सरकार चल्नुपर्छ, नभए राजनीतिक नैतिकता आधारमा चल्छ । अर्को आमनागरिकको सरोकारका आधारमा चल्नुपर्छ । यो सरकार तीनवटै कुराबाट चुकेको छ,’ उनले भने, ‘जनताले दिएको मतको सरकारले दुरुपयोग गरिरहेको छ । जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारले वास्ता गरेन । त्यसैको आक्रोश पोखरामा देखियो ।’ यस्ता गतिविधि देखिनु सरकारको नालायकीपनाको रुपमा अथ्र्याएका छन्, केसीले । ‘जनताप्रति सरकार अनुत्तरदायी हुँदा यो अवस्था आयो । सरकार असफल हुँदा अहिलेको सत्तामात्रै फेल हुँदैन, व्यवस्था संकटमा पर्छ, केसीले भने, ‘सरकारले जसरी अराजक सत्ता सञ्चालन गरेको छ । यसले वितृष्णा बढाएको छ । काँग्रेसले जिम्मेवारपूर्ण ढंगले समस्या समाधान गर्नुपर्छ । नत्र हिजो जसलाई अस्वीकार गर्‍यौं, उसैलाई स्थापित गर्ने दिन पनि नआउँला भन्न सकिँदैन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की अध्यक्ष कृष्ण थापा परिवर्तन नस्वीकार्ने समूह र राजनीतिक पार्टीसँग ‘फ्रस्ट्रेसन’ भएकाहरुले र्‍याली निकालेको तर्क गर्छन् । ‘नेपाली जनतामा हिजोदेखि नै सत्ताको विरोधमा लाग्ने मनोविज्ञान छ । यथास्थितिसँग रमाउन चाहने र परिवर्तन स्वीकार्दै नस्वीकार्ने समूह छ,’ उनले भने, ‘त्यसबाहेक पार्टीहरुसँग जनताको जुन अपेक्षा थियो, त्यो पूरा नभएको पनि होला । कोरोना कहरले मान्छेहरुमा फ्रस्ट्रेसन पनि छ । सबै हिसाबले यो कार्यक्रममा बल पुग्यो ।’

र्‍यालीले सरकार र राजनीतिक पार्टीलाई सुधारको लागि सुझाव दिएको उनले बताए । तर व्यवस्थामाथि भएका प्रहारमाथि सरकार र दलले प्रतिवाद गर्नुपर्ने थापाको भनाइ छ । ‘यो गलत छ । सरकार कसैको निगाहबाट आएको होइन । जनताको मतबाट बनेको हो । मन परेन भने आउँदो चुनावमा फालिदिए भयो । त्यतिबेलासम्म कुर्नैपर्छ । कुनै शक्तिले फाल्न सक्दैन,’ उनी भन्छन्, ‘यस्ता गतिविधिले हद नाघ्यो भने पार्टीहरुले प्रतिवाद गर्नुपर्छ । सजायँ दिने अधिकार जनताकै हातमा छ । उनीहरुले दिन्छन् । तर गलत शक्तिलाई खेल्ने ठाउँ दिनुहुँदैन ।’ प्रदर्शनमा शिव सेवा, राष्ट्रिय प्रजातन्त्र पार्टी, कम्युनिष्ट, काँग्रेस र अन्य दलका नेता कार्यकर्ता समेत सहभागी थिए । नेकपाको विवाद र सरकारले नागरिकको स्वास्थ्य सेवाप्रति गरेको वेवास्ताका कारण सत्ताविरोधीहरुको जमात बढेको छ । यो प्रदर्शनलाई धेरैले सत्ताप्रतिको आक्रोश र व्यवस्थामाथिको असन्तुष्टिका रुपमा लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width