शववाहन किन्न साढे १२ लाख संकलन

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७

लेखनाथ  । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शववाहन खरिद अभियानमा हालसम्म १२ लाख ५० हजार सहयोग संकलन भएको छ ।

सो अभियानअन्तर्गत पोखरा–३२, खोलाको छेउमा आयोजित कार्यक्रममा १ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । स्थानीय समाजसेवी हरिप्रसाद पँगेनीले २५ हजार र संस्थाका आर्थिक उपसमितिका सदस्य धीरजकुमार श्रेष्ठले ५१ हजार सहयोग गरे ।

यस्तै, अन्य व्यवसायी एवं सर्वसाधारण तथा स्थानीय संघसंस्थाबाट कुल १ लाख ३६ हजार रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।

जिल्लाभित्र शववाहन अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले सो खरिदका लागि आर्थिक संकलन अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

अभियानमार्फत १ करोड रुपैयाँ संकलन गर्ने संस्थाको लक्ष्य छ । सो रकममध्ये ४० लाख शववाहन खरिदमा र बाँकी ६० लाख सो सञ्चालनका लागि कोष स्थापना गरिने योजना रहेको संस्थाका सचिव रामराज अधिकारीले बताए ।