हेमजा, १० मंसिर। पोखरेलीको खानेपानीको मुख्यस्रोत मर्दीखोला र सेतीनदी किनारमा विगतमा शव अन्त्येष्टि गरिँदा पानी फोहोर हुने समस्या निम्तियो । खानेपानी फोहोर हुन नदिन २ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको पहलमा सो स्थानमा शवदाहगृह निर्माण पनि भयो । तर, ती गृह छोडेर नदी किनारमै अन्त्येष्टि हुने गरेको पाइएको छ । जसका कारण मर्दीखोला र सेतीनदी किनारमा निर्माण गरिएका शवदाहगृह प्रयोगमा आएका छैनन्।
निर्माणयता गृहमा अन्त्येष्टि गरेको अहिलेसम्म आफूले नदेखेको सेतीमर्दी दोभानमा दशकदेखि मजदुरी गर्दै आएका टेकबहादुर तामाङले बताए ।
‘मानिसले बढी बुझेर वा नबुझेर के हो, शवको सतिगति गृहमा गर्ने गरेका छैनन् । यसको कडाईका साथ अनुगमन हुनु आवश्यक छ,’ तामाङले भने । साथै मलामीले घाटमा थप फोहोर गर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
सेती र मर्दीखोलाका विभिन्न घाटमा त्यस क्षेत्रका धिताल, पुरन्चौर, लाहाचोक, घाचोक, रिभान, लवाङ्घलेल, धम्पुस, ढिकुरपोखरी, कास्कीकोट र हेमजावासीले शव अन्त्येष्टि गर्दछन् ।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाका विभिन्न भेगमा चल्ने केही सवारी सम्बन्धित ठाउँमा पुल नहुँदा मर्दीखोलाबाटै गुडाउनुपर्ने बाध्यता छ । जसबाट पोखरेलीको खानेपानीको मुहान थप फोहोर हुने गरेको गुनासो बढ्न थालेको छ।
खानेपानी मुहान करिब ३ किमी माथि सार्नुपर्ने माग समेत गरिएको छ ।