मर्दी हिमाल पुग्न नयाँ पदमार्ग

श्रीभद्र पौडेल
मंसिर ७, २०७७
photo padmarga

हेमजा । मर्दी हिमाल पुग्न कास्कीमा नयाँ पदमार्गको निर्माण सुरु भएको छ । हेमजाको मेलबोटबाट सुरु भई सुनझाँक्री, झिर्झिका, अस्ताम, धम्पुस हुँदै मर्दी हिमाल पुग्ने नयाँ पदमार्गको निर्माण सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको १० लाख तथा जनसहभागिता १ लाख गरी कुल ११ लाख रुपैयाँ लागतमा उक्त मार्ग निर्माण सुरु गरिएको समिति अध्यक्ष विश्वराज अधिकारीले जानकारी दिए ।

निर्माणअन्तर्गत यसपटक मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कुल २ सय ३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण हँुदैछ । जसका लागि मेलबोट र अस्ताम दुवै खण्डबाट कार्य थालिएको छ। दैनिक २० मजदुरले कार्य गरिरहेका छन्।

सम्झौतामा कुल २ सय ३० मिटरको झाँडीमात्रै फाँड्ने भने पनि आफूहरुले जनसहभागिता जुटाएर मेलबोटदेखि अस्तामसम्म करिब ५ किलोमिटर बाटोको झाँडी फाड्ने समिति सचिव कृष्णबहादुर कुँवरले बताए । मंसिर २ देखि सुरु उक्त कार्य ढिलोमा पुस मसान्तसम्म सक्ने समितिको योजना छ ।

उक्त मार्गको मेलबोट अस्ताम खण्डमा लालीगुराँसको जंगल, सिलीपिङ बुद्घ भ्यू पोइन्ट, रुद्रमहादेव, पञ्चेबाँजा पार्क, सुनझाँक्रीको थान, देउराली माईको मन्दिर लगायत जंगली जनवार, पुराना तोरी पोल्ने कोलहरु र विभिन्न प्रजातिका वनस्पतिको पनि अवलोकन गर्न सकिने छ।

त्यस्तै, समितिले मार्गको बीचबीचमा विश्राम र योगस्थल साथै छुट्टै रुपमा साइकल ट्रयाक निर्माणको लक्ष्य पनि राखेको छ । मार्ग निर्माणमा स्थानीय ४ सामुदायिक वन तीब्रेकोट, धुवाउने, झिर्झिका धुवाउने र गर्भेकुनाको क्षेत्र प्रयोग हुँदैछ।

पदमार्ग निर्माणसँगै पर्यापर्यटनमा थप सहयोग पुग्ने तीब्रेकोट सामुदायिक वन समूहका अध्यक्ष विशालजंग कुँवरले विश्वास व्यक्त गरे । जसबाट कास्कीको पर्यटनमा थप टेवा पुग्ने आशा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width